रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमाञ्चक जित- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
विश्वकप २०२२

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमाञ्चक जित

राजु घिसिङ

दोहा — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपका पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनकै पेनाल्टी गोलको सहयोगमा पोर्चुगलले दोस्रो हाफमा ५ गोल भएको सनसनीपूर्ण खेलमा बिहीबार अफ्रिकी मुलुक घानालाई ३–२ ले पराजित गर्दै विश्वकप २०२२ मा सुखद सुरुआत गरेको छ

कन्टेनरले बनाइएको ९७४ रंगशालामा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै ६५ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए, जसले उनलाई विश्वकपका पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनायो । यसअघि उनले सन् २००६ (जर्मनी), २०१० (दक्षिण अफ्रिका), २०१४ (ब्राजिल) र २०१८ (रुस) मा गोल गरेका थिए । उनले चार संस्करणमा गोल गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसी, जर्मनीका मिरोस्लाभ क्लोज, ब्राजिली लिजेन्ड पेले र जर्मनीका उवे सिलरलाई उछिन्दै कीर्तिमान बनाएका हुन् ।

घानाविरुद्धको गोल विश्वकपमा रोनाल्डोको आठौं गोल हो । यसक्रममा १८ खेल खेलेका उनले विश्वकपको पहिलो गोल पनि पेनाल्टीमै गरेका थिए । उनले इरानविरुद्ध २–० को जितमा उक्त गोल गरेका थिए । ३७ वर्षीय उनी पुरुषको अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलकर्ता पनि हुन् । उनले १ सय १८ गाल गरेका छन् । युरो २०१६ को उपाधि विजेता उनी सम्भवत अन्तिमपल्ट विश्वकप खेल्दै छन् र यसमा उनी स्टार खेलाडीले भरिएको आफ्नो टिमलाई विश्वविजेता बनाउन चाहन्छन् ।

समकक्षी कप्तान आन्द्रे आयवले ७३ औं मिनेटमा गोल गर्दै घानालाई १–१ को बराबरीमा पुऱ्याएका थिए । जाओ फेलिक्सले उत्कृष्ट फिनिसिङ गर्दै ७९ औं मिनेटमा पोर्चुगललाई २१ ले अगाडि बढाए । राफेल लियोले सेकेन्ड बार च्याप्दै ८० औं मिनेटमा गोल गरेपछि पोर्चुगलले ३–१ ले अघि बढ्दै जितउन्मुख भएको थियो । दुवै गोलमा ब्रुनो फर्नान्डेजले बल उपलब्ध गराएका थिए ।

दुई गोलले पछाडि परेपनि युरोपेली क्लबमा आबद्ध खेलाडीले भरिएको घानाले संघर्ष गर्न छाडेन । ओसमन बुकारीले ८९ औं मिनेटमा गोल गर्दै ‘ब्ल्याक स्टार्स’ को अंक जाड्ने आशालाई कायमै राखेका थिए । घानाले नौ मिनेट थपिएको इन्ज्युरी समयको अन्तिम क्षणमा बराबरी गर्ने अवसर पनि पायो । तर, पेनाल्टी क्षेत्रमा इनाकी विलियम्सले प्राप्त अवसरमा प्रहार गर्न सकेनन् । गोलकिपर डिएगो कोस्टाबाट बल खोसेर पनि प्रहार गर्ने बेला विलियम्स चिप्लिएपछि घानाको अंक जोड्ने चाहना अधुरै रह्यो ।

यसअघि एजुकेसन सिटी स्टेडियममा आजै भएको समूह एच को पहिलो खेलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित खेल्दै अंक बाँडेका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ ००:३८
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

डम्बरसिं राई

खोटाङ — नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

बिहीबार मध्यराति सार्वजनिक मत परिणाम अनुसार किराती २ हजार ३८५ मतान्तरसहित विजयी बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राईले २६ हजार १९३ मत ल्याएका छन् । किराती २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस समयमा उनी नेकपा एमालेसँगको गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित : मंसिर ९, २०७९ ००:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×