२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनालाई अग्रता

राजु घिसिङ

दोहा — सुपरस्टार लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले विश्वकप २०२२ को पहिलो खेलमा साउदी अरेबियाविरुद्ध दसौं मिनेटमै अग्रता लिएको छ ।

मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनालाई अग्रता

भिडियो असिस्टेन्ट रिभ्युपछि रेफ्रीले दिएको पेनाल्टीमा मेसीले सहजै गोल गोरेका हुुन् । उनको प्रहारमा गोलकिपर मोहमद अवाइसले उल्टो दिशामा डाइभ गरेका थिए । लुसेल रंगशालामा भइरहेको खेलको दोस्रो मिनेटमा मेसीले प्रहार गरेको बलमा भने अवाइसले उत्कृष्ट बचाउ गर्दै साउदीको संकट टारेका थिए ।

विश्व फुटबलले पाएको सबभन्दा ठूला स्टारमध्येका एक हुन् मेसी । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध उनले आफ्नो करिअरमा अन्तिमपल्ट विश्वकपको उापधि जित्ने प्रयास गर्ने बताएका छन् । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका उनको कतार यात्रा लगातार पाचौं विश्वकप हो । उनको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनल पुगेपनि उपाधि होडमा उसलाई जर्मनीले पराजित गरेको थियो ।

साउदीविरुद्ध मेसीसँगै इटालियन क्लब इन्टरमिलानका फरवार्ड लाउतारो मार्टिनेजले अर्जेन्टिनाको अग्रपंक्ति सम्हालेका छन् । उनीहरुसगै एन्जेल डि मारिया पनि छन् । एस्टोन भिल्लाका गोलकिपर एमिलानो मार्टिनेजले गोलपोष्ट सम्हालेका छन् भने डिफेन्समा निकोलस टाग्लिफिको, क्रिस्टियन रोमेरो, निकालेस ओटामेन्डी र नाथुएल मोलिना छन् । मिडफिल्डमा लियान्द्रो परेडेस, रोडरिगो डे पाउल र एलेसान्द्रो गोमेज खेलेका छन् ।

दुईपल्टको विश्वकप विजेता डिएगो म्याराडोनाको टिमले सन् १९८६ मा उपाधि जितेयता च्याम्पियन बन्न सकेको छैन । समूह सी को प्रतिस्पर्धामा अलफराज सलमानको कप्तानीमा रहेको साउदीका सबै खेलाडी आफ्नै घरेलु लिगका क्लबमा आबद्ध छन् । अर्जेन्टिनी टिमका सबै खेलाडी युरोपेलका क्लबमा आबद्ध छन् । यो समूहमा मेक्सिको र पोल्यान्ड पनि छन् । यी दुई पनि आजै प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित : मंसिर ६, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?