२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
विश्वकप २०२२

रिचार्लीसनको दुई गोलमा ब्राजिलले सर्वियालाई २–० ले हरायो

राजु घिसिङ

दोहा — रिचार्लीसनको दुईसँगै ब्राजिलले लुसेल रंगशालामा बिहीबार सर्वियामाथि २–० को जित दर्ता गर्दै विश्वकप २०२२ मा उत्कृष्ट सुरुआत गरेको छ । रिचार्लीसनको दोस्रो गोल निकै उत्कृष्ट रह्यो ।

रिचार्लीसनको दुई गोलमा ब्राजिलले सर्वियालाई २–० ले हरायो

सबभन्दा बढी पाँचपल्टको विश्वकप विजेता ब्राजिल कतारी भूमिमा उपाधिको लागि सबभन्दा बलियो दाबेदार हो । उसले युरोपेली टिम सर्वियामाथि पूरा समय आक्रामक खेल प्रदर्शन गऱ्यो । सुरुबाट अन्तिमसम्मै श्रृंखलाबद्ध आक्रमण गरेको ब्राजिलले गोलको खाता खोल्न भने ६२ औं मिनेट कुर्नुपऱ्यो ।

भुनिसियस जुनियरको प्रहार गोलकिपर भान्जा मिलिनकोची–साभिचले रोकेको बललाई नजिकै पुगेका रिचार्लीसनले गोलमा परिणत गर्दै अग्रता ब्राजिललाई ६२ औं मिनेटमा अग्रता दिलाए । त्यसअघि ६० औं मिनेटमा एलेक्स सान्ड्रोले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो ।

रिचार्लीसनले ७३ औं मिनेटमा गरेको दोस्रो गोल यो विश्वकपकै एक उत्कृष्ट गोल गर्दै ब्राजिललाई २–० ले अगाडि बढाए । भुनिसियसको पासमा नियन्त्रण गरेको बललाई ‘बाइसाइकल किक’ हान्दै सुन्दर गोलमा परिणत गरी ब्राजिलको जित निश्चित गरेका थिए । २५ वर्षीय उनको अन्तर्राष्ट्रिय प्रतियोगितामा १९ औं गोल हो यो ।

प्रशिक्षक टिटेले रिचार्लीसनलाई ७९ औं मिनेटमा निकाल्दै ग्याब्रियल जेससलाई खेलाएका थिए । लगत्तै घाइते भएका नेयमरको स्थानमा एन्टोनीलाई मैदानमा पठाएका थिए । ब्राजिल तेस्रो गोलको नजिक पनि पुगेको थियो । तर, कासेमिरोले ८१ औं मिनेटमा सशक्त रुपमा प्रहार गरेको बल क्रसबारमा लागेको थियो ।

व्यक्तिगत क्षमताको आधार राम्रै टिम रहेको सर्विया ब्राजिली खेलाडीको आक्रामक प्रदर्शनलाई रोक्ने क्रममा आफ्नै क्षेत्रमा सीमित रह्यो । एक घन्टासम्म ब्राजिललाई रोकेपनि संगठित डिफेन्सलाई त्यसपछि पनि उस्तै लयमा राख्न सकेन । सर्वियाले पूरा खेलमा गोलको कुनै सहज अवसर बनाउन सकेन ।

आजै भएको समूह ‘जी’ को पहिलो खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको थियो । ब्राजिल र सर्वियाको खेलसँगै २२ औं विश्वकपमा समूहमा पहिलो चरणको खेल पूरा भयो । अब ब्राजिलले नोभेम्बर २८ मा स्वीट्जरल्यान्ड र डिसेम्बर २ मा क्यामरुनविरुद्ध खेल्ने छ ।

पछिल्लोपल्ट सन् २००२ मा च्याम्पियन भएको ब्राजिलले पछिल्ला दस संस्करणमा समूह चरणको शीर्षस्थानमा रहेको थियो । उसले विश्वकपको पहिले खेलमा अपराजित यात्रालाई २० औं खेलमा पुऱ्याएको हो र यस क्रममा १७ औं जित हात पारेको हो ।

प्रकाशित : मंसिर ९, २०७९ ०३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?