मेसीले अहिले नजिते कहिले जित्ने ?- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

मेसीले अहिले नजिते कहिले जित्ने ?

एएफपी

दोहा — स्पेनी प्रशिक्षक लुइस एनरिकेले केही दिनअगाडि भनेका थिए, यदि अर्जेन्टिनी लियोनल मेसीले विश्वकप जित्न सक्दैनन् भने त्यो अन्याय नै हुनेछ । तर सातपल्टको बालोन डी’अर विजेताका लागि सायद समय र अवसर दुवै बितिरहेको छ ।

क्रिस्टियानो रोनाल्डोसँगै उनी पाँचौं पटक विश्वकप खेलिरहेका छन् । अन्तिम पनि । यो पुस्ताले देखेका महान् फुटबल खेलाडी यिनै दुई हुन् । अझ उनीहरूलाई सर्वकालीन महान् मान्ने पनि छन् ।

विवादरहित सर्वकालीन महान् खेलाडी पेले र अर्जेन्टिनाले कम्तीमा एकपल्ट विश्वकप जिते । तर डर छ मेसी र रोनाल्डोमाथि कहिले पनि विश्वकप जित्न नसकेको दाग लाग्न सक्छ । भन्न सकिन्छ, सायद मेसीसामु यसपल्ट विश्वकप जित्ने सबैभन्दा राम्रो अवसर छ । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना विश्वकपको फाइनलमा त पुग्यो, तर ब्राजिलमा भएको यस प्रतियोगितामा जर्मनीसँग १–० ले पराजित रह्यो । मेसीका लागि निकै पीडादायी थियो ।

अझ सन् २०१६ तिर मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणासमेत गरे । सबैको अपेक्षाअनुसार उनले आफ्नो निर्णय फेरे र अर्जेन्टिनाका लागि २८ वर्षयता पहिलो उपाधि पनि जिते ।

ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले आयोजक देशलाई नै हराएको थियो । त्यो पनि माराकाना रंगशालामा । त्यो त्यही रंगशाला हो, जहाँ त्यसको सात वर्षअघि विश्वकप फाइनलमा हार बेहोरेको थियो । अहिले तत्काल भने अर्जेन्टिना लयमा छ ।

उपाधिको बलियो दाबेदार मानिएको अर्जेन्टिना लगातार ३६ खेलमा अपराजित छ । त्यतिमात्र होइन, अर्जेन्टिना यसपल्टको लिग चरणमा सजिलो समूहमा रहेको छ । कम्तीमा कागजमा यत्तिको दाबी गर्न मिल्छ । अर्जेन्टिनाले मंगलबार आफ्नो पहिलो खेल खेल्दै छ साउदी अरेबियाविरुद्ध । त्यसपछि अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डको सामना गर्नेछ । गत साता मात्रै पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले भनेका थिए, ‘अर्जेन्टिना पक्कै पनि उपाधिका लागि निकै बलियो प्रत्याशी हो ।’ उनी थप्छन्, ‘अर्जेन्टिना केही नभए पनि पछिल्ला ३० खेलमा अपराजित छ । ऊ कसैका लागि पनि कडा प्रतिद्वन्द्वी हो ।’

बार्सिलोनाका लागि नोउ क्याम्पमा प्रिय खेलाडी भएका लेवान्डोस्की मेसीले छाडेर गएको विरासत सम्हाल्ने प्रयासमा छन् । उनी भन्छन्, ‘मेसी बार्सिलोनाका महान् खेलाडी हुन् । उन कति ठूला खेलाडी हुन् भनेर बार्सिलोनामा कहींकतै पनि महसुस गर्न सकिन्छ । उनी अर्जेन्टिनी नेतृत्वकर्ता हुन् माथिल्लो दर्जाका । हामी सबैलाई थाहा छ, हामी कोविरुद्ध खेल्दैछौं भनेर ।’

लेवान्डोस्की त्यस्ता पुस्ताका खेलाडी हुनेछन्, जसले विश्वकपमा अन्तिम पटक मेसीलाई देख्नेछन् । यस्तै अनुभव सायद केही आत्मविश्वासी साउदी खेलाडीले पनि गर्नेछन् । साउदी मिडफिल्डर अब्दुल्लाह अल–मलिकी मान्छन्, उनको टिम मेसीको सामना गर्दा भावनामा बग्ने छैन । उनी भन्छन्, ‘मेसी महान् खेलाडी हुन्, उनी जत्तिको खेलाडीविरुद्ध खेल्न पाउनु पनि सपना पूरा हुनु जस्तै हो, तर हामी अहिले साउदी अरेबियाको प्रतिनिधित्व गरेर खेलिरहेका छौं, त्यसैले भावनात्मक हुने छैनौं ।’

मेसीसामु अर्जेन्टिनी फुटबल नायक रहेका दिवंगत म्याराडोना सन् १९८६ मा आफ्नो देशका लागि विश्वकप जिते र सधैंका लागि अमर बने । मेसीले चार युरोपेली च्याम्पियन्स लिग र १० स्पेनी ला लिगा जितेका छन् । त्यसैले उनी पक्कै पनि त्यसमा विश्वकप थप्न चाहन्छन् । तर, यस्तो इच्छा उनको एक्लो मात्र हुने छैन । एनरिके भन्छन्, ‘यदि स्पेनले विश्वकप जित्न सक्ने छैन भने म चाहन्छु, अर्जेन्टिनाले जितोस् मात्र मेसीकै लागि भए पनि ।’

मेसी बार्सिलोनाकै खेलाडी हुँदा एनरिकेले तीन वर्ष क्लब सम्हालेका थिए । उनी थप्छन्, ‘साँच्चै मेसीले विश्वकप उपाधिविना नै संन्यास लिनुपर्ने भयो त्यो त अन्याय नै भयो ।’ सर्जियो अगुइरो र गोन्जालो हिग्विनले पछिल्लो समय संन्यास लिए पनि अहिलेको अर्जेन्टिना टिम अझै उत्तिकै बलियो मानिएको छ । त्यो पनि गत वर्षको तुलनामा । मेसीसँगै अर्जेन्टिनासँग एन्जेल डी मारिया र लाउटारो मार्टिनेज पनि छन् । दुवै भेट्रान हुन् अनि अनुभवी । मेसी स्वयंका लागि भने अहिले ठ्याक्कै यही स्थिति छ, अहिले नजिते कहिले जित्ने त ?

प्रकाशित : मंसिर ६, २०७९ ०४:१८
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सको अभियानमा एमबाप्पे महत्त्वपूर्ण

एएफपी

दोहा — विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले मंगलबार उपाधि रक्षाको अभियान सुरु गर्दै छ । टोलीका लागि केलियन एमबाप्पे आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा हुनुपर्नेछ । फ्रान्सले चोटकै कारण बालोन डी’अर विजेता करिम बेन्जेमालाई हालै मात्र गुमाएको छ, त्यसैले प्रशिक्षक डिडियर डेसच्याम्प पनि मान्छन्, फ्रान्सेली टिमका लागि एमबाप्पे नै सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । फ्रान्सको समूह चरणको पहिलो खेल छ अस्ट्रेलियाविरुद्ध ।

समस्या के हो भने चोटका कारण फ्रान्सले बेन्जेमा मात्र गुमाएको छैन, अन्य केही प्रमुख खेलाडी पनि कतार ल्याउन पाएको छैन । बेन्जेमा त कतार आएका थिए, तर अभ्यासका क्रममा घाइते भए ।

सन् २०१८ मा विश्वकप जित्दाको फ्रान्सेली टिमका सदस्य नरहेका रियल म्याड्रिड खेलाडीको तिघ्रामा चोट लागेको थियो । रुसमा भएको विश्वकपकै क्रममा एमबाप्पेले आफूलाई विश्व फुटबलको उदीयमान उत्कृष्ट खेलाडीका रूपमा आफूलाई प्रमाणित गरेको थियो ।

त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी जम्मा १९ वर्षका थिए । प्रतियोगितामा क्रममा चार गोल गरे । त्यसमध्ये एक गोल क्रोएसियाविरुद्धको फाइनलमा थियो । डेसच्याम्पले मिडियासँगै दोहामा कुराकानी गर्दै भनेका छन्, ‘एमबाप्पे अझै पनि युवा छन् । सायद चार वर्षको तुलना केही परिपक्व भए । यही चार वर्षको समयमा पनि उनले मैदानमा भने धेरै गरेका छन् । अहिले उनी धेरै परिवक्व खेलाडी भएका छन् । अहिले तत्काल उनी जत्तिको खेलाडी विश्व फुटबलमा विरलै छन् ।’

डेसच्याम्प थप्छन्, ‘एमबाप्पेले आफ्नो टिमका लागि यसअघि नै साबित गरिसकेका छन् । उनी जतिबेला चाहिएको हुन्छ, त्यही बेला निर्णायक प्रदर्शन गर्न सक्षम छन् । उनी कुनै पनि मोडमा आफ्नो उपयोगिता प्रमाणित गर्न सिपालु छन् ।’ अर्को महिना एमबाप्पे २४ वर्षका हुनेछन् । उनले ओलिभर जिरोडसँग मिलेर फ्रान्सेली आक्रमणको नेतृत्व गर्नेछन् । बेन्जेमाको अनुपस्थितिमा अर्का अनुभवी जिरोडले नै अवसर पाउने अनुमान गरिएको छ ।

यदि चार वर्षअगाडि रुसमा एमबाप्पे किशोर खेलाडी थिए । अहिले उनी अब्बल दर्जाका खेलाडी भएका छन्, त्यसैले त उनले रियलको प्रस्तावसमेत अस्वीकार गरे । यसक्रममा उनले पीएसजीबाट निकै आकर्षक अनुबन्ध पाए । तर उनका लागि पछिल्लो ठूला प्रतियोगिता युरो २०२० भने खासै सफल रहेन । उनी निर्णायक मोडमा पेनाल्टीबाट गोल गर्न चुके र स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा फ्रान्स टाइब्रेकरमा पराजित रह्यो ।

फ्रान्सेली कप्तान हुगो लोरिस मान्छन्, ‘उनी कति राम्रा खेलाडी हुन् भनिरहनुपर्दैन । अहिले उनी पूर्णत: खेलमा केन्द्रित छन् र आराम महसुस गरिरहेका छन् । उनी राम्रो खेल्न प्रेरित छन् र टिमलाई जित दिलाउन चाहन्छन् ।’ फ्रान्सले सन् २०१८ को विश्वकपमा पनि अस्ट्रेलियालाई हराएर नै विजयी सुरुआत लिएको थियो । यसपल्ट पनि यस्तै उपलब्धि दोहोर्‍याउन चाहन्छन् । लोरिस के पनि मान्छन् भने अस्ट्रेलियाले तेस्र्याउने चुनौती बलियो रहनेछ ।

उनी भन्छन्, ‘पक्कै पनि अस्ट्रेलिया बलियो टिम छ र उसले प्रतिस्पर्धात्मक फुटबल खेल्छ । पेरुलाई पेनाल्टीमा हराएपछि यो टिमको आत्मविश्वास बढेको हुनुपर्छ । यस्तै जितले टिमलाई अझ राम्रो बनाउने हो ।’

प्रशिक्षक डेसच्याम्पलाई के पनि आस रहेको छ भने खेल सुरु हुनुअगाडि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेल भराने ठीक हुनेछन् । उनी खुट्टाको चोटमुक्त हुँदै मैदानमा फर्कने प्रयासमा छन् । उनको उपस्थिति फ्रान्सका लागि महत्त्वपूर्ण रहनेछ ।’

प्रकाशित : मंसिर ६, २०७९ ०४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×