अर्जेन्टिनालाई ब्युँझाउँदै मेसी- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्जेन्टिनालाई ब्युँझाउँदै मेसी

एपी

दोहा — लियोनल मेसीले विश्वकपमा एकपल्ट त अर्जेन्टिनाको उद्दार गरिसकेका छन् । उनले आफ्नो देशका लागि फेरि एकपल्ट यही काम गर्नुपर्नेछ । फुटबल भनेपछि मेरिमेट्ने अर्जेन्टिनामा मेसीलाई भगवान्सरह मान्ने गरिन्छ । तिनै मेसीको अर्जेन्टिनाले बुधबार पोल्यान्डको सामना गर्नेछ ।

यो मेसीका लागि एक अर्को भावनात्मक खेल रहनेछ । उनी सम्भवतः आफ्नो खेलजीवनको अन्तिम विश्वकप खेलिरहेका छन् ।

सायद पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की पनि अन्तिमपल्ट नै विश्वकप खेलिरहेका हुनेछन् । उनका लागि सन् २०२६ को विश्वकपमा फर्कन गाह्रै हुनेछ । तर एउटा तथ्य निश्चित छ, विश्व फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक रहेका मेसी प्रतियोगिताको अन्त्यसम्म कायम रहोस् भन्ने इच्छा त सबैको हुँदो हो । समूह ‘सी’ मा अझै पनि धेरैथोकको निर्णय हुन बाँकी छ । यदि अर्जेन्टिना पोल्यान्डविरुद्ध विजयी रह्यो भने सजिलै अर्को चरणको यात्रा तय गर्नेछ ।

त्यो पनि समूह विजेताका हैसियतमा । बराबरीको नतिजाले पनि अर्जेन्टिनालाई दोस्रो स्थानमा राखेर अर्को चरण पुर्‍याउन सक्छ । डर के रहनेछ भने त्यो स्थितिमा अर्जेन्टिनालाई साउदी अरेबिया र मेक्सिकोले उछिन्न सक्नेछ । जतिबेला अर्जेन्टिना र पोल्यान्ड भिडिरहेका हुनेछन्, ठीक त्यही समय साउदी अरेबिया र मेक्सिकोको पनि खेल हुनेछ । अनि अर्जेन्टिनाको हार ? यो त उसका समर्थकले पटक्कै सोच्न सक्दैनन् । त्यस्तो भए अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने मात्र छैन ।

त्यो त अर्जेन्टिना र मेसीको लज्जास्पद प्रदर्शन नै हुनेछ । त्यतिमात्र कहाँ हो र ? सम्भवतः मेसीले फेरि दोहोर्‍याएर अर्जेन्टिनाको प्रसिद्ध आकासे र सेतो धर्के जर्सीमा दोहोर्‍याएर खेल्ने छैनन् । यो त अर्जेन्टिनी समर्थकका लागि त असह्य परिस्थिति नै हो । त्यसैले जतिबेला अर्जेन्टिनाले मेक्सिकोलाई शनिबार २–० ले पराजित गरेको थियो, त्यतिबेला अर्जेन्टिनाको टेक्निकल सहयोगी र उसका समर्थकले आँसुसमेत रोक्न सकेनन्, त्यति धेरै भावुक भएका थिए ।

त्यस जितको अर्थ आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग स्तब्धपूर्ण बेहोरेको २–१ को हारपछिको पुनरागमन जित थियो । तर टिममाथि सन् २००२ यता पहिलोपल्ट समूह चरणबाटै बाहिरिने डरबाट गुज्रिरहने छ । मेसीले भनिसकेका छन्, ‘हाम्रा लागि त अर्को विश्वकप सुरु भएको छ ।’ सन् २०२२ मै मेसीले आफ्नो देशका लागि १३ गोल गरिसकेका छन् । यो एक वर्षमा उनको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन पनि हो ।

विश्वकप सुरु हुनु अगाडि मेसीको स्वास्थ्य स्थितिबारे पनि धेरै चिन्ता थियो । सातपल्टको विश्व वर्ष खेलाडीले दुई दिन त एक्लै अभ्यास गरे । तर उनले सुरुआती दुवै खेलमा पूरा ९० मिनेट खेलेका छन् । मेक्सिकोविरुद्धको खेलपछि उनी केही चोटग्रस्त देखिएका थिए । तर, उनले नै त्यसबारे केही चिन्ता गर्न आवश्यक नरहेको बताइसकेका छन् । पोल्यान्डका लागि ३४ वर्षीय लेवान्डोस्कीले साउदी अरेबियाविरुद्ध गोल गरेपछि केही राहत महसुस गरेका छन् ।

उनी अब आफ्नो टिमलाई नकआउट चरण पुर्‍याउन चाहन्छन्, जहाँ सन् १९८६ यता पुग्न सकेको छैन । अर्जेन्टिनी समर्थकलाई लेवान्डोस्कीप्रति डर रहनेछ, आखिरमा उनी उत्तिकै उम्दा खेलाडी हुन् । तर उनीभन्दा ठूला स्टार भने मेसी नै हुन् । उनी आफ्नो खेलजीवनको अन्त्य पुगेर पनि उत्तिकै राम्रो खेलिरहेका छन् । उनी एक्लैले खेलको रूप नै मोड्न सक्छन् । प्रश्न हो, के एकपल्ट फेरि उनले अर्जेन्टिनाका लागि यस्तै गर्न सक्नेछन् त ?

एन्टोनी ग्रिजमन (फ्रान्स)

ओलिभर जिरुडको कीर्तिमानी गोल, केलियन एमबाप्पेको सर्वाधिक गोल । यी दुईबाहेक अग्रपंक्तिमा फ्रान्सेली टोलीका अर्का प्रभावशाली खेलाडी हुन् ग्रिजमन । उनको लामो पासमा एमबाप्पेले डेनमार्कविरुद्ध नजिकको दुरीबाट गोल गर्दै फ्रान्सलाई जित दिलाएर अन्तिम १६ मा डोर्‍याएका थिए । जिरुडले अस्ट्रेलियासँगको पहिलो खेलबाट थिएरी हेनरीले फ्रान्सका लागि गरेको सर्वाधिक ५१ गोलको कीर्तिमान बराबरी गरेका थिए । ३१ वर्षे ग्रिजमनले फ्रान्सबाट १ सय १२ खेलमा ४२ गोल गरिसकेका छन् । चार वर्षअघि फ्रान्सलाई विश्व विजेता बनाउन प्रमुख खेल्नेमध्येका उनी दुई स्ट्राइकरको पछाडि रहेर खेल्ने गर्छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले उपेक्षा गरेको क्षेत्रमा प्रदीपको जित

सभापति देउवाले नै काठमाडौं–५ ‘जितिँदैन होला’ भनेर टिकट दिए पनि विजयको प्रमाणपत्र ल्याएर प्रदीप पौडेलले एउटा परीक्षा पास गरेका छन्, अब पार्टीभित्रको शक्ति संघर्ष उनका लागि अर्को परीक्षा हो । उनी गगन, विश्वप्रकाशसँग सहकार्य गर्छन् कि सिटौलासँगै रहन्छन् ? 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — सत्ता गठबन्धनले टिकट बाँडफाँट गर्दा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसको भागमा ६ क्षेत्र परेका थिए । काठमाडौं– ५ बाट ०७४ मा प्रतिस्पर्धा गरेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चाहेको भए टिकट लिन सक्थे तर जोखिम लिन चाहेनन् किनकि कांग्रेसकै आकलनमा पनि यो क्षेत्र जित्ने सूचीमा थिएन । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र महत आफैंले रोजेर कांग्रेसको समानुपातिकतर्फ खस आर्यको पहिलो नम्बरमा सुरक्षित बसे । 

महतले मैदान खाली गरेपछि अर्थशास्त्री स्वर्णिम वाग्ले र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर उक्त क्षेत्रमा चुनाव लड्न तम्सेका थिए तर वाग्लेप्रति बालुवाटार सकारात्मक भएन । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले महरलाई टिकट दिन चाहेका थिए । तर, रामचन्द्र पौडेल र सिटौलाको पहलमा युवा नेता प्रदीप पौडेलले टिकट पाए, अन्तिम संघारमा । यसमा प्रदीपको भन्दा पनि रामचन्द्र र कृष्ण सिटौलाको चासो धेरै थियो ।

प्रदीप आफैंले गृह जिल्ला तनहुँको क्षेत्र नं. २ बाट टिकट चाहेका थिए । ०७४ मा उनी त्यही क्षेत्रको प्रदेशसभा–१ मा प्रतिस्पर्धी पनि थिए । यस पटक गृह जिल्लाबाटै प्रतिनिधिसभामा लड्न लामो समयदेखि तयारी गरेका उनी नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त थिए । तर, तनहुँ–१ मा टिकट लिइसकेका रामचन्द्र पौडेलले अर्को क्षेत्रबाट चुनाव लड्दै आएका शंकर भण्डारीलाई टिकट नदिँदा दोष आफूमाथि पर्ने ठाने, भण्डारीले असहयोग गरेमा यसपालि पनि निर्वाचन हार्न सकिनेमा उनी सतर्क थिए ।

त्यस्तै अर्को जोखिम प्रदीपले टिकट नपाए पनि हुने आकलन थियो । भण्डारी र पौडेल दुवैको साथ लिन रामचन्द्र आफैं अघि सरे । उता, आफ्नो समूहमा रहेर साथ दिँदै आएका प्रदीपलाई टिकट दिलाउनै पर्ने अवस्थामा थिए नेता सिटौला । पौडेल र सिटौलाले जोड मिलाएर देउवालाई गलाए र प्रदीपलाई काठमाडौं– ५ बाट उम्मेदवार बनाएका हुन् । मनोनयनको दिन कात्तिक २२ गते मध्याह्न मात्र टिकटको टुंगो लाग्यो । सभापति देउवाले टिकट थमाउँदै प्रदीपलाई भनेका थिए, ‘भाइले टिकट त लिनुभयो तर जितेर आउन धेरै गाह्रो छ ।’

०७४ मा महतको पराजय, ०७९ वैशाखको स्थानीय निर्वाचनमा एमालेले कायम गरेको पकड र एमाले अध्यक्ष केपी ओलीपछि दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल प्रतिस्पर्धी रहेकाले देउवालगायत धेरै नेतालाई काठमाडौं– ५ सहज लागेको थिएन । तर, रामचन्द्रको जित सुनिश्चित गर्न र सिटौलाको अस्तित्व स्विकारिदिन प्रदीपलाई तनहुँको सट्टा काठमाडौंको ‘भुङ्ग्रो’ मा पुर्‍याइएको गुनासो उनकै समर्थक र शुभचिन्तकले गरिरहेका थिए ।

त्यसमाथि उनलाई ‘बाहिरिया’ भन्ने प्रचार एकातिर चर्कियो भने स्वतन्त्र पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको बलियो उपस्थितिले पनि प्रदीपको यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर, पौडेलले करिब ५ हजारको अन्तरमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गरे । पौडेलले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १ सय ७५ मात्रै पाए । समानुपातिकतर्फको मतमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रोमा छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदेवार प्रणयशमशेर राणाले पनि ५ हजार ४ सय ७३ मत ल्याएका छन् । यो सबै चुनौतीबीच प्रदीपले परिणाम आफ्नो पक्षमा रूपान्तरित गरे ।

उता, पार्टीको आन्तरिक सर्वेक्षणमा जित्ने सूचीमा रहेका पाँच क्षेत्रमध्ये काठमाडौं–६ मा भीमसेनदास प्रधान तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार २ सय ४ मत ल्याउँदा प्रधानले ८ हजार ८ सय ५ मत मात्रै पाए । दोस्रो स्थानमा आएका एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याए ।

प्रदीपले स्थानीय मुद्दासँगै राष्ट्रिय राजनीति शुद्धीकरणको मुद्दालाई प्रमुख बनाएर घरदैलो गरे । ‘यस क्षेत्रमा आँट गर्न गाह्रो थियो किनकि समग्र राष्ट्रिय राजनीतिमै बेथिति बढ्यो भनेर राजधानीका मतदातामा आक्रोश थियो तर राजनीति सफा गर्ने अभियानको थालनी राजधानीबाटै हुनुपर्छ भनेर मैले मूल नारा बनाएँ, त्यसले आममतदातालाई छोयो,’ पौडेल भन्छन्, ‘धेरै पटक पदमा पुगेका, उपप्रधानमन्त्री र पटक–पटक मन्त्री भइसकेका, निर्वाचनमा आवश्यक पर्ने सबै चीजबाट सम्पन्न उच्च तहको नेतासँग प्रतिस्पर्धा गर्न सहज पक्कै थिएन तर निर्वाचनमा सबैभन्दा ठूलो मुद्दा हो, त्यो यसपालि पुष्टि भएको छ ।’

गृह जिल्ला तनहुँ भए पनि विद्यार्थी राजनीतिदेखि नै उनको कर्मथलो भने राजधानी नै हो । सिद्धार्थ वनस्थलीमा पढ्दैदेखि उनी राजनीतिमा होमिएका थिए । अखिलको गढ भनिने अमृत साइन्स क्याम्पसमा टिमका सबै साथीहरू पराजित हुँदा पनि स्ववियु सभापतिमा पौडेल निर्वाचित भएका थिए । यही बाटो उनी नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत बने ।

सिद्धार्थ वनस्थलीमा प्रदीपलाई पढाएका शिक्षक टेकप्रसाद घिमिरेका विचारमा वैचारिक प्रस्टता, शालीन र सबैसँग घुलमिल गर्न सक्ने चरित्रका कारण पौडेलले मतदाताको मन जित्न सकेका हुन् । ‘गगन, विश्वप्रकाश र प्रदीपप्रति मुलुकले नै ठूलो आशा राखेको छ, नेतृत्वमा हस्तक्षेप गर्छन् भन्ने विश्वासले मतदाताले तीनै जनालाई जिताएका छन्,’ घिमिरे भन्छन्, ‘गगन, विश्व र प्रदीप सँगै हुन्छन् । यी तीन नेताको सामूहिक प्रयत्नले केही परिवर्तन हुन्छ भन्ने विश्वास जागेको छ ।’

एमालेभित्रको विवादले पनि पौडेललाई सहज भएको बुझाइ कांग्रेसको चुनाव प्रचार समितिका संयोजक रामचन्द्र घिमिरेको छ । ‘प्रदीपको उपस्थितिले पार्टीभित्रको अन्तरसंघर्ष पनि मत्थर भयो, पार्टीभित्र परिवर्तनको पक्षमा र बेथितिको विरोधमा उभिने पृष्ठभूमि बनाएकाले पनि उनलाई रोजे,’ घिमिरे भन्छन्, ‘नरहरि दाइ (आचार्य) को प्रयत्न र उहाँसँग जोडिएको मनोविज्ञानले पनि राम्रो माहोल खडा गर्‍यो तर एमालेभित्र भने शक्ति संघर्ष थियो ।’ ०६४ र ०७० को संविधानसभाका दुई निर्वाचनमा यो क्षेत्रबाट आचार्यले जितेका थिए ।

१४ औं महाधिवेशनमा पार्टी सभापति देउवाकै प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल पार्टीभित्रको शक्ति संघर्षमा आफूलाई कहाँ उभ्याउँछन् भन्नेमा सबैको चासो छ । संसदीय दलको नेतामा पुराना नेता देउवालाई आराम गर्न दिएर नेतृत्व लिन महामन्त्री गगन थापा अघि सरेका छन् । त्यसका लागि अर्का महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती दिनदेखि नै आडभरोसा दिएका छन् ।

अब धेरैको नजर प्रदीपतिर सोझिएको छ । उनी पुरानै नेता सिटौला कित्तामा रहलान् वा गगन–विश्वप्रकाशसँगै जोडिएलान् ? यो विषयमा उनी धेरै बोल्न चाहँदैनन् । यति मात्र भन्छन्, ‘समयले एक मौका दिन्छ, त्यो मौका मैले पाएको छु,’ पौडेल भन्छन्, ‘यो मौकालाई म परिवर्तनकै पक्षमा लैजान चाहन्छु । राष्ट्रिय राजनीतिमा देखा परेका विकृतिविरुद्धको लडाइँमा उभिन्छु ।’

प्रकाशित : मंसिर १४, २०७९ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×