१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लेवान्डोस्की चम्किने विश्वास

एएफपी

दोहा — पोल्यान्डका गोलरक्षक विज्निएक स्जेस्नीले आफ्नो टोली १९८६ यता पहिलो पटक नकआउट चरणमा पुग्ने प्रयासमा रहँदा रोबर्ट लेवान्डोस्कीले विश्वकपमा गोलको खाता खोल्ने विश्वास लिएका छन् ।

लेवान्डोस्की चम्किने विश्वास

लेवान्डोस्कीले पोल्यान्डबाट १ सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर बार्सिलोनाका यी स्टारले चार वर्षअघि रुस विश्वकपमा एउटै गोल गर्न नसक्दा पोल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो ।

पछिल्ला दुई विश्वकप छनोट चरणका क्रममा ३४ वर्षे लेवान्डोस्कीले २५ गोल गरिसकेका छन्, तर पनि विश्वकप जस्तो ठूलो प्रतियोगितामा एउटै गोल गर्न सकेका छैनन् । ‘मलाई लाग्छ, उनका लागि पनि गोल गर्नु अति महत्त्वपूर्ण छ,’ स्जेस्नीले मेक्सिकोसँगको खेलअघि लेवान्डोस्कीबारे भने, ‘विश्वकपअघि उनी निकै उत्प्रेरित छन् । अहिलेको समयमा उनी विश्वका उत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका छैन ।’

आठ उत्कृष्ट सिजन बायर्न म्युनिकमा बिताएपछि उनी यसै सिजनमा बार्सिलोना गएका थिए, जहाँ उनले १९ खेलमा १८ गोल गरिसकेका छन् । ‘क्लबस्तरमा मात्र नभई राष्ट्रिय टोलीबाट पनि उनी पक्कै आफ्नो महत्त्वाकांक्षा पूरा भएको हेर्न चाहन्छन्, त्यसैले यो प्रतियोगिता उनका लागि महत्त्वपूर्ण छ,’ स्जेस्नीले भने, ‘कतारमा देखाएको प्रदर्शनले लेवान्डोस्कीलाई पोल्यान्डका महान् खेलाडीको सूचीमा उभ्याउने छ ।’

मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ पाँचौं पटक विश्वकप खेल्दै छन् । तर उनीसामु लेवान्डोस्कीलाई मात्र नभई समूह ‘सी’ कै प्रतिद्वन्द्वी अर्जेन्टिनाका स्टार लियोनल मेसीलाई पनि रोक्नुपर्ने चुनौती छ ।

‘कुनै पनि प्रतिद्वन्द्वी सजिला हुँदैनन्, चाहे त्यो अर्जेन्टिना होस् वा साउदी अरेबिया । यो छोटो समयको प्रतियोगिता हो, त्यसैले तीन अंकसहित यात्रा सुरु गर्नु आवश्यक छ,’ ३७ वर्षे ओचोआले भने । पछिल्ला तीन विश्वकप सहभागितामा पोल्यान्ड पहिलो चरणबाटै बाहिरिँदै आएको छ । चार वर्षअघि खेल्दा स्जेस्नीले नै सेनेगलविरुद्ध गल्ती गर्दा पोल्यान्डले त्यसको मूल्य चुकाउनुपरेको थियो ।

युभेन्ट्सका यी गोलरक्षकलाई प्रमुख प्रतियोगिता अफाप सिद्ध हुँदै आएको छ । पोल्यान्ड युरो २०१२ को सहआयोजक हुँदा उनले पहिलो खेलमै रातो कार्ड पाएका थिए । युरो २०१६ को पहिलो खेलमा घाइतेपछि उनले त्यसपछि प्रतियोगिताका खेल खेलेका थिएनन् । युरो २०२० मा स्लोभाकियासँग पोल्यान्ड पराजित हुँदा उनले आत्मघाती गोल गर्न पुगेका थिए । ‘मलाई लाग्छ सबै प्रतियोगिताको आफ्नै इतिहास छ,’ ३२ वर्षे स्जेस्नीले यो आफ्नो अन्तिम विश्वकप हुने निश्चित गरे ।

प्रकाशित : मंसिर ६, २०७९ ०३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?