यस्ता छन् समूह ‘सी’ का टिम

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी नोभेम्बर २० देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि विभिन्न मुलुकहरूले टिम घोषणा गरिरहेका छन् । समूह 'सी' मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड रहेका छन् ।

यस्ता छन् समूह ‘सी’ का टिम

अर्जेन्टिनाका मेसीसामु डिएगो म्याराडोनाले जस्तै विश्वकप उपाधि उचाल्ने अन्तिम अवसर छ । आठ वर्षअघि अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपछि मेसीको यो अवसर गुमेको थियो । हेर्नुहोस् यस्ता छन् समूह 'सी' का खेलाडी, टिम र प्रशिक्षक :

अर्जेन्टिना

विश्वकप : १८ औं सहभागिता

विश्वकपमा उत्कृष्ट : सन् १९७८ र १९८६ को विजेता

अन्य सफलता : २०२१ सहित १५ पटक कोपा अमेरिका विजेता, १९९२ मा फिफा अन्तरमहादेशीय कप विजेता

फिफा वरीयता : तेस्रो

मुख्य क्लबहरू : रिभर प्लेट, बोका जुनियर्स, रेसिङ, इन्डिपियान्टिइन्टे, सान लोरेन्जो, भेलेज सरसफिल्ड, नेवेल्स ओल्ड ब्वाइज

छनोट यात्रा : दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलपछि दोस्रो स्थानमा रहेर

प्रशिक्षक : लियोनल स्कालोनी

अर्जेन्टिनाले २०१८ को निराशाजनक विश्वकप यात्रामा जर्ज साम्पोलीका सहायक थिए ४४ वर्षे स्कालोनी । उनै साम्पोलीलाई स्थानान्तरण गरेर कार्यबाहकदेखि पूर्ण प्रशिक्षक बनेका स्कालोनी अर्जेन्टिनाका पूर्वफुलब्याक हुन् । अर्जेन्टिनाले १९९७ मा यू–२० विश्वकप जित्दा उनीसहित हुँवा रामेन रिक्वेल्मे, इस्टेबान काम्बियासो उक्त टोलीका महत्त्वपूर्ण सदस्य थिए । डेपोर्टिभो ला कोरुनाले २००० मा स्पेनिस लिग र २००२ मा कोपा डेल रे जित्दा पनि उनी टोलीका सदस्य थिए । प्रशिक्षकको रूपमा उनले अर्जेन्टिनालाई २०१९ को कोपा अमेरिकामा तेस्रो र गत वर्ष उपाधि दिलाएका थिए । अर्जेन्टिनाले १९९३ यता पहिलोपल्ट कोपामा सफलता हात पारेको हो । अर्जेन्टिनाले विश्वकप छनोटमा कुनै खेल गुमाएको छैन र कतार लाग्दा टोलीसँग ३५ खेलको अविजित यात्रा रहनेछ । सेप्टेम्बरमा अर्जेन्टिना फुटबल संघले स्कालोनीको सम्झौता २०२६ सम्मलाई नवीकरण गरेको जनाएको थियो ।

प्रमुख खेलाडी : लियोनल मेसी

मेसीसामु डिएगो म्याराडोनाले जस्तै विश्वकप उपाधि उचाल्ने अन्तिम अवसर छ । आठ वर्षअघि अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएपछि मेसीको यो अवसर गुमेको थियो । अर्जेन्टिनाका लागि १ सय ६४ खेलमा ९० गोल गरिसकेका मेसीको यो अन्तिम विश्वकप पनि हो । उनले अर्जेन्टिनाका अन्य खेलाडीभन्दा धेरै खेल खेल्नुका साथै सर्वाधिक गोल पनि गरेका छन् । बार्सिलोना छाडेर गएपछि पहिलो वर्ष पेरिस सेन्ट जर्मेनमा उनलाई कठिन रह्यो । विश्वकपअगाडि भने उनी उत्कृष्ट फर्ममा फर्केका छन् । उनले १८ खेलमा क्लबका लागि १२ गोल गर्नुका साथै १४ गोलमा पास उपलब्ध गराएका छन् ।

साउदी अरेबिया

विश्वकप : छैटौं सहभागिता

विश्वकपमा उत्कृष्ट : १९९४ मा अन्तिम १६

अन्य सफलता : १९८४, १९८८ र १९९६ मा एसियन कप विजेता

फिफा वरीयता : ५१ औं

मुख्य क्लबहरू : अल–हिलाल, अल–नासेर, अल–इतिहाद

छनोट यात्रा : एसियाली क्षेत्र छनोटको समूह ‘बी’ मा पहिलो

प्रशिक्षक : हर्भे रेनार्ड५४ वर्षे रेनार्ड २०१९ मा साउदीको प्रशिक्षक बनेका थिए ।

आफ्नो गृह देश फ्रान्समा उनले विभिन्न क्लबहरूबाट रक्षकको भूमिकामा खेलेका थिए । त्यसपछि १९९९ मा उनी प्रशिक्षकको भूमिकामा आए । उनले युरोप, एसिया र अफ्रिकामा प्रशिक्षण दिलाए । उनको प्रशिक्षणमा जाम्बियाले २०१२ को अफ्रिकन नेसन्स कप जितेको थियो । यसको निरन्तरता उनले आइभोरी कोस्टले २०१५ को अफ्रिकन कप जित्दा पनि गरे । दुई फरक राष्ट्रलाई अफ्रिकन जिताउने उनी पहिलो प्रशिक्षक बने । मोरक्कोमा भने उनले यस्तो सफलता पाउन सकेनन् । २०१९ को प्रतियोगिताको सुरुआतमा बेनिनसँग पराजित भएपछि उनले मोरक्को प्रशिक्षक पदबाट राजीनामा दिए ।

प्रमुख खेलाडी : सलिम अल–दोसरी

उनलाई ‘टोर्नाडो’ उपनामले चिनिन्छ । उनको यो दोस्रो विश्वकप सहभागिता हुनेछ । उनले २०१८ को विश्वकपमा साउदीलाई इजिप्टविरुद्ध २–१ को विजय दिलाउँदा अन्तिम सेकेन्डमा निर्णायक गोल गरेका थिए । उनले २०१९ को एसियन कप र २०२१ को टोकियो ओलम्पिकमा पनि गोल गरेका थिए ।

विश्वकप छनोटक्रममा यमनको हातबाट लज्जास्पद हार नजिक पुग्दा उनकै गोलमा साउदीले त्यो खेल २–२ को बराबरीमा टुंग्याएको थियो । उनले उज्वेकिस्तानविरुद्धको खेलमा पनि अन्तिम सेकेन्डमा विजयी गोल गर्दै साउदीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका थिए ।

मेक्सिको

विश्वकप : १७ औं सहभागिता

विश्वकपमा उत्कृष्ट : १९७० र १९८६ मा क्वाटरफाइनल

अन्य सफलता : आठपल्ट कन्काकाफ गोल्डकप विजेता, १९९९ मा अन्तरमहादेशीय कप विजेता

फिफा वरीयता : १३ औं

मुख्य क्लबहरू : अमेरिका, क्रुज अजुल, ग्वाडालजारा, पुमस

छनोट यात्रा : उत्तर, सेन्ट्रल अमेरिका र क्यारेबियन क्षेत्रमा दोस्रो भएको

प्रशिक्षक : जेरार्डो मार्टिनो

डिसेम्बर २० मा विश्वकप सुरु हुँदा अर्जेन्टिनी प्रशिक्षक मार्टिनो ६० वर्षमा लाग्नेछन् । उनलाई सन् २०१९ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त गरिएको थियो । उनीमाथि मेक्सिकोलाई तीन दशकपछि पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुर्‍याउने चुनौती छ । मार्टिनोको प्रशिक्षणमा एटलान्टा युनाइटेडले अमेरिकाको मेजर लिग सकरको उपाधि जितेपछि उनी २०१८ मा वर्षको उत्कृष्ट प्रशिक्षक बनेका थिए । उनले स्पेनिस टोली बार्सिलोनाका साथै अर्जेन्टिना र पराग्वेको राष्ट्रिय टोली हेरिसकेका छन् ।

प्रमुख खेलाडी : गुइलेर्मो ओचोआ

उनी मेक्सिकोबाट सबैभन्दा बढी खेल्ने खेलाडी हुन् । ३७ वर्षे यी गोलरक्षकले घरेलु फुटबलमा क्लब अमेरिकाबाट खेल्दै सबैभन्दा धेरै खेलमा गोल

नखर्चिने कीर्तिमान बनाएका थिए । कर्ली कपालमाथि हेडब्यान्ड लगाएर खेल्ने ओचोआले फ्रान्सेली टोली अजासिओबाट तीन वर्ष खेलेपछि २०१४ को विश्वकपमा मेक्सिको पहिलो रोजाइका गोलरक्षक बने । उनकै साहसिक प्रर्दशनका कारण मेक्सिकोले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो ।

पोल्यान्ड

विश्वकप : नवौं सहभागिता

विश्वकपमा उत्कृष्ट : १९७४ र १९८२ को विश्वकपमा तेस्रो स्थान

अन्य सफलता : १९७२ को ओलम्पिक च्याम्पियन

फिफा वरीयता : २६ औं

मुख्य क्लबहरू : लेगिया वार्सा, गोर्निक जाब्र्जे, विस्ला क्राको, रुच चोर्जो, लेज पोन्नान

छनोट यात्रा : युरोपियन क्षेत्रको समूह ‘आई’ मा दोस्रो हुँदै स्विडेनलाई प्लेअफमा २–० ले पराजित गरेर

प्रशिक्षक : जेस्ला मिच्निविज

पाउलो सौसा ब्राजिलियन क्लब फ्लेमेङ्गो सम्हाल्न गएपछि ५२ वर्षे मिच्निविजलाई जनवरीमा मात्र पोलिस टोलीको जिम्मेवारी दिइएको थियो । बेलारुसमा जन्मिएका उनले पोल्यान्डको ९ क्लबलाई प्रशिक्षण गरेपछि २०१७ मा उनलाई पोलिस यू–२१ टोलीको जिम्मेवारी दिइएको थियो । २०१९ मा उनको प्रशिक्षणमा पोल्यान्डलाई युरो यू–२१ को फाइनलमा पुर्‍याए । त्यसपछि उनी क्लब फुटबलमा लेगिया वार्सामा फर्किंदै १५ औं पोलिस लिगको उपाधि दिलाए । उनलाई सिजनमा खराब सुरुआत गरेका कारण गत अक्टोबरमा वार्साले बर्खास्त गरेको थियो ।

प्रमुख खेलाडी : रोबर्ट लेवान्डोस्की

उनी पोलिस फुटबलका एक उत्कृष्ट खेलाडी हुन् । उनले आफ्नो देशका लागि सर्वाधिक खेल खेल्नुका साथै धेरै गोल गरेका छन् । रुस विश्वकपमा चार वर्षअघि उनी जम्न नसक्दा पोल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । यसपालि राम्रो गर्ने तयारीमा छन् उनी । बायर्न म्युनिकमा आठ सानदार सिजन बिताएपछि ३४ वर्षे लेवान्डोस्की यस सिजन बार्सिलोना आएका थिए । उनले बायर्नमा रहँदा दुई पटक युरोपियन गोल्डेन बुटका साथै फिफा वर्ष खेलाडी जितेका थिए ।

प्रकाशित : कार्तिक २६, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?