रौतहटमा ९० प्रतिशत स्वतन्त्रको जमानत जफत

रौतहट — गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रौतहटका सबैजसोको  जमानत जफत भएको छ । कुल १ सय १७ जनाको स्वतन्त्र उम्मेदवारी परेकोमा जमानत जोगाउन नसक्ने ९० प्रतिशतभन्दा बढी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावी मैदानमा होमिएका २ सय ७ मध्ये प्रतिनिधिसभातर्फ ५८ र प्रदेशसभातर्फ १ सय १० गरी १ सय ६८ जनाले जमानत जोगाउन सकेनन् । जिल्लामा प्रतिनिधिसभातर्फका ४ निर्वाचन क्षेत्रमा ६७ जनाको उम्मेदवारी परेको थियो भने प्रदेशसभातर्फका ८ क्षेत्रमा १ सय ४० जना उम्मेदवार थिए । जमानत जफत हुनेमध्ये सबैजसो स्वतन्त्र उम्मेदवार रहेका जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।

एक उम्मेदवारले चुनावी प्रचारका लागि २ वटा गाडी र सोहीअनुसार मतदानस्थल र गणनामा प्रतिनिधि राख्न पाउँछन् । सोही सुविधा लिन केही बलिया उम्मेदवारले आफैंविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरेका थिए । यही कारण जमानत जफत भएकमध्ये अधिकांश स्वतन्त्र उम्मेदवार परेको दासको भनाइ छ ।

क्षेत्र–४ का स्वतन्त्र उम्मेदवार भवनाथ घिमिरेले १६ मत पाए । उनी कांग्रेसका देवप्रसाद तिमल्सिनाका डमी उम्मेदवार हुन् । अर्का स्वतन्त्र उम्मेदवार अविरण घिमिरे (६२ मत) को पनि जमानत जफत भएको छ । घिमिरे एमालेका उद्धव रेग्मीको डमीका रूपमा मैदानमा थिए । यो क्षेत्रमा मुख्य दलले ५० जनाभन्दा बढी स्वतन्त्र उम्मेदवार खडा गरेको बताइएको छ । उनीहरू सबैको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?