१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
विश्वकप २०२२

अर्जेन्टिना लयमा फर्कियो

दोहा — पहिलो खेलमै साउदी अरेबियासँग अविश्वसनीय हार बेहोरेपछि संकटमा परेको अर्जेन्टिना दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएर कतार विश्वकपमा आफ्नो सम्भावना कायमै राखेको थियो ।

अर्जेन्टिना लयमा फर्कियो

अर्जेन्टिनाले उष्त्कृष्ट प्रदर्शन गर्दै रंगशाला ९७४ मा बुधबार पोल्यान्डलाई पनि २–० ले पराजित गर्दै ६ अंक बनाएर समूह ‘सी’ विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको छ । हारेर पनि पोल्यान्ड नकआउट पुग्ने भाग्यमानी बन्यो । उसले लुसेल रंगशालामा साउदी अरेबियालाई २–१ ले परािजत गरेर अंक बराबरी गरेको मेक्सिकोलाई राम्रो गोल अन्तरका आधारमा उछिनेर समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ को टिकट काटेको हो ।

फेरि ३६ वर्षपछि विश्व विजेता बन्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले पेनाल्टीमार्फत पहिलो हाफमै अग्रता लिने अवसर पाएको थियो । तर, कप्तान लियोनल मेसीले प्रहार गरेको पेनाल्टीमा पोल्यान्डका गोलकिपर वज्सिक स्कुजनीले रोक्दै ३९ औं मिनेटमा संकट टारेका थिए । स्कुजनीसँग मेसी जुधेपछि भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा उक्त पेनाल्टी दिइएको थियो । तर, स्कुजनीले कतार संस्करणमा फेरि एकपल्ट पेनाल्टी रोकिदिए ।

मेसी केन्द्रित भए पनि संगठित रूपमा एक ढिक्का भएर अजेन्टिनाले आक्रामक प्रदर्शन गरिरह्यो । फलस्वरुप एलेक्सिस म्याक एलिस्टरले नाहुल मोलिनाको क्रसमा गोल गर्दै दोस्रो हाफको पहिलो मिनेटमै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । त्यसपछि जुलियन अल्भारेजले ६७ औं मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अन्तिम १६ को यात्रा निश्चित गरिदिए ।

बायर्न म्युनिकबाट बार्सिलोना पुगेका पोल्यान्डका गोल मेसिन रोबर्ट लेवान्डोस्कीले केही गर्न सकेनन् । पोल्यान्डले अर्जेन्टिनी गोलकिपर एमी मार्टिनेजलाई कुनै पनि बेला दबाबमा राख्न सकेनन् । पोलिस टिम निरीह नै रह्यो । ठीक उही बेला भएको अर्को खेलमा हेनरी मार्टिनले ४७ र लुइस चाभेजले ५२ औं मिनेटमा गोल गर्दै मेक्सिकोलाई नकआउट चरण नजिक पुर्‍याएका थिए ।

त्यसपछि गोल थप्ने प्रयासमा मेक्सिको शृंखलाबद्ध आक्रामण पनि गर्‍यो । समय घर्किदै जाँदा हतारिन थाल्यो ।

मेक्सिकोलाई लगातार सातौंपल्ट नकआउटमा पुग्न तीन गोल अन्तर जित चाहिएको थियो । तर, साउदीका सलेम अल दावसारीले इन्ज्युरी समयको अन्तिममा गोल गरेपछि मेक्सिकोको जित २–१ म साँघुरियो । त्यसैले मेक्सिकोसँग अंक बराबरी भए पनि राम्रो गोल अन्तर आधारमा पोल्याड समूहमा उपविजेता हुदै अन्तिम १६ मा प्रवेश गर्यो । अर्जेन्टिनाविरुद्ध हारेर पनि त्यसको खुसीयाली मनाउने अवसर लेवान्डोस्कीको टिमले पायो ।

पोल्यान्डले अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध खेल्नेछ । समूह ‘डी’ को विजेता फ्रान्सलाई चुनौती दिन पनि पोलिस टिममा ठूलो सुधारको खाँचो देखिएको छ । दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनाले क्वाटरफाइनल प्रवेशका लागि समूह ‘डी’ को उपविजेता अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : मंसिर १६, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?