‘मेसी यहाँ छन्’- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मेसी यहाँ छन्’

साउदी अरेबियासँग पराजित भएपछि ‘ह्वेर इज मेसी’ सामाजिक सञ्जालमा ट्रेन्डिङ नै भएको थियो, मेक्सिकोविरूद्धको जितपछि ट्रेन्डिङ अर्कै छ
राजु घिसिङ

दोहा — कतारमा ९० स्थानमा बनाइएका ‘फ्यान जोन’ मा विश्वकप २०२२ का प्रत्येक खेल ठूलो स्क्रिनमा देखाइन्छ । दोहाको अल अदामा बनाइएको फ्यान जोनमा उभिएरै ३३ हजार बढी मानिसले हेरेको मेक्सिकोविरुद्ध शनिबारको खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गरेपछि धेरैले आकाशे नीलो–सेतो रङको जर्सी नम्बर खोलेर दुई हातले उचाल्दै भने, ‘मेसी इज हियर (मेसी यहाँ छन्) ।’

दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनालाई कतार संस्करणमा कायमै रहन पनि लुसेल रंगशालाको प्रतिस्पर्धा जित्नैपर्ने बाध्यता थियो । मेसी र एन्जो फर्नान्डेजको उत्कृष्ट गोलमा अर्जेन्टिना २–० ले विजयी भएपछि बासस्थान फर्किने क्रममा पनि दर्शकले ‘मेसी इज हियर’ भन्दै नारा लगाइरहेका थिए । यो नारा मेसी र अर्जेन्टिनी टिम समूह चरणबाटै बाहिरिएको हेर्न चाहनेका लागि मिठो जवाफ हो, जसरी मेसीले जित्नैपर्ने खेल जिताएर करिअरको अन्तिम विश्वकपमा पनि उपाधि जित्न आतुर भएको संकेत दिए ।

अर्जेन्टिनालाई पहिलो खेलमै साउदी अरेबियाले २–१ ले स्तब्ध पार्दै अपराजित यात्रालाई ३६ खेलमै रोकेको थियो । त्यसपछि अरू टिमका समर्थकले कतारमा बस, मेट्रोलगायत सार्वजनिकस्थलमा ‘ह्वेर इज मेसी’ (मेसी कहाँ छन् ?) भन्दै नारा लगाइरहेका थिए । विशेषगरी साउदी, क्रिस्टियानो रोनाल्डो, ब्राजिल र मेक्सिकोका समर्थकले जताततै उफ्रिँदै निधारमा हत्केला उठाउँदै यताउति हेरेर मेसी कहाँ छन् भनिरहेका थिए । वास्तवमा साउदीले विश्वकप इतिहासकै एक अनपेक्षित नतिजा निकाल्नुअघि यहाँ अर्जेन्टिनाका समर्थकको चहलपहल बढी नै थियो । अर्जेन्टिनी समर्थकमा पनि अधिकांशले मेसीकै जर्सी नम्बर १० लगाएका थिए । उनीहरू विश्वकपअघि ‘मेसी–मेसी’ को नारा लगाउँदै हिँड्थे । सन् १९७८ र १९८६ को च्याम्पियनलाई एसियाली टिम साउदीले पराजित गरेपछि अर्जेन्टिनी समर्थक शान्त भएका थिए । ह्वेर इज मेसीे सामाजिक सन्जालमा ट्रेन्डिङ नै भएको थियो । र, मेक्सिकोविरुद्धको जितपछि मेसी इज हियर भन्ने ट्रेन्डिङ बनेको छ ।

मेक्सिकोविरुद्ध हारेको भए अर्जेन्टिनाको ३६ वर्षपछि उपाधि जित्ने लक्ष्य फेरि अधुरै हुने थियो र इतिहासकै एक खराब प्रदर्शनसहित दक्षिण अमेरिका फर्किनुपर्ने हुन्थ्यो । डिएगो म्याराडोनाको उत्कृष्ट खेलमा १९८६ मा विश्वकप जितेयता अर्जेन्टिना विश्वविजेता बनेको छैन । गत वर्ष मृत्यु भएका म्याराडोना मेसीलाई आफ्नो उत्तराधिकारी मान्थे । म्याराडोनालाई भगवान् मान्ने अर्जेन्टिनीहरू मेसीलाई पनि उस्तै सम्मान दिन्छन् । तर मेसीमा म्याराडोनाभन्दा एउटा कुराको कमी छ । त्यो हो विश्वकपको उपाधि । त्यसैले कतार संस्करणमा अर्जेन्टिना बाहिरिने डरभन्दा पनि फुटबल इतिहासकै एक उत्कृष्ट खेलाडी मेसीको करिअर विश्वकप नजितेरै सकिने भयो भन्ने डर बढेको थियो । यसले मेसी आफैं पनि चर्को दबाबमा थिए ।

करिब २० यार्डबाट आफ्नै परम्परागत शैलीमा मेक्सिकोविरुद्ध गोल गरेपछि मेसीले सहकर्मीसँग खुबै खुसियाली मनाए । दुई हात दर्शकतिर हुत्याउँदै जोस देखाए । एन्जेल डि मारियाको पासमा भएको त्यो गोलपछि उनको अनुहारमा आएको चमक बिछट्टै थियो । उनकै पासमा इजे एन्जोले ८७ औं मिनेटमा गोल गरेपछि जित पक्का भयो । मेसी र अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावनालाई कायमै राखे । त्यो बाटोमा रहनका लागि पहिला नकआउट चरणमा पुग्नुपर्छ । त्यसका लागि अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा रोबर्ट लेवान्डोस्कीको टिम पोल्यान्डलाई पराजित गर्नुपर्नेछ ।

‘साउदीविरुद्धको हारले चर्को दबाब दियो,’ ३५ वर्षीय मेसीले भने, ‘अब हामी बाहिरिएका छैनौं । हाम्रा लागि सबै खेल फाइनल हो । कुनै गल्ती गर्नु हुँदैन किनभने हामीलाई हरेक खेल जित्नैपर्छ भन्ने थाहा छ । हाम्रा लागि अर्को एउटा विश्वकप सुरु भएको छ । यसमा के गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ ।’ साउदीविरुद्ध पेनाल्टीमा गोल गरेका उनी पाँचौं विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडी पनि भए । विश्वकपमा अर्जेन्टिनाका लागि गोल गर्ने सबभन्दा कान्छो र सबभन्दा बुढो खेलाडीको रेकर्ड बनाएका उनले सन् २००६, २०१४, २०१८ हुँदै २०२२ मा गोल गरेका हुन् । त्यसक्रममा म्याराडोनाको आठ गोलको कीर्तिमान मेक्सिकोविरुद्ध बराबरी गरे । उनी दक्षिण अफ्रिका (२०१०) भने गोल गर्न असफल भएका थिए ।

अर्जेन्टिनाका लागि सन् १९९४ फाइनलयताकै सबभन्दा बढी ८८,९६६ दर्शक (मेक्सिकोविरुद्धको खेलमा) उपस्थित लुसेल रंगशाला ‘होम ग्राउन्ड’ नै हो । अर्जेन्टिनाले समूहका सबै खेल यहीं खेल्दै छ, जुन अवसर अरू टिमले पाएका छैनन् । डिसेम्बर १८ मा फाइनल पनि नयाँ सहरको यही रंगशालामा हुनेछ ।

स्पेनी महारथी बार्सिलोना छाडेर गत सिजन फ्रेन्च लिग वान क्लब पीएसजी (पेरिस सेन्ट जर्मेन) मा सन् २००५ मा डेब्यु गरेका मेसीले देशका लागि १ सय ६७ खेलमा ९३ गोल गरेका छन् । अहिले खेलिरहेकामध्ये उनीभन्दा बढी गोल पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गरेका छन् । यी दुईले यो विश्वकपमा पहिलो गोल पेनाल्टीमार्फत गरेपछि ‘पेसी पेनाल्डो’ पनि ट्रेन्डिङमा आयो । ३७ वर्षीय रोनाल्डो पनि करिअर विश्वकपको उपाधि जितेर सार्थक पार्न चाहन्छन् । यी दुईले नजितेको एकमात्र उपाधि विश्वकप नै हो ।

मेसी आठ वर्षअघि विश्वकप उपाधिको सबैभन्दा नजिक पुगेका थियो । तर, रियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा मारियो गोट्जले अतिरिक्त समयमा गोल गरेपछि मेसीको टिमलाई १–० ले निराश पार्दै जर्मनी च्याम्पियन भएको थियो । उनले त्यसबेला गोल्डेन बलको अवार्ड त जिते तर ६.१ किलोग्रामको ट्रफी चुम्न पाएनन् । लगातार चार फाइनल (कोपा २००७, २०१५, २०१६ र विश्वकप २०१४) हारेपछि मेसीले बार्सिलोनामा जस्तै प्रदर्शन अर्जेन्टिनी टिमबाट नगरेको आशंका गरियो । मेसीको अन्तर्राष्ट्रिय करिअरमा प्रश्न पनि तेर्सियो । उनी केही समय अर्जेन्टिनी टिमसँग अलग रहे ।

गत वर्ष फाइनलमा ब्राजिललाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा कोपा अमेरिका जितेका मेसीले मिल्ने साथी सर्जियो एगुइरोसँगै यू–२० विश्व च्याम्पियनसिप र ओलम्पिक स्वर्ण जितेका थिए । एगुइरोले बुट थन्क्याइसकेका छन् । अर्जेन्टिनाले फिफा वरीयतामा तेस्रो स्थानमा रहेको सावित गर्ने प्रदर्शन दुई खेलसम्म गरेको छैन । मेसी आफ्नो औसत टिमबाटै पनि विश्वकप जित्न चाहन्छन् । टिम उनकै प्रदर्शनमा निर्भर छ । मेक्सिकोविरुद्ध पहिलो हाफमा चुपचापजस्तै रहेका उनले केही सेकेन्डमै कुनै पनि बेला खेलको नतिजा उल्ट्याउन सक्छन्, आफ्नो पक्षमा पार्न सक्छन् । कतारमा उनीसँग यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ, जसले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउन सक्छ र आफ्नै करिअरलाई पनि सार्थक तुल्याउन सक्छ ।

कीर्तिमान सातपल्टको वर्षका सर्वोत्कृष्ट फुटबलरको अवार्ड बालोन डि‘अर जितेका मेसीले तीनपल्ट क्लब विश्वकप, चारपल्ट युरोपेली च्याम्पियन्स लिग, १० पल्ट स्पेनी ला लिगा, पहिलो सिजन नै फ्रान्सको लिग वानको उपाधि जितेका छन् । त्यसैले मेसीले फुटबलमा विश्वकपबाहेक अरू कुनै त्यस्तो जित्न बाँकी उपाधि छैन । उनी लयमा पनि छन् । अर्जेन्टिनाका लागि एउटै वर्षमा सबैभन्दा बढी गोल यसैपालि गरेका छन्् । सन् २०१२ मा गरेको १२ गोललाई २०२२ मा एक गोलले उछिनेका उनले अझै थप्न सक्छन् । करिअरमा एक अर्ब अमेरिकी डलर कमाइसकेका उनका लागि यो ३५ वर्षको उमेर विश्वविजेता बन्ने अन्तिम आवसर हो ।

प्रकाशित : मंसिर १२, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

लघुबिमा इजाजतले निम्त्याएका प्रश्न

सम्पादकीय

कम्पनीको संख्या घटाएर गुणस्तर बढाउने उद्देश्यविपरीत सातै प्रदेशमा लघुबिमाका नयाँ इजाजतपत्र वितरणका लागि नियामक निकाय बिमा प्राधिकरणले आइतबार कम्पनी छनोट गरेको छ । एकातिर सञ्चालनमा रहेका कम्पनीहरूलाई ‘मर्जर’ तथा ‘एक्विजिसन’ का लागि दबाब दिइरहेको प्राधिकरणले अर्कातिर लघुबिमाका नाममा ७ वटा कम्पनी छनोट गर्नु आफैंमा विरोधाभासपूर्ण छ ।

प्रतिनिधिसभा निर्वाचन भएर धमाधम परिणाम आइरहेका बेला नयाँ सरकार बन्नुअगावै देखाइएको यो हतारोलाई उचित मान्न सकिन्न ।

खास गरी प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा यसरी इजाजत वितरण गरिएको जानकारहरू बताउँछन् । चालु आर्थिक वर्षको बजेटमा ‘लघुबिमा कम्पनी स्थापना गरिने’ उल्लेख हुनु र त्यसपछि अर्थमन्त्री शर्माले निरन्तर रूपमा बिमा प्राधिकरणलाई ताकेता गर्नुले पनि यसको पुष्टि हुन्छ । सोही बमोजिम प्राधिकरणले चुनावअघि नै इजाजत वितरण गर्न खोज्दा निर्वाचन आयोगले पत्र काटेपछि रोकिएको थियो । तर अहिले निर्वाचनको मतगणना नसकिँदै प्राधिरणले पुनः सक्रियता देखाएको हो । जबकि, अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म यो सरकारको हैसियत कामचलाउ मात्रै हो, जसले दूरगामी प्रभाव पार्ने नीति निर्माण, कर्मचारी भर्ना, इजाजत वितरण/खारेज लगायत गर्न पाउँदैन । अर्को सरकार नआउँदासम्मका लागि नियमित र भैपरी आउने काम गर्ने अधिकार मात्र यो सरकारलाई छ । तर पनि कामचलाउ सरकारको कार्यक्षेत्र मिचेर इजाजत बाँडिनु अनर्थपूर्ण छ । केही दिनपछि मुलुकमा नयाँ सरकार गठन हुने भए पनि प्राधिकरणले त्यतिन्जेल धैर्य गर्न नसक्नु नै शंकास्पद देखिन्छ । कथं फरक राजनीतिक दल तथा व्यक्तिहरूको नयाँ सरकार बनेमा पुरानो मिलेमतो अनुसार इजाजत वितरण गर्न नपाइने भयले अहिले नै कम्पनीहरू छानिएको जुन आरोप प्राधिकरणमाथि लागेको छ, त्यसमा दम छ ।

हाल २० निर्जीवन, १९ जीवन र २ पुनर्बिमा गरी जम्मा ४१ वटा बिमा कम्पनी सञ्चालनमा छन् । तीन वर्षअघि प्राधिकरण (साबिकको बिमा समिति) का तत्कालीन अध्यक्ष चिरञ्जीबी चापागाईले ठूलो संख्यामा बिमा इजाजत वितरण गरेका थिए । प्रभावकारी नियमन हुन नसक्दा ती कम्पनीहरू सहरी क्षेत्रमा सीमित छन् । न ती भनिए अनुसार ग्रामीण भेगमा गएका छन्, न तिनले कृषि र लघुबिमा क्षेत्रलाई नै समेट्न सकेका छन् । त्यही कारण अहिले प्राधिकरणले संख्या घटाउन भन्दै कम्पनीहरूलाई मर्जरका लागि दबाब दिइरहेको पनि छ । यस्तो अवस्थामा पनि उसले लघुबिमाको इजाजतका लागि कम्पनी छनोट गरिहाल्नु कुनै हिसाबले तर्कसंगत देखिन्न । अर्को, सातै प्रदेशमा लघुबिमा कम्पनी स्थापना गर्ने भन्दै प्राधिकरणले नयाँ इजाजतका लागि गत भदौ १० मा सूचना आह्वान गरी आवेदक ३१ वटा कम्पनीमध्येबाट ७ वटा छनोट गरेको हो । यसमा पनि ती कम्पनीलाई कसरी छानियो, तिनीहरू कसरी उत्कृष्ट भए लगायत छनोटका मापदण्ड पनि प्राधिकरणले सार्वजनिक गरेको छैन, जसले पनि उसको नियतमा शंका उब्जाएको छ ।

अर्कातिर, गत चैतमा बिमा समितिले कम्पनीहरूको चुक्ता पुँजी बढाउन दिएको निर्देशन अनुसार एक वर्षभित्र जीवन बिमा कम्पनीले कम्तीमा ५ अर्ब र निर्जीवन बिमा कम्पनीले कम्तीमा साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । कम्पनीहरूलाई हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न दिइएको छैन । यस्तो अवस्थामा बोनस सेयर वा मर्जर तथा एक्विजिसनमार्फत एक वर्षभित्र निर्देशित पुँजी पुर्‍याउनुपर्ने बाध्यता कम्पनीहरूलाई छ । यही कारण पछिल्लो दुई महिनामा एक दर्जनभन्दा बढी बिमा कम्पनीहरूले मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । हाल सञ्चालनमा रहेका कम्पनीले कुल कारोबारको कम्तीमा ५ प्रतिशत लघुबिमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । तर, तोकिए अनुसार कुनै कम्पनीले लघुबिमा गर्न नसकेको प्राधिकरणको तथ्यांक छ । यसरी पुराना कम्पनीलाई आफ्नो निर्देशन पालना गराउन नसक्ने प्राधिकरणले सबै प्रदेशमा नयाँ इजाजत वितरण गर्दा थप बेथिति मौलाउने निश्चितप्रायः छ ।

सम्भावित जोखिम अन्यन्त्र हस्तान्तरण गर्ने राम्रो माध्यम हो बिमा । तैपनि ६० प्रतिशतभन्दा बढी नागरिक बिमाको पहुँचभन्दा बाहिर छन् । सर्वसाधारण मात्र नभई सरकारी भवन लगायत सम्पत्तिहरूको पनि बिमा गरिएको छैन । यतिसम्म कि संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको समेत बिमा गरिएको छैन । यसरी सरकारी लगायत धेरैभन्दा धेरै सर्वसाधारणलाई सहज रूपमा बिमा पहुँचमा ल्याउनु अहिलेको प्रमुख चुनौती हो । त्यो काम बिमा क्षेत्रको नियामक निकाय बिमा प्राधिकरणकै हो । सञ्चालनमा रहेका कम्पनीलाई सही दिशामा हिँडाएर धेरैभन्दा धेरै नागरिकसम्म बिमाको पहुँच पुर्‍याउने काममा लाग्नुपर्नेमा प्राधिकरण भने विवादका बावजुद पनि मनपरी रूपमा इजाजत वितरण गर्न उद्यत देखिनु विडम्बनापूर्ण छ । विगतमा राष्ट्र बैंकले र तीन वर्षअघि बिमा प्राधिकरणले मनपरी इजाजत वितरण गरेकै कारण अहिले तिनको व्यवस्थापन गर्न फलामको चिउरा चपाउनुसरह भएको तथ्य जगजाहेरै छ । तैपनि त्यसबाट पाठ नसिकेर मुलुकको राजनीति अस्थिर भएको समयमा चलाखीपूर्ण तरिकाले इजाजत वितरण गरिनुले सही सन्देश गएको छैन । यस परिस्थितिमा पहिलो त प्राधिकरणले संस्थागत क्षमता अभिवृद्धि गरी प्रभावकारी रूपमा नियमन र अनुगमनमा आफूलाई केन्द्रित गर्नुपर्छ । दोस्रो, इजाजत वितरण प्रक्रियामाथि उठेका प्रश्नहरूउपर राज्यका सम्बन्धित निकायहरूको पनि ध्यान जानुपर्छ ।

प्रकाशित : मंसिर १२, २०७९ ०६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×