अर्थपूर्ण मौनतामा नेयमार

ब्राजिली प्रशिक्षक टिटेसामु पहिलो खेलमा सबै खेलाडी ठीकसँग उपलब्ध
एपी

दोहा — विश्वकपका लागि कतार आएयता नेयमरले केही पनि बोलेका छैनन् । खासमा उनलाई बोल्नु आवश्यक छैन । यस्तो किनभन्दा विश्वकपलाई लिएर उनको जे जस्तो नियत छ, त्यो खुलस्त छ ।

अर्थपूर्ण मौनतामा नेयमार

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टारले हालै सामाजिक सन्जालमा एक तस्बिर राखेका छन् । त्यसमा कतार उड्न लागेका नेयमरले आफ्नो पोसाकमा छ तारा देखाएका छन् । यसको संकेत हो, ब्राजिलले छैटौंपल्ट विश्वकप जितोस् भन्नु नै न हो ।

दक्षिण अमेरिकी टिमका फरवार्ड रिचार्लिसन भन्छन्, ‘यो त हामी सबैको सपना हो । नेयमरले किन यस्तो तस्बिर राखे भने यो उनको पनि सपना हो । उनी जित्न चाहन्छन् । त्यसका लागि उनी आफूले सक्दो गर्न तयार छन् । उनी जे गर्न चाहन्छन्, गर्न सक्छन् । नेयमर खुसी भएमा हामी पनि खुसी हुनेछौं । यो नै हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’ खासमा यो ब्राजिली टिमकै भावना हो । सबैलाई थाहा छ, नेयमरको लय र मानसिक स्थितिले धेरै हदसम्म ब्राजिलको यात्रा तय गर्नेछ ।

ब्राजिलले बिहीबार विश्वकपमा आफ्नो पहिलो खेल खेल्दै छ । प्रतिद्वन्द्वी छ सर्बिया । यो यस्तो विपक्षी टिम हो, जसले विश्व फुटबलको माथिल्लो स्तरमा अहिलेसम्म खासै केही गरेको छैन । अहिले नेयमर लयमा छन्, उनमा चोटको समस्या छैन । सन् २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमको हातबाट क्वाटरफाइनलमा पराजित हुँदा नेयमर घाइते थिए । उनीबारे एउटै मात्र समस्या छ । त्यो हो, उनी ढिला मात्रै इटालीको टुरिन पुगे ।

टुरिनमा ब्राजिलले आफ्नो प्रशिक्षण केन्द्र बनाएको थियो, तर नेयमर विमान यात्राको तालिकामा समस्या हुँदा त्यहाँ समयमै पुग्न सकेनन् । ब्राजिली प्रशिक्षक टिटेसामु टिमको पहिलो खेलमा सबै खेलाडी ठीकसँग उपलब्ध हुनेछन् । उनले एउटै प्रश्नको उत्तर खोज्नुपर्नेछ, नेयमरसँगै मिडफिल्डर लुकास पाक्वेटालाई खेलाउने हो कि आक्रामक मनस्थितिका भिनिसियस जुनियरलाई उतार्ने हो ? अहिलेसम्म नेयमरले ब्राजिलका लागि ७५ गोल गरिसकेका छन् ।

उनले थप दुई गोल गर्ने हो भने पेलेको नाममा रहेको कीर्तिमान बराबर हुनेछ । त्यसमाथि नेयमरका लागि भाग्य भनौं वा के उनले विश्वकप जस्तो प्रतियोगितामा यो कीर्तिमान बराबरी गर्नेमात्र होइन, त्यसलाई उछिन्ने अवसर पनि छ । संयोग भनौं, विश्वकप आफैं त्यो देश कतारमा भइरहेको छ, जसले उनको क्लब पीएसजीमा लगानी गरेको छ । पीएसजीमा उनलाई भित्र्याउन पनि कतारले कीर्तिमान २३ करोड डलर खर्चेको थियो ।

स्वतन्त्र देशको पहिचान पाएयता सर्बिया चौथोपल्ट विश्वकप खेलिरहेको छ र अहिलेसम्म उसले एकैपल्ट मात्र समूह चरण काटेर अगाडि बढेको छ । पाँचपल्ट प्रयास गर्दा पनि यो टिम अहिलेसम्म युरोमा छनोट हुन सकेको छैन । अहिलेको सर्बियाली टिममा तिनै खेलाडीको बाहुल्य छ, सन् २०१५ जसले यू–२० विश्वकपको फाइनलमा ब्राजिललाई हराएर उपाधि जित्दा खेलेका थिए । यही टिमले त्यसको दुई वर्षअघि यू–१९ युरोको फाइनलमा पनि फ्रान्सलाई हराएको थियो ।

एलेक्जान्डर मिट्रोभिच, सेर्गेज मिलिनोकोभिच–साभिच, नेमन्जा माकसिमोभिच र आन्द्रेजिया जिभ्कोभिचले उमेर समूहको प्रतियोगितामा जस्तै सफलता पाए पनि त्यसलाई राष्ट्रिय टिममा भने भित्र्याउन सकेका छैनन् । सायद सर्बियाली टिमको सबैभन्दा ठूलो आस २२ वर्षीय सेन्टर फरवार्ड डुसान भ्लाहोभिचमा टिकेको छ, जसले फिओरेन्टिना र युभेन्ट्सका लागि पछिल्ला दुई सिजन सबैखाले प्रतियोगितामा गरेर ५० गोल गरेका छन् ।

यो महत्त्वपूर्ण प्रश्न, के सर्बियाली टिममा त्यस्तो रक्षापंक्ति पनि छ र, जसले ब्राजिलको विविधताले भरिएको आक्रमण रोक्न सक्छ । समूह ‘सी’ मा ब्राजिलका प्रतिद्वन्द्वीमा स्विट्जरल्यान्ड र क्यामरुन छन् । सर्बियाली प्रशिक्षक ड्रागन स्टोजकोभिच भन्छन्, ‘यो समूह वास्तवमै कठिन छ । हाम्रा लागि आफूलाई सिद्ध गर्ने यो राम्रो अवसर हो ।’ तर यही चुनौती ब्राजिलका लागि धेरै नहुन सक्छ, विशेषतः नेयमर जत्तिको खेलाडीका लागि ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?