३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
विश्वकप २०२२

अफ्रिकालाई धेरै स्थान दिन माग

एएफपी

दोहा — घानाका प्रशिक्षक ओटो एडोले अफ्रिकी टिमले विश्वकपको अन्तिम चरणसम्मको यात्रा तय गर्ने सम्भावना कम रहेको बताउँदै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो महादेशलाई बढी स्थान दिनुपर्ने आइतबार दाबी गरेका छन् । अफ्रिकाका कुनै पनि टिम अहिलेसम्म विश्वकपको क्वाटरफाइनलभन्दा अगाडि जान सकेका छैनन् ।

अफ्रिकालाई धेरै स्थान दिन माग

सन् २०१० को विश्वकपमा घाना सेमिफाइनलको नजिक रहे पनि टाइब्रेकरमा पराजित रहेको थियो । समूह ‘एच’ को दक्षिण कोरियाविरुद्ध हुने खेल अगाडि बोल्दै एडोले अफ्रिकामा ५४ देश रहेकाले पनि विश्वकपमा बढी सहभागिता आवश्यक रहेको बताए । उनले भने, ‘विश्वकप छनोटमा सबैले समान सम्भावना पाएका छैनन् । फिफा इतिहासमै यस्तो भएको छैन । अफ्रिकाका पाँच टिमले मात्र विश्वकपमा खेल्न पाउने हुन्छ । युरोपले के कति पाउँछ, त्यो मलाई थाहा छैन, तर उसको लिग चरणबाट अगाडि बढ्ने सम्भावना पक्कै पनि बढी हुन्छ ।’

कतारमा विश्वकप खेलिरहेका ३२ मध्ये १३ टिम युरोपका छन् । एसियाबाट छ टिमले प्रतिनिधित्व गरेका छन् भने दक्षिण अमेरिका र कनकाकाफबाट ४–४ टिमले खेलिरहेका छन् । कतारमा यसपल्ट लिग चरणमा जित निकाल्ने सेनेगल र मोरक्को मात्र छन् । चार वर्ष अगाडि रुसमा भएको विश्वकपमा पाँच अफ्रिकी टिममध्ये कुनै पनि नकआउट चरणसम्म पुग्न सकेनन् । सन् २००६ मा घानाले विश्वकपमा डेब्यु गर्दा अन्तिम १६ मा पुगेको थियो र त्यति बेला एडो खेलाडी थिए ।

उनी भन्छन्, ‘त्यसो त सबैलाई सुरुमा उत्तिकै अवसर छ, कसैलाई केही बढी, कसैलाई केही कम । तर म के प्रार्थना गरिरहेको छु भने कम्तीमा एक अथवा दुई अफ्रिकी टिम नकआउट चरण पुग्न सक्छन् । पोर्चुगलविरुद्धको खेल ३–२ ले गुमाएको घानाले सोमबार आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । मिडियासामु बोल्ने क्रममा प्रशिक्षक एडोले पोर्चुगलविरुद्धको खेलमा अमेरिकी रेफ्री इस्माइल इलफतहको निर्णयको पनि आलोचना गरे ।

पोर्चुगलले पाएको पेनाल्टी गलत भएको उनको दाबी थियो । उनले भनेका छन्, ‘त्यस खेलपछि म निकै भावुक भएको थिएँ । त्यति बेला म केही कडा ढंगले पेस भएको भए पनि अहिले माफी माग्न चाहन्छु । अब त यो पनि पुरानो कुरा भइसकेको छ । अब त्यसमा कुनै परिवर्तन गर्न सकिन्न । मैदानमा रहेका सबैले भूल गर्न सक्छन्, मैले पनि भूल गर्न सक्छु । त्यति क्षणका लागि किन भार प्रयोग गरिएन, त्यसमा म आश्चर्यमा छु ।’

प्रकाशित : मंसिर १२, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?