१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
विश्वकप २०२२

अर्को अप्रत्यासित नतिजा खोज्दै जापान

एएफपी

दोहा — जापानले विश्वकप २०२२ मा बिहीबार स्पेनको सामना गर्दा एक अर्को अप्रत्यासित नतिजाको खोजीमा हुनेछ । जापानले समूह ‘ई’ मा जर्मनीलाई हराएको थियो । अब जापानले ‘कम्प्युटर गेम’ शैलीले खेल्ने स्पेनलाई हराउने हो भने अन्तिम १६ मा प्रवेश पाउने छ । तर जापानका लागि यो सजिलो खेल भने रहने छैन, किनभने जर्मनीलाई हराएको खुसी साट्न नपाउँदै आफैं कोस्टारिकाको हातबाट १–० को स्तब्धपूर्ण नतिजा बेहोर्न बाध्य भएको थियो ।

अर्को अप्रत्यासित नतिजा खोज्दै जापान

प्रशिक्षक हाजिमे मोरियासुलाई राम्रोसँग थाहा छ, स्पेनले बुन्ने आक्रामण कति धेरै डरलाग्दो हुनसक्छ भनेर । उनी आफ्ना खेलाडी यही स्पेनविरुद्ध आश्चर्यजनक जित निकाल्न सक्षम हुने मान्छन् । उनले बुधबार पत्रकार सम्मेलनमा भने, ‘बिहीबारको खेल हाम्रा खेलाडीका लागि पक्कै पनि दबाबमूलक हुनेछ । तर उनीहरू आफैंले आफूमाथि विश्वास कायम राख्न सक्नुपर्छ अनि आफ्ना साथीमाथि पनि उत्तिकै विश्वास कायम राख्न सक्नुपर्छ ।’

उनी थप्छन्, ‘यो निकै महत्त्वपूर्ण खेल हुनेछ । यस्तो खेलको अवसर बिरलै मात्र प्राप्त हुन्छ । यदि हाम्रा खेलाडीले आफूले सक्दो शतप्रतिशत प्रदर्शन गर्ने हो भने नतिजा त्यसै पनि आफ्नै पक्षमा हुनेछ ।’

मोरियासु भने स्पेनलाई प्राविधिक रूपमा त्यस्तो निकै बलियो टिम मान्छन्, उसमा कलामात्र होइन समयअनुसार परिवर्तन हुने क्षमता छ । जापानी गोलरक्षक सुइची गोन्डा पनि स्पेनी प्रदर्शन निकै अब्बल दर्जाको हुने मान्छन् । उनीहरू ठीक समयमा ठीक प्रदर्शन गर्न माहिर रहेको बताउँछन् उनी ।

अझ उनी आफ्ना खेलाडीलाई चेतावनी दिन्छन्, स्पेनको सामना गर्दा जापानी खेलाडीले निकै कडा मिहिनेत गर्नुपर्नेछ । उनी भन्छन्, ‘स्पेनले खेल्ने फुटबल शैलीलाई कम्प्युटर गेम पनि भनिन्छ । किनभने उनीहरू लामो समय एकैनासे खेल खेल्ने गर्छन् । उनीहरू आफ्नो खेल्ने शैली र योजनामा कायम रहन्छन् र त्यहीअनुसार मात्र आक्रमण बुन्ने गर्छन् । मलाई के लाग्छ भने प्रतिद्वन्द्वी टिम हेरेर स्पेनले आफ्नो यो विशिष्ट खेल्ने शैली फेर्ने छैन ।’

दुवै टिममा त्यस्ता खेलाडीको बाहुल्यता रहने छ, जसको सामना कोरोना भाइरस संक्रमणको महामारीबीच भएको टोकियो ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा भिडेका थिए । त्यस खेलमा स्पेन अतिरिक्त समयमा १–० ले विजयी भएको थियो । प्रशिक्षक मोरिसायु कतारमा त्यही हारको बदला लिन आफ्ना खेलाडीलाई उक्साइरहेका छन् । उनी भन्छन्, ‘हाम्रा लागि त्यो हार निकै निराशाजनक थियो, खेलाडी र प्रशिक्षक दुवैलाई ।’ प्रशिक्षक भन्छन्, ‘त्यस खेलयता हाम्रा खेलाडीमा परिपक्वता देखिएको छ । मलाई विश्वास छ, हामी आफूअनुकूल जित निकाल्न सक्षम हुनेछौं । हामी त्यसमा खुसीयाली मनाउन सक्छौं ।’

चोटका कारण जापानले प्रभावशाली मध्यपंक्ति खेलाडी वातारु एन्डो खेल्ने छैनन् । कोस्टारिकाविरुद्धको खेल गुमाएका हिरोकी सकाइ भने स्पेनको सामना गर्न तयार हुन सक्छन् । स्पेनलाई साँच्चै हराउन सके त्यो जापानी फुटबल इतिहासकै सबैभन्दा ठूलो नतिजा हुनेछ ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?