जिरोडले गरे कीर्तिमान बराबरी- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार

जिरोडले गरे कीर्तिमान बराबरी

एएफपी

दोहा — ओलिभर जिरोडले सबैभन्दा बढी गोल गर्ने थिएरी हेनरीको कीर्तिमान बराबरी गरेको खेलमा विश्व च्याम्पियन फ्रान्सले मंगलबार राति अस्ट्रेलियालाई ४–१ ले पराजित गर्‍यो । क्राएग गुडविनको गोलमा अस्ट्रेलियाले नवौं मिनेटमा अल जनाब रंगशालामा आश्चर्यजनक अग्रता लियो ।

विश्वकप सुरु हुनुअघि नै एनगोले कान्टे, पाउल पोग्बा, करिम बेन्जेमा जस्ता महत्त्वपूर्ण खेलाडी गुमाइसकेको फ्रान्सले अस्ट्रेलियाको अग्रतासँगै घाइते भएका लुकास हर्नान्डेजलाई पनि गुमाउन पुग्यो ।

एड्रियन रेबियोटको गोलमार्फत फ्रान्सले २७ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । जिरोडले फ्रान्सलाई ३२ औं मिनेटमा २–१ को अग्रता दिलाए । यो उनको ५० औं अन्तर्राष्ट्रिय गोल थियो । केलियन एमबाप्पेले ६८ औं मिनेटमा गरेको गोलमा विजयतर्फ अगाडि बढेको फ्रान्सका लागि त्यसको तीन मिनेटपछि जिरोडले गोल गर्दै सर्वाधिक ५१ गोल गरेको हेनरीको कीर्तिमान बराबरी गरे । एसी मिलानबाट खेल्ने ३६ वर्षे जिरोडले फ्रान्सका लागि १ सय १५ क्याप जितिसकेका छन् । यसक्रममा उनी फ्रान्सबाट विश्वकपमा गोल गर्ने सबैभन्दा पाका खेलाडी भए । बेन्जेमा फिट भएको भए चार वर्षअगाडि फ्रान्सलाई विश्वकप जिताउँदाका महत्त्वपूर्ण सदस्य जिरोडले प्लेयिङबाट खेल्ने सम्भावना कम थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

रौतहट-३ (१) मा स्वतन्त्र उम्मेदवार चौधरी विजयी  

शिव पुरी

रौतहट — रौतहटको क्षेत्र नम्बर ३ (१) का लागि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार केशवराय चौधरी १२ हजार २ सय ५५  मत ल्याई विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी जसपाकी पूजा चौधरीलाई २ हजार १ सय २३ मतान्तरले पराजित गरेका हुन् ।  

निर्वाचन कार्यालय कटहरियाका अनुसार जसपाका उम्मेदवार पूजाले १० हजार १ सय ३२ मत प्राप्त गरिन् । थारु बाहुल्य रहेको यो क्षेत्रमा थारुको मत निर्णायक हुने गरेको छ ।

विजयी भएका चौधरी गएको स्थानीय तहमा एकीकृत समाजवादीको तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार थिए । उनी जसपाका सन्तलाल चौधरीसित पराजित भए । समाजवादीका स्थानीय तह नेता रहेका केशव पार्टी छाडेर एमाले प्रवेश गरेका थिए ।

एमाले जसपा गठबन्धनमा उनको क्षेत्र जसपाको भागमा परेपछि पूजाले टिकट हात परिन् । र चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिए । चारवटा क्षेत्रमा रहेको रौतहटमा प्रदेशसभाको ८ वटा सिटमध्ये यस अघि ३ जना प्रदेशसभा सदस्यमा विजयी भइसकेका छन् । मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश मात्रृका मरासिनीले प्रतिनिधिसभा र प्रदेशको मतगणना भइरहेको बताए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×