समूह चरणमै मेसीविरुद्ध लेवान्डोस्की


पेरिस — लियोनल मेसीलाई थाहा छ कि अर्जेन्टिनासँग विश्वकपको उपाधि जित्ने एउटा अन्तिम अवसर आएको छ । उनको टिम गत वर्ष ब्राजिलमा कोपा अमेरिकाको उपाधि जितेपछि छनोटमा प्रभावशाली प्रदर्शन गर्दै ३५ खेलमा अपराजित रहेर कतारमा ओर्लंदै छ ।

सातपल्टका बालोन डी’अर विजेता मेसी विश्वकपमा अन्तिम तथा पाँचौंपल्ट खेल्दै छन् । अर्जेन्टिनाको चार वर्षअघि रुस यात्रा निकै उतारचढापूर्ण रह्यो, जहाँ अन्तिम १६ बाट बाहिरिएको थियो ।
सन् २०१८ मा जर्ज साम्पोलीका सहायक रहेका लियोनल स्कालोनीले अर्जेन्टिनी टिम सम्हालेका छन् । अर्जेन्टिनाले तेस्रोपल्ट विश्वकप जित्नेमा उनको टिम गम्भीर छ । अर्जेन्टिना आठ वर्षअघि उपाधि नजिक पुगेर पनि अतिरिक्त समयमा जर्मनीसँग हारेको थियो ।
‘हामी तयार छौं । हामी भिड्न गइरहेका छौं । हामी कोहीसँग पनि डराएका छैनौं किनभने हामी जो कोहीसँग पनि खेल्न तयार छौं,’ मेसीले भनेका छन्, ‘मेरो विचारमा पहिलो खेल निकै महत्त्वपूर्ण हुनेछ किनकि विजयी सुरुआतले दिमागलाई शान्त पार्नेछ ।’
रुसको पहिलो खेलमा मेसी पेनाल्टीमा चुकेपछि अजेन्टिना पहिलोपल्ट विश्वकपमा सहभागी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो, जसले प्रतियोगितामा अर्जेन्टिनाको खराब बाटो तय गरेको थियो । यसपालि समूह ‘सी’ मा अर्जेन्टिनालाई मेक्सिको र पोल्यान्डभन्दा निकै बलियो मानिएको छ । अर्जेन्टिनाले पहिलो खेलमा दुईपल्टको अफ्रिका कप अफ नेसन्सको उपाधि विजेता प्रशिक्षक हर्भे रेनार्डले सम्हालेको साउदी अरेबियाविरुद्ध खेल्ने छ । रेनार्ड आफ्नो टिमलाई एउटा संख्याको रूपमा मात्रै गणना गर्न चाहँदैनन् ।
मेक्सिकोका लागि पनि नकआउट चरण प्रवेश गाह्रो नहुने अनुमान गरिएको छ । उसले रुसमा पहिलो चरणमै डिफेन्डिङ च्याम्पियन जर्मनीलाई सिकार बनाएको थियो । लगातार सातौंपल्ट अन्तिम १६ बाट बाहिरिने क्रममा मेक्सिकोलाई ब्राजिलले सिकार बनाएको थियो ।
भेट्रान मिडफिल्डर आन्द्रेस ग्वार्डाडो मेसीसँगै पाँचौंपल्ट विश्वकपमा सहभागी हुँदै छन् । उनले विश्वकप २००६ को अन्तिम १६ मा अर्जेन्टिनाविरुद्ध हारेको खेलमार्फत् ‘डेब्यु’ गरेका थिए । उनी लिजेन्ड क्लाउडियो स्वारेजसँगै मेक्सिकोका लागि सर्वाधिक १ सय ७७ खेल खेलेको कीर्तिमान बराबरी गरेको अवस्थामा छन् । मेक्सिको ४ वर्षपछि पनि उही प्रतिद्वन्द्वीसँग त्यही तहमा पराजित भएको थियो । तर, ‘एल ट्री’ ले यसपालि जेरार्डो मार्टिनोको नेतृत्वमा बढी नै अपेक्षा गरेको छ । अर्जेन्टिना र बार्सिलोनाका यी पूर्वप्रशिक्षकले मेक्सिकोको परिचित तगारोलाई पन्छाउने विश्वास गरिएको छ ।
गोलको कीर्तिमान बनाइरहेका पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले विश्वकपमा अहिलेसम्म प्रभाव देखाउन सकेका छैनन् । विना शंका उनी पोल्यान्डको गन्तव्यका मुख्य खेलाडी हुन् । ९ खेलमा ९ गोल गरेर उनले कतारका लागि पोल्यान्डको टिकट काटिदिएका थिए । उनले पछिल्ला दुईपल्टको विश्वकप छनोटका १९ खेलमा २५ गोल गरेका छन् ।
पोल्यान्ड सन् २०१८ को समूह चरणबाटै बाहिरिएको थियो, जहाँ लेवान्डोस्कीको टिमले एक अंकमात्रै जोडेको थियो । ‘मेरो करिअरको सबैभन्दा ठूलो निराशा थियो त्यो,’ उनले भनेका छन्, ‘मैले कुनै अवसर पाएको थिइनँ । मैले एक गोल पनि गर्न सकेको थिइनँ । त्यसले मलाई अझै चित्त दुखाउँछ ।’
बार्सिलोनाका फरवार्ड लेवान्डोस्की पोल्यान्डका कप्तान तथा कीर्तिमानी गोलकर्ता हुन् । उनलाई राम्रो प्रदर्शनसँगै आफ्नो देशलाई सन् १९८६ यता पहिलोपल्ट विश्वकपको नकआउट चरणमा पुर्याउने चुनौती छ । उनी गत वर्ष बालोन डी’अर अवार्डमा विवादास्पद रूपमा मेसीसँग हारेका थिए । उनी अर्जेन्टिनालाई धैर्यपूर्वक कुरिरहेका छन्, जसले उनको विश्वकप सपना एकपल्ट वा सधैंका लागि अन्त्य गर्दै छ ।
‘मेसीजस्ता लिजेन्डको टिम विना शंका हाम्रो कठिन प्रतिस्पर्धी हुुनेछ । यस्ता प्रतिभावान् र उत्कृष्ट खेलाडीको ठूलो टिमविरुद्ध खेल्नु धेरै राम्रो हो,’ लेवान्डोस्कीले भने ।
प्रकाशित : कार्तिक २६, २०७९ ०८:०३