कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
विश्वकप २०२२

मैदानी युद्धमा अमेरिका–इरान

एएफपी

दोहा — अमेरिकाले गर्नुपर्ने काम के हो, त्यो स्पष्ट छ । असाध्यै राजनीतिक गन्ध मिसिएको खेलमा इरानलाई हराउनु । नत्र, विश्वकप २०२२ बाट बिदा लिएर घर फर्कनुपर्नेछ । अहिलेको पुस्ताका अमेरिकी खेलाडीलाई प्रशंसा गर्ने धेरै छन्, इतिहासकै सबैभन्दा राम्रो भनेर । तर, यही टिम क्यानडा र मेक्सिकोसम्मिलित छनोटमा तेस्रो स्थानमा आएको थियो । अहिले भने त्यस्तो खेल खेल्दै छ, जसमा अमेरिकालाई निश्चित जित आवश्यक छ ।

मैदानी युद्धमा अमेरिका–इरान

मिडफिल्डर वेस्ट म्याकेनी भन्छन्, ‘सबैभन्दा ठूलो तथ्य के हो भने विश्वकप यात्राको स्थिति अझै पनि हाम्रो आफ्नै पकडमा छ । त्यो हो, इरानविरुद्धको अन्तिम खेल । त्यसमा हाम्रो एकमात्र लक्ष्य भनेको ३ अंकमात्र हुनसक्छ ।’ हारमात्र होइन, बराबरीले पनि अमेरिकाको चुनौती समाप्त हुनेछ । अमेरिकाले वेल्ससँग १–१ को बराबरी खेलेको थियो भने इंग्ल्यान्डसँग गोलरहित बराबरी हो । समूहमा इंग्ल्यान्डको ४ अंक छ भने इरानको ३ ।

त्यसपछि अमेरिकाको २ र वेल्सको १ अंक छ । अर्का मिडफिल्डर जियो रेयन भन्छन्, ‘हामीलाई यो खेल जित्नु छ । त्यसबाहेक हामीले अरू केही पनि सोचिरहेका छैनौं । खाली ३ अंक र हामी अर्को चरण पुग्नेछौं ।’ फ्रान्समा भएको सन् १९९८ को विश्वकपमा इरानले अमेरिकामाथि प्रसिद्ध २–१ को जित निकालेको थियो । हारले अमेरिकाको चुनौती समाप्त भएको थियो भने इरानी खेलाडीलाई घरमा भव्य स्वागत गरिएको थियो ।

त्यसमाथि खेलको पूर्वसन्ध्यामा अमेरिकी फुटबल संघले निकै खराब काम गरेको छ । इरानलाई रिसाउनका लागि पर्याप्त कारण दिएको छ । संघले आफ्नो सामाजिक सञ्जालमा इरानको त्यस्तो झण्डा केही समयका लागि प्रयोग गरेको थियो, जसमा इस्लामिक गणतन्त्रको प्रतीक थिएन । अमेरिकाका लागि अहिलेको स्थिति ठ्याक्कै त्यस्तै छ । जस्तो, सन् २०१० मा थियो । त्यतिबेला अमेरिका समूह चरणबाटै बाहिरिने स्थितिमा थियो तर, अल्जेरियालाई १–० ले हराउन सफल रहेको थियो । लन्डन डोनाभनले खेलको इन्ज्युरी समयमा निर्णायक साबित गोल गरेका थिए ।

पुराना मिडफिल्डर तथा अहिले फक्स स्पोर्ट्सका कमेन्टेटर रहेका स्टु होल्डेन भन्छन्, ‘हामीले गोलका लागि ९० मिनेटसम्म कुर्नु ठीक हुन्न । तर प्राप्त गरेमा मलाई आपत्ति पनि हुने छैन । यस्तो परिस्थितिले मेरो मुटुको धड्कन बढाउने काममात्र गर्छ ।’

अहिले इरानी टिमका प्रशिक्षकमा तिनै छन्, जसले सन् १९९८ ताका अमेरिकी फुटबल संघमा सल्लाहकारको भूमिका निभाएका थिए । उनी हुन्, कार्लोस क्विरेज ।

इरानको आक्रामणको नेतृत्व गरिरहेका छन् मेहदी तारेमीले । यी खेलाडीले यसपल्टको युरोपेली च्याम्पियन्स लिगमा ५ गोल गरिसकेका छन् । इंग्ल्यान्डविरुद्धको खेल ६–२ ले गुमाएपछि इरानले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको छ । यसक्रममा आफ्नो दोस्रो खेलमा वेल्समाथि २–० को स्तब्धपूर्ण जित निकालेको छ । अहिलेको स्थितिमा इरान पहिलोपल्ट विश्वकपको नकआउट चरण पुग्ने स्थितिमा छ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?