१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
विश्वकप २०२२

ब्राजिल नकआउट चरणमा

एएफपी

दोहा — ब्राजिल सोमबार स्विट्जरल्यान्डलाई १–० पराजित गरी विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । कासेमिरोले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलमा ब्राजिलले लगातार दोस्रो खेलमा जित हात पारेको हो ।

ब्राजिल नकआउट चरणमा

फ्रान्सपछि अन्तिम १६ मा पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो । रंगशाला ९७४ मा भएको समूह ‘जी’ को खेलमा कासेमिरोले ८३ औं मिनेटमा गोलको खडेरी तोडेका थिए । आफ्नो प्रमुख खेलाडी नेयमरविना खेलेको ब्राजिलले स्विस टोलीविरुद्ध पहिचानअनुरुप रवाफ देखाउन सकेन ।

भिनिसियस जुनियरले दोस्रो हाफको सुरुआतमा गरेको गोल भीएआरले उल्टाइदिएको थियो । ब्राजिलको ६ र स्विट्जरल्यान्डको ३ अंक छ । स्विस टोलीले अघिल्लो खेलमा क्यामरुनलाई हराएको थियो । क्यामरुन र सर्बियाको १–१ अंक छ । यी दुई टोलीबीच सोमबारै भएको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

घानाले दक्षिण कोरियालाई ३–२ पराजित गरेपछि समूह ‘एच’ सबैका लागि खुलाजस्तै बनेको छ । १० मिनेट अन्तरमा मोहम्मद सालिसु र मोहम्मद कुडुसले गोल गरेपछि घानाले ३४ मिनेटमा २–० को अग्रता लिएको थियो । दुई मिनेटको अन्तरमा चो गुइ सुङले गोल गरेपछि दक्षिण कोरियाले ६१ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो ।

तर त्यसको ७ मिनेटपश्चात नै कुडुसले नै गरेको गोलमा घानाले महत्वपूर्ण विजय हात पार्‍यो । पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको दक्षिण कोरियाले १० मिनेटको इन्ज्युरी टाइममा पनि कुनै गोल थप्न सकेन । १ अंक मात्र बोकेको दक्षिण कोरियालाई नकआउट चरण पुग्न झनै कठिन बनेको छ । टोलीले समूह चरणको अन्तिम खेल पोर्चुगलसँग खेल्नेछ ।

स्पेन र जर्मनीबीच आइतबार रातिको खेल १–१ को बराबरीमा टुंगिएको थियो । निकलस फुलक्रुगले खेल समाप्त हुनु ७ मिनेटअगाडि गोल गरी जर्मनीको उद्दार गरे । यसले जर्मनको नकआउट चरण पुग्ने आशा ब्युँत्याएको छ । जर्मनी पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको थियो । यसअघि बैकल्पिक अल्भारो मोराटोको गोलमा स्पेनले ६२ औं मिनेटमा अग्रता लिँदै नकआउट चरण नजिक पुगेको थियो । अघिल्लो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गरेकाले स्पेनको अन्तिम १६ को यात्रा बलियो स्थानमा छ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?