कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
विश्वकप २०२२

कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल

राजु घिसिङ

दोहा — बार्सिलोनाका १८ वर्षीय मिडफिल्डर गावीको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनले कोस्टारिकालाई ७–० ले हराएर बुधबार विश्वकप २०२२ मा उत्कृष्ट सुरुआत गरेको छ ।

अल थुमामा रंगशालामा गावीको भली लोभलाग्दो रह्यो र उनले ७४ औं मिनेटमा गोल पनि गरे । स्पेनले आकर्षक पास खेल्दै निक्कै उच्चस्तरको फुटबल प्रदर्शन गऱ्यो । युवा र युरो २०२० को सेमिफाइनल पुगेको टिमका खेलाडीले भरिएको स्पेनी टिमको छोटो पास र सटिक आक्रामणसामु कोस्टारिका निरिह रह्यो । स्पेनको सात गोलमा सबभन्दा उत्कृष्ट गावीकै रह्यो । उनी ब्राजिली लिजेन्ड पेलेपछि विश्वकपमा गोल गर्ने दोस्रो कान्छो खेलाडी भए ।

सन् २०१० को विश्वकप विजेता स्पेनको फराकिलो जितमा ड्यानी ओल्मोले ११ औं मिनेटमै गोलको खाता खोलेका थिए । मार्को एसेन्सियोले २१ औं मिनेटमा अग्रता दोब्बर बनाए । फेरान टोरेसले दुई गोल गरे । उनले ३१ औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो पहिलो गोल गरे भने दोस्रो गोल ५४ औं मिनेटमा गरे । त्यसपछि गावीको निक्कै नै उत्कृष्ट गोल निस्कियो । कार्लोस सोरेसले ९० र अल्बारो मोराटाले इन्जुरी समयमा गोल गरेपछि स्पेनको ७–० को जित सम्भव भयो ।

यसअघि समूह ई को अर्को खेलमा जापानले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै चारपल्टको विश्वकप विजेता जर्मनीलाई खलिफा रंगशालामा २–१ ले हराएको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया
पठाउनुहोस्

जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

राजु घिसिङ

दाेहा — खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गाेल गर्दै जर्मनीलाई विश्वकप २०२२ काे पहलाे खेलमा २-१ ले पराजित गरेकाे छ।

चारपल्टकाे विश्वकप विजेता जर्मनीले लगातार दाेस्राेपल्ट विश्वकपकाे पहिलाे खेलमा हार बेहोरेको हाे । उसलाई रूसमा सन् २०१८ मा मेक्सकाेले १-०ले पराजित गरेकाे थियाे । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलाे जित रचेकाे हाे ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा इकाय गुन्डाेगनकाे पेनाल्टी गाेलमा जर्मनीले ३३ औं मिनेटमा १-० काे अग्रता लिएकाे थियाे ।

रित्सु डाेआनले रिबाउन्डमा गाेल गर्दै ७५ औं मिनेटमा १-१ काे बराबरीमा पुर्‍याएका थिए । ताकुमा आसानाेले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गाेलकर्ता सब्स्टच्युटकाे रुपमा मैदानमा प्रवेश गरेका हुन् ।

पहिलाे हाफमा आक्रामक प्रदर्शन गरेकाे जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गाेल गर्न सकेन । कमजाेर देखिएकाे जापानले पनि दुई अवसर पाएकाे थियाे तर उपयाेग गर्न सकेन । दाेस्राे हाफमा पनि जर्मनी बलियाे देखिएकाे थियाे । तर, फिनिसिङमा जापानी खेलाडी प्रभावशाली भए ।

प्रकाशित : मंसिर ७, २०७९ २१:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×