२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आयोजक कतार बाहिरियो

एएफपी

दोहा — कतार औपचारिक रूपमै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कतार शुक्रबार सेनेगलसँग ३–१ ले पराजित भएको थियो । नेदरल्यान्ड्स र इक्वेडरबीचको अर्को खेल १–१ को बराबरीमा रोकिएपछि आयोजक कतार समूह चरणको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो । 

कतारले लगातार दोस्रो हार भोग्यो । पहिलो खेलमा टोलीलाई इक्वेडरले २–० ले पराजित गरेको थियो । विश्वकपको आयोजक राष्ट्र पहिलो चरणबाटै बाहिरिने कतार दोस्रो राष्ट्र बन्यो । २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजना गरे पनि टोली दोस्रो चरणमा पुग्न सकेको थिएन । इक्वेडरसँग बराबरीमा रोकिएपछि नेदरल्यान्ड्सले कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने मौका गुमाएको थियो । नेदरल्यान्ड्सले यो खेल जितेको भए लगातार दोस्रो खेल जित्दै अन्तिम १६ मा पुग्ने थियो । कोडी गाक्पोले लगातार दोस्रो खेलमा गोल गरेपछि नेदरल्यान्ड्सले सुरुमै अग्रता लिएको थियो । तर दोस्रो हाफमा इनर भ्यालेन्सियाको गोलमा इक्वेडरले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो । यस विश्वकपमा भ्यालेन्सियाको तेस्रो गोल हो ।

ब्राजिल विजयी

रिचार्लिसनको दुई गोलसँगै ब्राजिलले बिहीबार राति सर्बियामाथि २–० को जित निकालेको थियो । उनले ७३ औं मिनेटमा गरेको दोस्रो गोल यो विश्वकपकै एक उत्कृष्ट गोल हो । भिनिसियस जुनियरको पास नियन्त्रण गर्दै उनले ‘बाइसाइकल किक’ बाट आकर्षक गोलमा गरेर ब्राजिलको जित सुनिश्चित गरेका थिए । ब्राजिलले गोलको खाता खोल्न भने ६२ औं मिनेट कुर्नुपर्‍यो । जुनियरको प्रहार गोलकिपर भान्जा मिलिनकोचि–साभिचले रोकेको बललाई नजिकै पुगेका रिचार्लिसनले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलमा युवा स्टार नेयमर घाइते भएका थिए । उनले अर्को खेल गुमाउने सम्भावना बढेको छ ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?