रुकुम पश्चिममा ६ उम्मेदवारको धरौटी जफत


रुकुम पश्चिम — मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका ६ जनाको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नपाउने ६ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार धरौटी जफत हुनेमा प्रतिनिधिसभा सदस्यका ४ जना उम्मेदवार र २ जना प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ राप्रपाका दीपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेसनका हरिबहादुर पुन तथा स्वतन्त्र उम्मेदवारहरु तारक केसी र राजन पाण्डेको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुमध्ये राप्रपाका मल्लले ७ सय ९६, मंगोल नेसनलका पुनले २ सय ८, स्वतन्त्र उम्मेदवार केसीले ३ हजार ५ सय ६७ र अर्का स्वतन्त्र उम्मेदवार पाण्डेले २ सय १४ मत पाएका थिए । प्रतिनिधिसभातर्फ कुल ५७ हजार २ सय ९५ मत सदर भएकामा जमानत जोगाउन त्यसको १० प्रतिशत अर्थात् ५ हजार ७ सय ३० मत आवश्यक थियो ।
प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भए । एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका थिए । त्यस्तै प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेकामा दुवै क्षेत्रमा राप्रपाका उम्मेदवारको धरौटी जफत भएको छ । प्रदेशसभा १ मा विनोदकुमार मल्लको धरौटी गुम्दा २ मा निर्जल केसीले पनि धरौटी जोगाउन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ । मल्लले १ हजार ११ मत पाउँदा केसीले १ हजार १ सय ७ मत पाएका थिए ।
प्रदेशसभा १ मा २८ हजार १ सय २५ मत सदर भएकामा धरौटी जोगाउन त्यसको १० प्रतिशत अर्थात् २ हजार ८ सय १३ मत ल्याउनुपर्ने थियो भने प्रदेशसभा २ मा २९ हजार ३ सय ४५ मत सदर हुँदा धरौटी फिर्ताका लागि २ हजार ९ सय ३५ मत आवश्यक थियो ।
प्रदेशसभा १ मा माओवादी केन्द्रका महेन्द्र केसी १९ हजार ३३ मतका साथ विजयी हुँदा एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा पनि माओवादी केन्द्रकै राजकुमार शर्मा २० हजार १ सय ६० मत पाएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीले ८ हजार ७८ मत प्राप्त गरेका थिए ।
प्रकाशित : मंसिर २०, २०७९ १६:५०