रोमाञ्चक खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले हरायो


दोहा — मोहमद कुदुसको दुई गोलसँगै घानाले रोमाञ्चक प्रतिस्पर्धामा दक्षिण कोरियालाई ३–२ ले हराएर सोमबार विश्वकप-२०२२ मा नकआउट चरण पुग्ने सम्भावनालाई कायमै राखेको छ ।


४३ हजार ९ सय ८३ दर्शक उपस्थित एजुकेसन सिटी स्टेडियममा कुदुसले ६८ औं मिनेटमा निर्णायक गोल गर्दै घानाको सम्भावना कायम राखेका हुन् । यसअघि मोहम्मद सलिसुले २४ र कुलदुसले ३४ औं मिनेटमा गोल गर्दै अफ्रिकी टिमलाई २–० ले अगाडि बढाएका थिए । तर, दोस्रो हाफमा गुएसुङ चोले ५८ र ६१ औं मिनेटमा गोल गरेर कोरियालाई २–२ को बराबरीमा पुर्याएका थिए ।
टोटेनहम हर्टस्परका फरवार्ड सन ह्युङ मीनको कप्तानीमा रहेको कोरियाली टिमले कुदुसको दोस्रो गोलपछि श्रृंखलाबद्ध आक्रामण गर्यो । धेरै पटक सहज अवसर पनि सिर्जना गरे पनि चाहिएको गोल गर्न सकेन । अब कोरियालाई नकआउट चरणमा स्थान बनाउन कठिन बनेको छ । उसले समूह 'एच' मा आफ्नो अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको सामना गर्ने छ ।
पहिलो खेलमा पोर्चुगलविरुद्ध ३–२ ले हारेको घाना भने कोरियाविरुद्ध 3 अंक जोडेपछि अन्तिम १६ प्रवेशको बाटोमा अगाडि बढेको छ । उसले समूहको अन्तिम खेलमा उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा कोरियासँग गोलरहित नतिजामा अंक बाडेको उरुग्वेले आजै पोर्चुगलको सामना गर्दै छ ।
आज भएको समूह 'जी' को प्रतिस्पर्धामा क्यामरुन र सर्वियाले ३–३ को बराबरी खेल्यो । यही समूहमा आज मध्यरात ब्राजिल र स्विजरल्यान्ड पनि भिड्दै छन् ।
प्रकाशित : मंसिर १२, २०७९ २१:१०