३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कतार चाहँदैन ‘दागी कीर्तिमान’

पराजित भए आयोजकका रुपमा कतार सबैभन्दा चाँडै प्रतियोगिताबाट बाहिरिने खराब कीर्तिमान बन्नेछ
एएफपी

दोहा — कतार प्रशिक्षक फेलिक्स सान्चेजलाई विश्वास छ, कतार सेनेगलविरुद्ध हुने खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सफल हुनेछ । अन्यथा तय छ आयोजकको नाममा विश्वकप इतिहासकै दागी कीर्तिमान बन्नेछ । शुक्रबार हुने खेलमा पनि पराजित हुने हो भने आयोजकका रूपमा सबैभन्दा चाँडै प्रतियोगिताबाट बाहिरिने कीर्तिमान हुनेछ ।

कतार चाहँदैन ‘दागी कीर्तिमान’

सन् २०१० मा दक्षिण अफ्रिका पनि समूह चरणबाटै बाहिरिएको थियो । तर समूह चरणको अन्तिम तेस्रो खेलसम्म अफ्रिकाको चुनौती बाँकी थियो ।

एसिया कपको डिफेन्डिङ च्याम्पियन कतार इक्वेडरसँग आफ्नो पहिलो खेलमा २–१ ले पराजित थियो । त्यसमा कतारको प्रदर्शन निकै कमजोर रह्यो । यसक्रमा आयोजक देशको नाममा पहिलो खेलमै पराजित हुने इतिहास बनेको थियो । प्रशिक्षक सान्चेज के पनि मान्छन् भने उनका कतारी खेलाडी यस परिस्थितिबाट मुक्त हुन सक्षम छन् र अफ्रिकी च्याम्पियन प्रतिद्वन्द्वी सेनेगलविरुद्ध आफ्नो वास्तविक खेल प्रदर्शन पूर्णतः सक्षम हुनेछन् ।

प्रशिक्षक सान्चेजले बिहीबार आयोजित पोस्टम्याच कन्फ्रेन्समा भने, ‘पहिलो खेलमा जुन प्रकारको अपार दबाब थियो, अब त्यो रहेन । हामी सबै खाले दबाबबाट मुक्त भएका छौं । अब हामी प्रतिस्पर्धामा उत्रन तयार छौं र आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुनेछौं । हाम्रो प्रदर्शन पहिलो खेलको तुलनामा राम्रो हुनेछ । हामीले आफूलाई सिद्ध गर्न आक्रामक हुन आवश्यक छ । यो स्वाभाविक खेल हुनेछ । त्यसपछि के हुनेछ, त्यो हेर्नलायक हुनेछ ।’

डिफेन्डर इस्माइल मोहम्मदले आफ्ना समर्थकलाई एक खेलपछि नै कतारको चुनौती समाप्त भएको नमान्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘पहिलो खेलमा जे जस्तो भयो, त्यो इतिहास भयो । अब हामी नयाँ ताजा यात्रा सुरु गर्दैछौं र अबको खेलका लागि तयारी गर्दैछौं । मलाई के पनि विश्वास छ भने हाम्रो टिम सही बाटोमा छ । त्यसैले अबको खेलमा हामी राम्रो गर्न सक्षम हुनेछौं । सेनेगलविरुद्धको खेलमा हामी आफूले सक्दो दिनछौं ।’

मोहम्मदले आफ्ना एसियाली दुई समकक्षी साउदी अरेबिया र जापानको प्रदर्शनप्रेरित रहने बताए । साउदी अरेबियाले अर्जेन्टिना र जापानले जर्मनीलाई हराएको थियो । उनले थपे, ‘साउदी टिमको प्रदर्शनमा हामीलाई केही ईर्ष्या पक्कै पनि लागेको छ । तर, यो हाम्रो लागि प्रेरणा रहेको छ । यो खेल हाम्रो लागि सबथोक रहनेछ ।’ प्रशिक्षक सान्चेजले विश्वकपमा आफ्नो टिमको प्रदर्शन जस्तोसुकै रहे पनि समग्रमा कतारको फुटबलको भविष्य भने स्वर्णिम रहेको दाबी गरे ।

उनले कतारी फुटबलले लामो बाटो तय गर्ने बताए । उनले थपे, ‘हामीसँग भविष्यका लागि धेरै योजना छन् । यी दूरगामी योजना हुन् । त्यसैले मलाई पूरा विश्वास छ, विश्वकपपछि पनि कतारले फुटबलमा सुधारको काम गरिरहने छ र यससँगै टिमको प्रदर्शनमा पनि उत्तिकै सुधार आउनेछ । कतारले यसतर्फ अग्रसरता देखाएको छ, त्यसैले आफूलाई सिद्ध गरेको छ । मलाई लाग्छ, विश्व फुटबलमा यो जहाँ त्यहीं जहिले पनि देख्न पाइन्न ।’

प्रकाशित : मंसिर ९, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?