१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इंग्ल्यान्डको फितलो प्रदर्शन

दोहा — उपाधिविहीन यात्रालाई ५६ वर्षमा पूर्णविराम लगाउने लक्ष्यसहित कतार ओर्लिएको फुटबलको जन्मदाता इंग्ल्यान्डले कठिन संघर्षपछि अमेरिकालाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ । 

इंग्ल्यान्डको फितलो प्रदर्शन

खेल जित्न असफल भएपछि युरो कप उपविजेताले एक खेलअगावै नकआउट चरणमा पुग्ने पहिलो टिम बन्ने अवसर गुमायो ।

पहिलो खेलमा इरानविरुद्ध ६–२ को सानदार जित निकालेको इंग्ल्यान्डले अल खोरस्थित अल बायत रंगशालामा निकै फितलो प्रदर्शन गरेको थियो । प्रिमियर लिगका स्टार खेलाडीहरू सुस्त देखिए । इंग्ल्यान्डको डिफेन्सलाई अमेरिकी खेलाडीले पूरा खेलभर दबाबमा राख्यो । सन् १९६६ मा घरेलु भूमिमा भएको विश्वकपको च्याम्पियन इंग्ल्यान्डको प्रदर्शन बराबरीका लागि खेलेजस्तै थियो ।

अमेरिकाले २६ औं मिनेटमा अग्रता लिने अवसर पाएको थियो । तर, टिमोथी वेहको आकर्षक क्रसमा पेनाल्टी क्षेत्रमा अनमार्क वेस्टन म्याकेन्नीको प्रहार सटिक भएन । उनले प्रहार पोस्टमाथिबाट बाहिरियो । कप्तान क्रिस्टियन पुलिसिचको ३३ औं मिनेटको सशक्त प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा अमेरिका फेरि अग्रता नजिक पुगेर रोकिएको हो ।

प्रशिक्षक गारेथ साउथगेटले दोस्रो हाफमा ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन र मार्कस रासफोर्डलाई मैदानमा उतार्दै आक्रामणमा केही सुधार गरे पनि त्यो प्रयास एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न पर्याप्त भएन । चार वर्षअघि रुसमा सेमिफाइनल खेलेको तथा गत वर्ष युरोपियन च्याम्पियनसिप फाइनलमा पुगेको इंग्ल्यान्डलाई अब समूह चरण पार गर्न वेल्सविरुद्धको खेल निर्णायक हुनेछ ।

पहिलो खेल वेल्ससँग १–१ को बराबरीमा टुंग्याएको अमेरिकाले लगातार दोस्रो बराबरीसँगै विश्वकपमा इंग्ल्यान्डविरुद्धको अपराजित यात्रा भने कायम राख्यो । सन् १९५० को संस्करणमा इंग्ल्यान्डमाथि १–० को नसोसचएको जित हात पारेको अमेरिकाले १२ वर्षअघि भएको समूह चरणको भेट १–१ मा टुंग्याएको थियो ।

अमेरिकाले विश्वकपको समूह चरणका पछिल्ला सातमध्ये छैटौं खेलमा बराबरी नतिजा निकालेको हो । अमेरिकाले समूह चरणको अन्तिम खेलमा राजनीतिक रूपमा चिसो सम्बन्ध रहेको इरानविरुद्ध खेल्नेछ ।

शुक्रबारै नाटकीय खेलमा वेल्सलाई २–० हराएर इरानले अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायम राखेको थियो ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?