१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
विश्वकप २०२२

मोरक्कोको सनसनी, बेल्जियम बाहिरियो

राजु घिसिङ

दोहा — युरोपेली लिगका स्टार खेलाडीले भरिएको बेल्जियमलाई विश्वकप २०२२ मा उपाधिको दाबेदार मानिएको थियो । तर, फिफा वरीयताको दोस्रो स्थानको टिम बेल्जियम बिहीबार क्रोएसियासँग गोलरहित खेलेपछि कतार संस्करणमा समूह चरणबाटै बाहिरिएको छ ।

मोरक्कोको सनसनी, बेल्जियम बाहिरियो

प्रशिक्षक रोबर्टो मार्टिनेजले ८ वर्षयता सम्हालेको बेल्जियम यो विश्वकपमा अनपेक्षित रूपमा सबैभन्दा चाँडै घर फर्किने पहिलो ठूलो टिम पनि बन्यो । पहिलो चरणबाट बाहिरिएसँगै मार्टिनेजले आफ्नो पदबाट राजिनामा दिएको छ ।

फितलो प्रदर्शन गरे पनि क्यानडाविरुद्ध १–० को जित हात पारेको बेल्जियम दोस्रो खेलमा अफ्रिकी टिम मोरक्कोसँग २–० को हार बेहोरेपछि संकटमा परेको थियो ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा तेस्रो भएको बेल्जयमलाई यसपालि नकआउटमा स्थान बनाउन क्रोएसियाविरुद्ध जित्नैपर्ने बाध्यता थियो । तर, केभिन डी ब्रुयन नेतृत्वको टिमले लुका मोड्रिचको क्रोएसियाविरुद्ध राम्रो खेल प्रदर्शन गर्न सकेन । त्यसैले पहिलोपल्ट विश्वकप जित्ने लक्ष्यसहित कतार आइपुगेको बेल्जियमको चुनौती समूह चरणमै समाप्त भएको छ । पछिल्लो दशक बलियो टिम बन्दै उत्कृष्ट प्रदर्शन गरेको बेल्जियमको स्वर्णिम पुस्ताको युग उपाधिविहीन रूपमै अन्त्य भएको छ । बेल्जियन खेलाडीहरू समूह चरणबाटै बाहिरिएको जानकारीपछि मैदानमै ढलेका थिए । बेल्जियम पछिल्लो आठ संस्करणमा दोस्रोपल्ट समूह चरणबाटै बाहिरिएको हो ।

रुसी संस्करणको फाइनलमा फ्रान्ससँग ४–२ ले हारेको क्रोएसिया एक जित र दुई बराबरी खेल्दै समूह ‘एफ’मा उपविजेता भएको हो । मोड्रिचको टिमले पनि कतारमा उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । त्यसैले मोरक्को २–१ ले क्यानडालाई हराएर समूह विजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गर्‍यो । हकिम जिएचले चौथो मिनेटमै मोरक्कोलाई अग्रता दिलाएका थिए । युसेफ इन नासेरीले २३ औं मिनेटमा मोरक्कोको अग्रता दोब्बर बनाए । नाएफ अगुएर्डले ४० औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि मोरक्कोको अग्रता २–१ मा झर्यो । तर, त्यसलाई कायम राख्दै मोरक्को सनसनीपूर्ण ढंगले समूह विजेता नै बन्यो । सन् १९८६ पछि मोरक्को पहिलोपल्ट विश्वकपको अन्तिम १६ मा पुगेको हो । चार वर्षपछिको सहअयोजक क्यानडाले भने समूहका तीनै खेल हारेको हो ।

अहमद बिन अली रंगशालामा भएको खेलको दोस्रो हाफ निकै आक्रामक रह्यो । ठीक उही समयमा भएको खेलमा मोरक्कोले क्यानडाविरुद्ध अल थुमामा रंगशालामा पहिलो हाफमा २–१ को अग्रता लिएपछि क्रोएसिया र बेल्जियम नकआउट प्रवेशका लागि जित्नैपर्ने दबाबमा परेको थियो । क्रोएसियाका फरवार्ड इभान पेरिसिचले प्रहार गरेको बलमा बेल्जियन गोलकिपर थिबाउट कोर्टियसले उत्कृष्ट बचाउ गरेका थिए ।

सब्स्टिच्युटको रूपमा मैदानमा प्रवेश गरेका रोमेलु लुकाकुले प्रहार गरेको बल पोलमा लागेर फर्कियो । उनको फ्री हेडरमा बल पोस्टमाथिबाट बाहिरियो । त्यसपछि पनि उनले सिक्स यार्ड बक्समा दुईपल्ट पाएका थिए । पहिलो प्रहार पोस्टबाहिर गयो । अर्कोपल्ट छातीले रोकेर पनि बल प्रहार गर्न सकेनन् र गोलकिपर डोमिनिक लिभाकोभिचले बल नियन्त्रणमा लिए ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?