कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

रोमाञ्चक प्रतिस्पर्धा र अनपेक्षित नतिजा

विश्वकपको ९२ वर्षको इतिहासमा कतार पहिलो खेल हार्ने र समूह चरणबाटै बाहिरिने आयोजक बन्यो
राजु घिसिङ

दोहा — सहआयोजक छँदा २० वर्षअघि दक्षिण कोरियाले इटाली र स्पेनलाई हराएर सनसनीपूर्ण रूपमा सेमिफाइनल पुगेको थियो । विश्वकपमा एसियाली टिमको सबैभन्दा ठूलो उपलब्धि त्यही हो । एसियाली हेर्ने विश्व फुटबलको नजर अहिले पनि सबैभन्दा कमजोर भनेर नै हो ।

रोमाञ्चक प्रतिस्पर्धा र अनपेक्षित नतिजा

एसियामा दोस्रोपल्ट आयोजित विश्वकप २०२२ मा साउदी अरेबियाले सुपरस्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई २–१ ले हराएर सनसनी फैलायो । मेसीको पेनाल्टीमा पछाडि परेको साउदीलाई अल सेहरी र अल दावसारीले दोस्रो हाफमा उत्कृष्ट गोल गर्दै साउदीलाई ऐतिहासिक जित दिलाएका थिए । त्यो कति महत्त्वपूर्ण थियो भने राजकुमार मोहम्मद बिन सलमान अल साउदले टिमका प्रत्येक खेलाडीलाई रोल्स–रोयस फ्यान्टम कार पुरस्कार दिने घोषणा गरे, जसको मूल्य ५ लाख अमेरिकी डलर पर्छ । अर्जेन्टिनाको अपराजित यात्रा ३६ खेलमा समाप्त पारेको खुसीयालीमा साउदीमा एक दिन सार्वजनिक बिदा पनि दिइयो ।

साउदीले लुसेल रंगशालामा दुईपल्टको विश्वविजेता तथा यसपालिको उपाधि दाबेदार दक्षिण अमेरिकी टिमलाई स्तब्ध पारेको भोलिपल्ट खलिफा अन्तर्राष्ट्रिय अर्को एसियाली टिम जापानले उस्तै खालको नतिजा दियो । उसले चारपल्टको विश्वकप विजेता जर्मनीलाई एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै जित २–१ को ऐतिहासिक जित रच्यो । जर्मनीविरुद्ध जित दिलाएका गोलकर्ता रित्सु डोआन र ताकुमा आसानो सब्स्टिच्युटको रूपमा मैदानमा प्रवेश गरेका थिए । यी दुवै खेलाडी जर्मनीको बुन्डेसलिगा क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

यसअघि साउदीले अर्जेन्टिना र जापानले जर्मनीलाई कहिल्यै पराजित गरेको थिएन । कतारमा पनि यस्तो अनपेक्षित नतिजा आस गरिएको थिएन । व्यक्तिगत कौशल, कमाइ र क्लबमा गरिएको प्रदर्शन दाँज्ने हो भने एसियाली खेलाडीको तुलना दक्षिण अमेरिकी र युरोपेलीको हाराहारीमा पुग्दैन र पुग्ने अवस्था पनि देखिँदैन । ठूला टिमविरुद्ध पाएका थोरै अवसर पनि उपयोग गर्ने खालको एकरुपको खेल प्रदर्शन गर्न गाह्रो हुन्छ । यस्तै कारण हुनसक्छ, साउदी र जापानले उत्कृष्ट सुरुआत कायम राख्न सकेनन् । दोस्रो खेलमा साउदीलाई रोबर्ट लेवान्डोस्कीको पोल्यान्डले २–० र कोस्टारिकाले जापानलाई १–० ले पराजित गरे । कोस्टारिका त्यही टिम हो, जसमाथि सन् २०१० को च्याम्पियन स्पेनले पहिलो खेलमा सबैभन्दा धेरै गोलको इतिहास रच्दै ७–० ले हराएको थियो । त्यसैले पनि कोस्टारिकाले जापानविरुद्ध अंक जोड्नेमा आशंका गरिएको थियो तर अहमद बिन अली रंगशालामा ५७ प्रतिशत बल पोजेसन राखेर पनि जापानी खेलाडी फिनिसिङमा चुकेका थिए ।

अर्जेन्टिनाले मेसीकै गोल र एसिस्टमा मेक्सिकोलाई २–० ले हराएर विश्वकपमा चुनौती कायम राख्यो । अब उसले अन्तिम १६ प्रवेशका लागि पोल्यान्डको चुनौती पन्छाउनै पर्छ । जर्मनीले पनि स्पेनसँग १–१ को बराबरी गर्दै प्रतियोगितामा अगाडि बढ्ने सम्भावना बचाइराख्यो । तर, समूहको दोस्रा खेलमा आएर केभिन डी ब्रुयन, इडेन हाजार्डलगायत स्टार खेलाडीले भरिएको बेल्जियमले भने अफ्रिकी मुलुक मोरक्कोसँग २–० ले हार्‍यो । अल थुमामा रंगशालामा फिफा वरीयताको दोस्रो स्थानको टिमविरुद्ध मोरक्कोको प्रदर्शन राम्रो पनि थियो । उसको जितमा रियल म्याड्रिडका बेल्जियन गोलकिपर थिबाउट कोर्टियसको कमजोरी पनि सहायक रह्यो । क्यानडाविरुद्ध १–० ले जितेको पहिलो खेलमा पनि बेल्जियमको प्रदर्शन पटक्कै राम्रो थिएन ।

ठूला टिमको प्रदर्शन र अनपेक्षित नतिजाबारे बेल्जियमका प्रशिक्षक रोबर्टो मािर्टनेजले भने, ‘युरोपका लिगहरू भर्खरै रोकिएका हुन् । विश्व्कप सुरु हुनुभन्दा एक साताअघिसम्म चलेका थिए । मैले समय अभावलाई दोष देखाउन खोजेको भने होइन तर हामीले एक टिमको रूपमा पहिलाजस्तो तीन साता वा एक महिना तयारी गर्न पाएनौं । समूह चरणको समाप्तिसम्म विस्तारै एउटा टिमको रूपमा बलियो बन्दै जाने विश्वास छ । समूह चरणको प्रतिस्पर्धा नै विश्वकपको तयारीको रूपमा लिनुपरेको पनि सत्य हो । केही टिमहरू भने महिनौं पहिलादेखि नै विश्वकपलाई एउटै टिम भएर तयारी गरिरहेका थिए । उनीहरूले त्यस्तो तयारीपछि प्रतियोगितामा आएर राम्रो गर्ने भइहाल्छ ।’

सन् १९६६ मा घरेलु भूमिमा च्याम्पियन भएदेखि पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्यान्डले इरानमाथि गोलको वर्षा गर्दै ६–२ ले हराएको थियो । त्यसैले गारेथ साउथगेटको टिमको सुरुआतलाई उत्कृष्ट मानिएको थियो । तर, उनको टिमलाई अर्को खेलमा अमेरिकाले गोलरहित बराबरीमा रोक्यो । अल बायट रंगशालामा गरिएको प्रदर्शनमा आधार भन्नुपर्दा अमेरिकाले बराबरीमा रोकेको भन्दा पनि इंग्ल्यान्ड हारबाट जोगिएको मान्नुपर्छ । त्यही दिन इरानले रियलका पूर्व फरवार्ड गारेथ बेलको टिम वेल्समाथि २–० को सनसनीपूर्ण जित हात पार्यो । गोलकिपर वायन होनेसीको रातो कार्ड पाएपछि इन्ज्युरी समयको पनि अन्तिम तीन मिनेटमा रोउबेह चेसमी र रमिन रेजाइनले गोल गरेर इरानलाई सानदार जित दिलाएका थिए ।

अफ्रिकाको टिम ट्युनिसियाले शीर्ष दस वरीयताको डेनमार्कलाई सुरुमै गोलरहित बराबरीमा रोक्यो । उही डेनमार्कले फ्रान्सलाई दोस्रो खेलमा कडा टक्कर दियो । केलियन एमबाप्पेको दुई गोलमा फ्रान्स रंगशाला ९७४ को खेल २–१ ले जितेर अन्तिम १६ मा स्थान सुरक्षित गर्ने पहिलो टिम बन्यो । तर, डेनिस चुनौती चानचुने थिएन । यो विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट खेल नै फ्रान्सविरुद्ध डेनमार्क र इरानविरुद्ध वेल्सको रह्यो । क्रिस्टियानो रोनाल्डो कप्तानीको पोर्चुगल घानाविरुद्ध ३–२ को जितमा पेनाल्टीमा भाग्यमानी भएको थियो । सबैभन्दा खराब प्रदर्शन भने आयोजक कतारकै रह्यो । विश्वकपको ९२ वर्षको इतिहासमा पहिलो खेल हार्ने र समूह चरणबाटै आयोजकको रुपमा बाहिरिने रेकर्ड कतारले डेब्यु विश्वकपमै बनायो । डिफेन्डिङ च्याम्पियन फ्रान्स र कीर्तिमान पाँचपल्टको विजेता ब्राजिलले दुई खेलसम्म सबैभन्दा राम्रो प्रदर्शन गरेका छन् । सुरुका दुई खेल जितेर यी दुई टिमले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्गान सुरक्षित गरेका छन् । ब्राजिलले स्टार खेलाडी नेयमरविना पनि स्विट्जरल्यान्डविरुद्ध राम्रो गर्यो ।

करिम बेन्जेमा, पोग्बा, कान्टेलगायतलाई चोटका कारण गुमाएको फ्रान्स एन्टोइन ग्रिजमन र एमबाप्पेको उत्कृष्ट लयसँगै आक्रामक देखिएको छ । तर, जापान, साउदी, कोस्टारिका, मोरक्कोले दिलाएको नतिजाले ठूला टिमहरूले कुनै पनि बेला अनपेक्षित नतिजा बेहोर्न सक्ने हुनसक्छ । नसोचिएका नतिजाले नै विश्वकपलाई रोमान्चक बनाउने गर्छ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?