अर्जेन्टिनामाथि साउदीको सनसनी- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

अर्जेन्टिनामाथि साउदीको सनसनी

लियोनल मेसीको पेनाल्टी गोलमा अग्रता लिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले पराजित
राजु घिसिङ

दोहा — स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र खाडी मुलुक साउदी अरेबियाको खेल स्थानीय समयअनुसार दिउँसो १ बजे सुरु हुने तोकिएको थियो । तर, कतारका मेट्रो, सार्वजनिक बस र सडकमा सेतो र आकासे नीलो रङको जर्सी लगाएका समर्थकले भरिएको थियो । उनीहरूको खुबै चहलपहल थियो । अर्जेन्टनी फुटबलमा गाउने गीत गाइरहेका थिए । नाचिरहेका देखिन्थे । उनीहरूले लुसेल रंगशालामा घण्टौंदेखि नै आफ्नो टिमको समर्थनमा हुटिङ र नाचगान गरिरहेका थिए ।

दोहाको माहोल हेर्दा लाग्थ्यो कि अर्जेन्टिनाले साउदी अरेबियालाई सजिलै हराउँछ । त्यो पनि राम्रै गोलअन्तरले । विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड बालोन डी’अर सातपल्ट जितेका मेसीले दोस्रो मिनेटमै प्रहार गरेको बलमा गोलकिपर मोहम्मद अवाइसले उत्कृष्ट बचाउ गर्दै साउदीको संकट टारेका थिए । तर, दसौं मिनेटमै मेसीले पेनाल्टीमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता लियो । त्यसैले पनि एसियामा शक्तिशाली भए पनि विश्वकपमा फितलो प्रदर्शन गर्दै आएको साउदीमाथि दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना हाबी हुने अपेक्षा थियो । पहिलो हाफमा अर्जेन्टिनाले राम्रै खेल्यो ।

तर, विश्वकप २०२२ मा समूह ‘सी’ को पहिलो खेल त्यस्तो अपेक्षित भएन । दोस्रो हाफमा साउदीले सुधारिएको खेल प्रदर्शन गऱ्यो । सलेह अल सेहरीले नियन्त्रण लिँदै अगाडि बढाएर ४८ औं मिनेटमा गोल गर्दै साउदीलाई १–१ को बराबरीमा पुऱ्याएका थिए । उनले सेकेन्डबार च्याप्दै प्रहार गरेको गोलमा फिनिसिङ निकै उत्कृष्ट रह्यो । सलेम अल दावसरीले ५३ औं मिनेटमा गोल गर्दै साउदीलाई २–१ को अविश्वसनीय अग्रता दिलाए । उनले तीन डिफेन्स छक्याएर अर्जेन्टिनाका चार खेलाडीको बीचबाट प्रहार गरेको बलले गोलकिपर एमिलानो मार्टिनेजको ग्लोभ्स छुँदै लोभलाग्दो पारामा पोस्टभित्र पुगेको थियो ।

साउदीले अग्रता लिए पनि युरोपेली लिगका ठूला क्लबहरूमा राम्रो गरिरहेका खेलाडीले भरिएको अर्जेन्टिना गोल गर्दै खेलमा फर्किने अपेक्षा गरिएको थियो । तर, पाँचौंपल्ट विश्वकपमा सहभागी मेसीसहित लाउटारो मार्टिनेज र एन्जेल डी मारियाको अग्रपंक्ति धारिलो भएन । अर्जेन्टिनाले थप तीनपल्ट बललाई पोस्टको दिशा दियो । तर, मार्टिनेजका दुई र मेसीको एक सटिक प्रहारमा अफसाइड भएकाले रेफ्रीले गोलको मान्यता दिएन ।

‘अझै सकिएको छैन’

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले हारपछि भने, ‘अब मेक्सिकोसँगको खेल के हुन्छ भन्ने हो । विश्वकपका सबै टिमजस्तै मेक्सिको पनि कडा छ । अब हामीले अगाडि बढ्न दुवै खेल जित्नुपर्नेछ ।’ उनको टिमले शनिबार मेक्सिको र त्यसपछि समूह चरणको अन्तिम खेलमा पोल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । ‘पक्कै पनि यो हार कठिन रह्यो तर यो खेलको नतिजा छाडेर हामीले सबै खेल जसरी पनि जित्ने प्रयास गर्ने छौं,’ दक्षिण अमेरिकी च्याम्पियन टिमका प्रशिक्षक स्कोलानीले भने, ‘हामी अरू टिमलाई जस्तै पूर्ण रूपमा साउदी अरेबियालाई पनि सम्मान गर्छौं । त्यो नै हाम्रो हारको कारण होइन । प्राविधिक रूपमा खेल्ने खेलाडीसहितको साउदी टिम राम्रो छ । शारीरिक रूपमा धेरै राम्रो तयारी गरेको छ ।’ एसियन कप च्याम्पियन कतारलाई उद्घाटन खेलमै इक्वेडरले हराएपछि कोपा विजेता पनि हारेको हो । युरोपियन च्याम्पियन इटाली विश्वकपमा छनोट नै भएन ।

अपराजित यात्रामा पूर्णविराम

अर्जेन्टिनाले अन्तिम आधा घण्टा केही राम्रो मुभ बनायो । आठ मिनेट थपिएको इन्ज्युरी समय १४ मिनेटसम्म चल्यो । तर, संगठित देखिएको साउदी डिफेन्स र गोलकिपरको राम्रो प्रदर्शनसामु मेसीको टिमको केही सीप चलेन । त्यसैले अर्जेन्टिना ८८ हजार १२ जना दर्शकसामु २–१ ले स्तब्ध भयो र प्रथम विश्वकप (१९३०, उरुग्वे) यता अर्जेन्टिना अग्रता लिएर पनि पहिलोपल्ट हार्न पुग्यो ।

यससँगै अर्जेन्टिना अपराजित यात्रामा इटालीको ३७ खेलको कीर्तिमान बराबरी गर्न चुक्यो । जुलाई २०१९ यता अर्जेन्टिनाको अपराजित यात्रा साउदीले ३६ खेलमा पूर्णविराम लगाइदियो । यसबीच अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो ।

मेसीको कीर्तिमान

मेसीले गोल गरेको पेनाल्टी पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा सम्भव भएको थियो । कर्नरमा बल प्रहार गर्ने प्रयासमा रहेका लियान्द्रो पाराडेसलाई मेसीले साउदीका डिफेन्डर अब्दुल हमिदसाउदले धकेलेर लडाएपछि भारको निर्णयमा प्राप्त पेनाल्टीमा मेसीले सहज गोल गरे । उनी चार विश्वकप (सन् २००६, २०१४, २०१८ र २०२२) मा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी भए । विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो र सबैभन्दा जेठो खेलाडीको कीर्तिमान बनाए पनि उनले हार टार्न सकेनन् ।

विश्वकपमा मेसीले गोल गरेको खेलमा अर्जेन्टिना पहिलोपल्ट हारेको हो । समग्रमा मेसीले गोल गरेको खेलमा अर्जेन्टिनाको सन् २०११ यता पहिलो हार हो । उनले उत्कृष्ट प्रदर्शन गर्दै आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए पनि जर्मनीविरुद्ध हारेको थियो । त्यसैले ३५ वर्षीय उनले कतार संस्करणलाई आफ्नो विश्वकप जित्ने अन्तिम प्रयास हुने बताइसकेका छन् ।

‘धेरै ठूलो धक्का हो । हामीले यस्तो सुरुआत अपेक्षा गरेका थिएनौं,’ फिफा वरीयतामा ५१ स्थानको साउदीविरुद्ध स्तब्ध भएपछि मेसीले भने, ‘अब के आउँदै छ भनेर हामीले तयारी गर्नु आवश्यक छ । हामीलाई जित्नैपर्ने वा जित आवश्यक छ, जुन हामीमै निर्भर छ । हामीले हामी को हौं भनेर आफ्नो धरातलमा फर्किनुपर्ने अवस्था आएको छ ।’ गत सिजन बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजी पुगेका उनी अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका सबैभन्दा बढी गोलकर्ता हुन् ।

धेरै खुसी नहुन चेतावनी

सन् १९८६ मा म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा विश्वकप जितेको अर्जेन्टिना कतार संस्करणमा पनि उपाधि दाबेदार हो । त्यसैले अर्जेन्टिनामाथि साउदीको जित विश्वकप इतिहासकै एक ठूलो अनपेक्षित नतिजा हो । जसलाई सन् १९५० मा अमेरिकाले इंग्ल्यान्ड, २००२ मा दक्षिण कोरियाले इटाली र सेनेगलले फ्रान्स, १९९० मा क्यामरुनले अर्जेन्टिनालाई पराजित गरेजस्तै यसपालि साउदीको जितलाई युगौं युग सम्झिइने छ । साउदीका प्रशिक्षक हार्भे रेनार्डले भने अनपेक्षित जितको खुसी धेरै नमनाउन चेतावनी दिए । फ्रान्सेली प्रशिक्षकले भने, ‘आकासका सबै ताराले हामीलाई साथ दियो । तर, अझै पनि अर्जेन्टिना उत्कृष्ट टिम भएको बिर्सनुहुन्न ।’

प्रकाशित : मंसिर ७, २०७९ ००:१२
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशसभा दार्चुला (२) मा मानबहादुर धामी पुनः निर्वाचित

मनोज बडू

दार्चुला — दार्चुलाको प्रदेशसभा २ मा मा‌ओवादी केन्द्रका नेता मानबहादुर धामी पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनाअनुसार उनले एमाले नेता रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गरेका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धामीले १३ हजार १७१ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले नेता जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।

अघिल्लो प्रदेशसभा चुनावमा धामीले कांग्रेस नेता जगदीश पाललाई पराजित गर्दै सांसद बनेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ००:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×