२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खराब प्रदर्शनबाट उक्सिने प्रयासमा जापानविरुद्ध भिड्दै जर्मनी

राजु घिसिङ

दोहा — चारपटकको विश्वकप विजेता जर्मनीले कतार संस्करणको पहिलो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा माया योसिडाले आठौं मिनेटमै बललाई पोष्टको दिशा दिए पनि रेफ्रीले अफसाइड दिए ।

खराब प्रदर्शनबाट उक्सिने प्रयासमा जापानविरुद्ध भिड्दै जर्मनी

जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरको हेडरमा बल १६ औं मिनेटमा पोष्टनजिकबाट बाहिरियो । जोसुआ किमिचको सशक्त प्रहारलाई २० औं मिनेटमा गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

जर्मन टिमको कप्तानी सन् २०१४ को च्याम्पियन टिमका गोलकिपर म्यानुएल नोयले सम्हालेका छन् भने त्यो उपाधि यात्रामा उत्कृष्ट प्रदर्शन गरेका फरवार्ड थोमस मुलर पनि छन् । चार वर्षअघि रुसमा भएको विश्वकपमा जर्मनीले डिफेन्डिङ च्याम्पियन भएर पनि बिर्सनलायक प्रदर्शन गरेको थियो ।

पहिलो खेलमै मेक्सिकोविरुद्ध हारेको जर्मनीले स्वीडेनविरुद्ध तीन अंक जोडे पनि जित्नैपर्ने दबाबमा रहेको अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध २–० ले हारेको थियो । कोरियाले दुवै गोल इन्ज्युरी समयमा गरेको थियो ।

त्यसैले जर्मनी विश्वकप इतिहासकै खराब प्रदर्शनलाई बिर्साउँदै जापानलाई हराएर खाडी मुलुकमा सुखद सुरुआत गर्न चाहन्छ । जर्मन महारथी बायर्न म्युनिखका आठ तथा बोरुसिया डर्टमुन्डका पाँच खेलाडी समावेश जर्मन टिमले रुसमाबाहेक उत्कृष्ट प्रदर्शन गरेको इतिहास छ । विश्वकपमा सबभन्दा बढी खेल खेल्ने टिम पनि जर्मनी नै हो र उसको जापानविरुद्धको खेल विश्वकपको ११० औं हो ।

चौथोपल्ट विश्वकपमा सहभागी नोय र मुलरसँगै एन्टोनियो रुडिगर, डेविड रम, सुल निकलस, निको स्कोटेरब्लक, जोसुआ किमिच, सर्गे गिनाब्री, जमल मुसियला, इकाय गुन्डोगन र काई हाभर्ज पहिलो रोजाईमा छन् ।

जापान चार वर्षअघि अन्तिम १६ सम्म पुगेको थियो, जहाँ २–० को अग्रता लिएर पनि बेल्जियमविरुद्ध ३–२ ले हारेको थियो । जापानले सन् २०११ म यही खलिफा रंगशालामा भएको फाइनलमा अस्ट्रेलियालार्य हराएर एसियन कपको उपाधि जितेको थियो । त्यसैले पनि जापान यहाँ जर्मनीलाई स्तब्ध पार्दै अगाडि बढ्न चाहन्छ ।

जापानी टिम युरोपेली लिगका खेलाडीले भरिएको छ । उसका २२ मध्ये सात खेलाडी जर्मनीको बुन्डेसलिगा खेल्छन् । गोलकिपर सुइची गोन्डा तथा कोउ इताकुरा, युतो नागातोमो, हिरोकी साकाई, कप्तान माया योसिडा, वातारु इन्डो, ताकेफुसा कुबो, जुनया इतो र दाइची कामादा पहिलो रोजाईमा उत्रिएका छन् । नागातोमो चौथोपल्ट विश्वकपमा खेलेका हुन् ।

लगातार सातौंपल्ट विश्वकपमा सहभागी जापानले जर्मनीविरुद्ध विश्व फुटबलको महाकुम्भमा पहिलोपल्ट खेल्न लागेको हो । जापानले विश्वकपमा युरोपेली टिमविरुद्ध समूह चरणमा पछिल्ला सातमध्इे दुई खेल मात्रै हारेको छ । दुई खेल जितेको थियो भने तीन खेल बराबरी गरेको थियो । यी दुई विगतमा दुईपल्ट आमनेसामने भएका छन्, जसमा एक खेल जर्मनीले जितेको थियो भने पछिल्लोपल्ट सन् २००६ मा भएको मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको थियो ।

समूह ई को अर्को खेलमा सन् २०१० को च्याम्पियन स्पेनले कोस्टारिकाविरुद्ध आजै खेल्ने छ ।

प्रकाशित : मंसिर ७, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?