कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुई महारथीको भिडन्त

पूर्वविजेताद्वय जर्मनी र स्पेनबीचको बहुप्रतीक्षित खेल समूह चरणमै, जर्मनी दबाबमा 
राजु घिसिङ

दोहा — युरोपका दुई महारथी जर्मनी र स्पेन एकअर्कालाई विश्वकप २०२२ को समूह चरणबाटै घर फर्काउने प्रयासमा अल खोरस्थित अल बायत रंगशालामा आइतबार प्रतिस्पर्धा गर्दै छन् । कतार संस्करणमा दुई ठूला टिमको बहुप्रतीक्षित खेल हो यो ।

दुई महारथीको भिडन्त

चारपल्टको विश्वकप विजेता जर्मनी र सन २०१० को च्याम्पियन स्पेन भिन्न परिस्थितिमा उभिएका छन् । पछिल्लोपल्ट आठ वर्षअघि ब्राजिली भूमिमा ट्रफी चुमेको टिमका गोलकिपर म्यानुयल नोय र अग्रपंक्तिका प्रभावशाली खेलाडी थोमस मुलरजस्ता अनुभवीसहित बायर्न म्युनिककै जमल मुसियालालगायत प्रतिभावान युवा खेलाडी समिश्रण गरिएको जर्मनीलाई कतारमा पहिलो खेलमै जापानले २–१ ले स्तब्ध बनाएको थियो । त्यसैले लगातार दोस्रोपल्ट समूह चरणबाटै घर फिर्तीको डर रोक्न जर्मनीसामु कोस्टारिकाविरुद्ध खेल्नुअघि चिरपरिचित प्रतिस्पर्धी स्पेनलाई हराउनुपर्ने बाध्यता छ ।

समूह ‘ई’ मा स्पेनले भने आफ्नो विश्वकप इतिहासकै सबैभन्दा फराकिलो अन्तर ७–० ले कोस्टारिकाको चुनौती पन्छाउँदै युवा खेलाडीले भरिएको टिम पनि उपाधिको दाबेदार भएको संकेत गरेको छ । प्रशिक्षक लुइस एनरिकेले सम्हालेको टिमले समूहको अन्तिम खेलमा जापानविरुद्ध खेल्नुअघि नै अन्तिम १६ को यात्रालाई सुरक्षित गर्न चाहेको छ । त्यसका लागि जापानविरुद्ध कोस्टारिकाको नतिजा पनि स्पेनको अनुकूल हुनुपर्नेछ ।

विश्वकपमा जर्मनी र स्पेन चारपल्ट आमनेसामने भएका छन् । त्यसमा जर्मनीले दुई खेल जितेको छ भने स्पेनको पक्षमा एक खेलको नतिजा छ । यी दुईको पछिल्लो भेट दक्षिण अफ्रिका (सन् २०१०) मा भएको थियो । सेमिफाइनलको उक्त भेट १–० ले जितेको स्पेन फाइनलमा आन्द्रेस इनिस्टाले ११६ औं मिनेटमा (अतिरिक्त समय) गोल गरेपछि नेदरल्यान्ड्सलाई १–० ले हराएर पहिलोपल्ट विश्व च्याम्पियन भएको थियो । गत वर्ष युरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुगेको अहिलेको स्पेनी टिमले पनि प्लेमेकर जाभी हर्नान्डेजप्रेरित १२ वर्षअघिको टिमले गरेजस्तै सुन्दर फुटबल पस्किरहेको छ ।

यी दुई टिम पछिल्लोपल्ट २०२० नोभेम्बरमा (यूईएफए नेसन्स लिगको सेमिफाइनल) एकअर्काविरुद्ध खेलेका थिए । सेभियामा भएको खेल फेरान टोरेसको ह्याट्रिकसँगै स्पेनले ६–० ले जितेको थियो, जुन अन्तर जर्मन फुटबलले अपेक्षा गरेजस्तो पटक्कै थिएन । खलिफा रंगशालामा जापानविरुद्ध पूरा खेलमा हाबी भएको जर्मनीले नतिजा गुमाउँछ भन्ने पनि अनुमान गरिएको थिएन । नियन्त्रणमा राखेर पनि जर्मनी हार्छ भन्ने यी दुईले समग्रमा २५ खेल खेलेका छन्, जसमा जर्मनीले ९ र स्पेनले ८ खेल जितेका छन् । विश्वकप र अन्तर्राष्ट्रिय फुटबलका यी तथ्यांकले पनि जर्मनी र स्पेनबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक हुने देखाउँछ । सेभियामा जस्तै नसोचिएको अन्तर पनि निस्कन सक्छ तर जर्मनी–स्पेनको खेलमा सधैं कडा प्रतिस्पर्धा र आकर्षक खेलको अपेक्षा गरिन्छ ।

दुवै प्रतिस्पर्धीले एकअर्कालाई राम्रोसँग चिनेका छन् । आफ्नो र अर्काको कौशल पनि थाह छ र कमजोरीबारे पनि जानकार छन् । दुवै देशका केही खेलाडी त एउटै क्लबमा खेल्ने गर्छन् । जर्मन डिफेन्डर एन्टोनियो रुडिगर र स्पेनी फरवार्ड मार्को एसेन्सियो रियल म्याड्रिडका सहकर्मी हुन् । स्पेनको राइटब्याक सेजर एज्पिकुएटा र जर्मन फरवार्ड काई हाभर्ज इंग्लिस प्रिमियर लिग क्लब चेल्सीबाट खेल्छन् । डानी ओल्मो (स्पेन) र डेविड रम (जर्मनी) लाइप्जिगका हुन् । स्पेनी रोड्रीसँगै जर्मनीका आयमेरिक लापोर्टे र इकाय गुन्डोगनले म्यानचेस्टर सिटीको अकासे नीलो जर्सीमा लगाउँछन् । त्यसैले ९० मिनेटको खेलमा कुनै पनि स्थितिमा ५–१० सेकेन्डमै नतिजा बदल्ने गरी खेल प्रदर्शन गर्न दुवै टिम योग्य छन् ।

‘हामी गर या मरको अवस्थामा छौं,’ जर्मन टिमका प्रशिक्षक हान्सी फ्लिकले भने, ‘अन्तिम १६ मा छनोट हुन हामीले खेल जित्नैपर्ने अवस्था छ । त्यसको लागि तयार छौं । हामीले जापानसँग नराम्रो खेलेको होइन । हामीले २५–२६ पल्ट आक्रामण गरेका थियौं । तर, धेरै अवसर गुमायौं र एक गोलमात्रै भयो । गोल नखानुपर्ने पनि थियो । ती गल्तीहरू सुधारेर स्पेनलाई अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’ उनले पहिलो रोजाइको टिममा केही परिवर्तन गर्ने अनुमान गरिएको छ ।

उनका समकक्षी लुइस एनरिकेले भने, ‘हामीले पहिलो खेलमा राम्रो प्रदर्शन गरेका छौं र सात गोल पनि गर्‍यौं । त्यस्तै राम्रो प्रदर्शन जर्मनीविरुद्ध पनि गर्नेछौं । जापानविरुद्ध हारे पनि जर्मनीविरुद्ध सचेत भएर खेल्नेछौं । किनिक जर्मनी बलियो टिम हो र उसले ठूला अवसरमा सधैं राम्रो गर्ने गरेको छ ।’ नयाँ जाभीका चर्चित १८ वर्षीय गाभीले कोस्टारिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । युरोमा पनि लोभलाग्दो खेलेका उनले कोस्टारिकाविरुद्ध गरेको गोल जारी विश्वकपका उत्कृष्ट गोलमध्ये एक हो । उनलाई रोक्न जर्मन डिफेन्सले भरपुर शक्ति लगाउनुपर्नेछ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?