कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जाजरकोटमा १८ हजारभन्दा बढी मत बदर

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणाली तर्फको निर्वाचनमा जाजरकोटमा १८ हजार ६२ मत बदर भएको छ । जसमध्ये प्रतिनिधिसभातर्फ ३ हजार ६ सय ९६, प्रदेशसभा (१) तर्फ १ हजार ७ सय ९०, प्रदेशसभा (२) १ हजार ६ सय ८० र प्रदेशसभा समानुपातिकतर्फ ५ हजार ५ सय १०, प्रतिनिधिसभा समानुपातिकतर्फ ५ हजार ४ सय ६ मत बदर भएको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटमा १८ हजारभन्दा बढी मत बदर

प्रतिनिधिसभामा ६५ हजार ३ सय ३३ मत खसेको थियो भने प्रदेश (१) मा ३६ हजार ७ सय ६ र प्रदेशसभा (२) मा २८ हजार ७ सय ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नविन कठायतले बताए । उनका अनुसार प्रदेशसभा समानुपातिकतर्फ ६५ हजार ३ सय १६ र प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार ६ सय ८९ मत खसेको थियो ।

जिल्लाभर कुल १ लाख ३ हजार ३६३ मतदाता थिए । मत बदर हुनुमा मतदाता शिक्षा नपाउनुलाई मुख्य कारण औंल्याइएको छ । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णयमात्रै गरेको तर प्रभावकारी कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको सरोकारवाला बताउँछन् । यस पटकको निर्वाचनमा मतदाता शिक्षाको जिम्मा स्थानीय तहका वार्ड कार्यालयहरुलाई दिइएको थियो ।

‘कर्मचारीहरूले मतदाताले मत दिएको चुनाव चिह्न हेर्न त मिल्दैन तर नजान्नेलाई एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनुपर्नेछ जस्ता सामान्य ज्ञान दिन भने सकिन्छ,’ उनले भने, ‘हाम्रो क्षेत्रमा यस्तै अलमलमा परेका मतदाताको मत बदर हुन पुगेको हो । मत बदर हुनुको अर्को कारण अशिक्षा पनि हो । कतिपय ठाउँमा दलकै कार्यकर्ताले पनि चाहिनेभन्दा बढी ठाउँमा स्वस्तिक छाप लाउन सिकाएको पाइएको छ ।’

जिल्ला निर्वाचन कार्यालयले भने बदर मत संख्या न्यून गर्न जाजरकोटका ७ वटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको बताएको छ । धेरैजसो मतदाता साक्षर नरहेकाले घरदैलो गर्दा दलका नेता–कार्यकर्ताले पनि मतदाता शिक्षा दिन जरुरी रहेको निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख कठायत बताउँछन् । ‘हामीले मतदाता शिक्षा दिन सक्दो प्रयास गरेकै हौं, ठूलो क्षेत्र र कम जनशक्ति भएकाले दलहरूले पनि मतदातालाई जागरुक बनाउन कोसिस गर्नुपर्थ्यो’ उनले भने ।

यसैबीच, मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार एक प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको जाजरकोटमा प्रदेशमा नेकपा एमाले पहिलो स्थानमा छ भने प्रतिनिधिसभामा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ ।

यस्तै, प्रतिनिधिसभातर्फ कुल ६५ हजार ६ सय ८९ खसेको मतमध्ये २२ हजार ९३४ मतसहित कांग्रेस पहिलो, दोस्रोमा एमाले १९ हजार ७४९ मत प्राप्त गरी दोस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले १४ हजार ४ सय १२ मत प्राप्त गरी तेस्रो स्थानमा छ । कुल मतमध्ये प्रदेशतर्फ ५ हजार ५१० मत बदर भएका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?