विश्वकप २०२२

कतारको प्रतिष्ठासामु आलोचक भान गाल

एपी

दोहा — नेदरल्यान्ड्स विश्वकप २०२२ को नकआउट चरणको निकै नजिक छ । टोलीले समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा मंगलबार आयोजक कतारको सामना गर्नेछ । यदि डच टिमले साँच्चै अर्को चरणको यात्रा तय गरेमा सबैको ध्यान ७१ वर्षीय प्रशिक्षक लुइस भान गालमा केन्द्रित हुनेछ ।

कतारको प्रतिष्ठासामु आलोचक भान गाल

एक वर्षअघि आफ्नो संन्यास घोषणालाई फिर्ता लिँदै उनले राष्ट्रिय टिमको जिम्मेवारी फेरि सम्हालेका थिए । त्यसअघि उनलाई गहन रूपमा क्यान्सर रोगको उपचार गरिएको थियो ।

आयोजक कतार भने आफ्ना सुरुआती दुवै खेलमा पराजित छ । कतारको अर्को चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेदरल्यान्ड्सका लागि भने बराबरी नै पर्याप्त रहनेछ । चार वर्षअगाडि विश्वकपमै छनोट हुन असफल नेदरल्यान्ड्स अब यसपल्टको प्रतियोगितामा बलियो टिमका रूपमा अगाडि आएको छ । यसै समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स जुनसुकै नतिजामा पनि अर्को चरण पुग्नेछ ।

अन्तिम १६ खेलमा अब नेदरल्यान्ड्सले समूह ‘बी’ को शीर्ष दुई स्थानमा रहने टिमको सामना गर्नेछ । त्यस समूहमा इंग्ल्यान्ड नकआउट चरणका लागि सबैभन्दा बलियो प्रत्याशी हो भने इरान, अमेरिका र वेल्सको सम्भावना पनि जिउँदै छ । विश्वकप सुरु हुनुअगाडि भान गालले यसपल्ट नेदरल्यान्ड्सले आफ्नो टिम विश्वकप जित्न सक्षम रहेको दाबी गरेका थिए । तर, धेरैका लागि अहिलेको टिम त्यसलाई सक्षम नरहेको मानेका थिए ।

विश्वकप इतिहासमा नेदरल्यान्ड्स अभाग्यशाली टिम रहेको छ । तीनपल्ट फाइनलमा पुगेर पनि पराजित छ । डच टिम सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग उपाधि भिडन्तमा पराजित रहेको थियो । सन् २०१४ ब्राजिलमा भएको विश्वकपमा पनि नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको थियो । सेमिफाइनलमा उसलाई अर्जेन्टिनाले टाइब्रेकरमा हराएको थियो । अहिले भने भान गालले कम्तीमा नकआउट चरण पुर्‍याउने जिम्मेवारी पुर्‍याउने संघारमा छन् ।

विश्वकपबाट टाढिएको केही वर्षपछि फ्रान्क डी बोरको स्थानमा सन् २०२१ मा भाग गालले डच टिम सम्हालेका थिए । भान गाल भन्छन्, ‘टिम संकटमा रहेको बेला त्यसलाई सम्हाल्ने कोही पनि थिएनन् ।’ भान गालको बहादुरी डच टिमका लागि प्रेरणा रहनेछ । उनको सफलता स्वयं कतारका लागि पनि बिझ्न सक्ने हुनेछ । यस वर्षको सुरुमा कतार जस्तो ३० लाख जनसंख्यामात्र भएको देशमा फुटबलको ठूलो प्रतियोगिता विश्वकप आयोजना गर्नु बेकार रहेको भान गालले बताएका थिए ।

उनले भनेका थिए, ‘कतार तेल र ग्यासमा मात्र धनी छ । यति सानो देशमा विश्वकप आयोजना गर्ने निर्णय गर्नु बेकार थियो । फिफा के भन्छ त ? सायद उनको उद्देश्य कतारमा फुटबल विकास गर्नु हुनसक्छ । तर कतार विश्व फुटबलका लागि साँच्चै निकै सानो छ र यस देशमा फुटबल संस्कृति पनि छैन । तर यसको कसलाई के मतलब र ? यो सबै पैसा र व्यावसायिक फाइदाको कुरामात्र हो । फिफालाई पनि यस्तै कुरामा मात्र मतलब हुने गर्छ ।’

प्रकाशित : मंसिर १३, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?