कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जापानसँग जर्मनी स्तब्ध

जापानका प्रशिक्षक भन्छन्– धेरै जर्मन मानिस, उत्कृष्ट खेलाडी र प्रशिक्षकहरूले जापानी फुटबललाई सहयोग गरेका छन् । आज हामीले जित्यौं । जस्तो भए पनि जापानले जर्मनीबाट निरन्तर सिक्ने छ र विश्वमा खेल्नेछ ।
राजु घिसिङ

दोहा — पहिलोपल्ट खाडी क्षेत्रमा आयोजित विश्वकपको उद्घाटन खेलमै आयोजक कतारलाई दक्षिण अमेरिकी देश इक्वेडरले २–० ले हराएको थियो । उद्घाटनमै हार्ने पहिलो आयोजक बने पनि कतारको विश्वकप डेब्यु हो यो । त्यसैले कतारको हारलाई अप्रत्याशित मान्ने कुरा भएन ।

जापानसँग जर्मनी स्तब्ध

तर, तेस्रो दिन साउदी अरेबियाले लियोनल मेसीको टिम अर्जेन्टिनालाई २–१ ले स्तब्ध पार्‍यो । चौथो दिन बुधबार अर्को सनसनीपूर्ण नतिजा दिने काम गर्‍यो जापानले । उसले चारपल्टको विश्वकप विजेता जर्मनीलाई २–१ ले हरायो । अन्तर्राष्ट्रिय फुटबलमा जापानले जर्मनीलाई पहिलोपल्ट पराजित गरेको हो, जसलाई विश्वकपको युगौंयुग सम्झिने खालको एउटा अनपेक्षित नतिजा मानिएको छ ।

इकाय गुन्डोगनको पेनाल्टी गोलमा पहिलो हाफमै अग्रता लिएको जर्मनी खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आक्रामक खेलिरहेको थियो । उनले पेनाल्टीमा गोलकिपर सुइची गोन्डालाई अर्कोतिर डाइभ गर्न लगाउँदै सहजै गोल गरेर ३३ औं मिनेटमा जर्मनीलाई अगाडि बढाए । गोन्डाले डेविड रमलाई फाउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो । पछिल्लोपल्ट ब्राजिलमा २०१४ मा विश्वकप जितेको टिमका गोलकपिर म्यानुयल नोय र अग्रपंक्तिमा प्रभावशाली थोमस मुलरलाई पहिलो रोजाइमा उतारेको जर्मन टिमले त्यसपछि आक्रामणको शृंखला नै बनायो । तर, गोल थप्न सकेन । साह्रै कमजोर देखिएको जापानी टिमले बेलाबेला काउन्टरमा बल जर्मन गोलपोस्टसम्म पुर्‍याएको थियो । तैपनि बाजागाजासहित रंगीन रूपमा आएका जापानी समर्थक ‘निप्पोन निप्पोन’ भन्दै हुटिङ गरेर टिमको मनोबल बढाइरहेका थिए ।

दोस्रो हाफमा पनि जर्मनी उस्तै आक्रामक रूपमा उत्रियो । बल पूर्णतः जर्मनीकै कब्जामा रह्यो । बायर्न म्युनिकका ८ र बोरुसिया डर्टमन्डका ५ खेलाडी लिएर आएको जर्मनीको संगठित खेलसामु जापानी खेलाडी निरीह नै देखिएका थिए । यसबीच गुन्डोगनको प्रहारमा बल गोलपोस्टमा लागेर बाहिरियो । यस्तै थुप्रै अवसर बनाए पनि जर्मनी दोस्रो गोलको खोजीमा संघर्षरत नै रह्यो । दोस्रो हाफमा प्रशिक्षक हाजिमे मोरियसुले जर्मनीलाई रोक्न गाह्रो भएपछि पाँच खेलाडी परिवर्तन गरे । त्यसैले अन्त्यतिर जर्मनीमाथि जापान काउन्टरमा खतरनाक देखिन थाल्यो । उनीहरूले स्विपर किपर नोयलाई झस्काउन थाले ।

गोलकिपर गोन्डाले ६९ औं मिनेटमा सेर्गे जिनाब्री र जोनास होफम्यानको लगातार प्रहारमा उत्कृष्ट बचाउ गर्दै खेलमा फर्किने जापानको आस कायमै राखे । अर्कोतिर जुना इतोले प्रहार गरेको बल जर्मन कप्तान नोयले फर्काए र त्यही रिबाउन्डमा पाएको बललाई रित्सु डोआनले ७५ औं मिनेटमा जाली चुमाउँदै जापानलाई १–१ को बराबरीमा पुर्‍याए । बल पोसेसन र जर्मन टिमको प्रदर्शन हेर्दा अनपेक्षित मानिएको उक्त गोलको खुसीयाली जापानी टिम र समर्थकले खुबै मनाए ।

ताकुमा आसानोले ८३ औं मिनेटमा सनसनीपूर्ण गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए । उनले डिफेन्डर सलटरबेकलाई उछिन्दै गोलकिपर नोय रहेकै क्षेत्रमा उत्कृष्ट फिनिसिङ गरी निर्णायक गोल गरेका हुन् । त्यसपछि पनि जर्मनीले अवसर बनाएको थियो तर बुन्डेसलिगा र प्रिमियर लिगका स्टार खेलाडीले उपयोग गर्न सकेनन् । त्यसैले जर्मनीले विश्वकपमा लगातार दुई खेल हार्न पुग्यो ।

एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै ३ अंक दिलाएका डोआन र आसानो जर्मन क्लबबाटै व्यावसायिक फुटबल खेल्छन् । यी दुवै खेलाडी सब्स्टिच्युटको रूपमा दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । जापानका यो विश्वकपमा सहभागि २२ मध्ये सात खेलाडी जर्मनीको बुन्डेसलिगा क्लबमा अनुबन्धित छन् । त्यसैले पनि जर्मनीमाथि जापानको जित विशेष रह्यो । चार वर्षअघि अन्तिम १६ मा बेल्जियमविरुद्ध २–० को अग्रता लिएर पनि बेल्जियमविरुद्ध इन्ज्युरी समयको गोलमा ३–२ ले हारेको जापानले अब समूह चरणमा कोस्टारिका र स्पेनविरुद्ध खेल्नेछ । लगातार सातौंपल्ट विश्वकपमा सहभागी जापानलाई नकआउट प्रवेशका लागि जर्मनीविरुद्ध हात पारेको ३ अंक महत्त्वपूर्ण हुनेछ ।

जर्मनीले समूह ई मा सन् २०१० को च्याम्पियन स्पेनविरुद्ध आइतबार खेल्नेछ । त्यसपछि कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जापानविरुद्धको अनपेक्षित हारले जर्मनी नकआउट चरणमा प्रवेश गर्नका लागि समूहका बाँकी दुई खेल जित्नैपर्ने बाध्यताबाट गुज्रिएको छ । बल पोसेसन ७१–२९ को अवस्था बनाएर पनि खेल जित्न नसक्नुले उसलाई कठिन परिस्थितिमा धकेलेको छ ।

डिफेन्डिङ च्याम्पियनको रूपमा रुस (सन् २०१८) पुगेको जर्मनी विश्वकपको पहिलो खेलमै मेक्सिकोसँग १–० ले हारेको थियो । दोस्रो खेलमा स्विडेनलाई पराजित गरेको जर्मनीलाई अन्तिम खेलमा दक्षिण कोरियाले २–० ले स्तब्ध पार्दै समूह चरणबाटै घर फर्काइदिएको थियो । त्यसैले अर्को एसियाली टिम जापान चारपल्टको विश्वकप विजेता जर्मनीलाई लगातार दुई हार चखाउने टिम बन्यो ।

‘यो ऐतिहासिक क्षण हो र नतिजाले सबै बताउँछ,’ प्रशिक्षक मोरियसुले भने, ‘मैले जापानी फुटबलको विकास सोचिरहेको छ भने हामी अगािड बढिरहेका छौं र खेलाडीहरू बाहिरी लिगमा गइरहेका छन् । मेरो विश्वासमा जापानी टिमको यो स्तरको क्षमता विकासमा त्यही लिगको योगदान छ । यसमा कृतज्ञ छु र सम्मान गर्नुपर्छ । तर, विपक्षी जो भए पनि वास्ता छैन, जित्नकै लागि खेल्नुपर्छ । धेरै जर्मन मानिसहरू, उत्कृष्ट खेलाडीहरू र प्रशिक्षकहरूले जापानी फुटबललाई सहयोग गरेका छन् । आज हामीले जित्यौं । जस्तो भए पनि जापानले जर्मनीबाट निरन्तर सिक्ने छ र विश्वमा खेल्नेछ ।’

निर्णायक गोलकर्ता असानोले भने, ‘सपना पूरा भएको छ । हामीलाई थाह थियो कि हामी केही गर्न सक्छौं । यस्तै खालको सपना बुनेका थियौं । हामीले साउदी अरेबियाको खेल हेरेका थियौं र हामी पनि त्यस्तै गर्न सक्छौं भन्ने सोचेका थियौं । र, गर्‍यौं पनि ।’ जापानले सन् २०११ म यही खलिफा रंगशालामा भएको फाइनलमा अस्ट्रेलियालाई हराएर एसियन कप जितेको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?