कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मृतक २५ र विदेशिएका ११५ को मत सदर !

प्रमुख आयुक्त भन्छन् : ‘मतपेटिका राखेको ठाउँमा दलपिच्छे ताल्चा लगाइएको छ । विवाद भएको ठाउँको मतपेटिका फरक कोठामा राख्न मागसमेत भएको छैन । निर्वाचन शंकास्पद थियो भने छुट्टै कोठामा राख्न माग गर्नुपर्थ्यो । अनि के आधारमा पुनः निर्वाचन गर्ने ?’

काठमाडौँ —  स्याङ्जा–२ मा मृतक र विदेशमा भएका मतदाताका नाममा खसाइएको मतलाई निर्वाचन आयोगले सदर गरेको छ । आयोगकै टोलीले त्यहाँ मृत्यु भएका २५ र विदेशमा भएका १ सय २५ जनाका नाममा मत खसाइएको अध्ययन प्रतिवेदन बुझाएको थियो । तर टोलीले पुनः निर्वाचन गर्नुपर्ने आधार नदिएको भन्दै आयोगले मंसिर ४ मा खसाइएको मतलाई नै गणना गर्न बुधबार निर्देशन दिएको छ । 

मृतक २५ र विदेशिएका ११५ को मत सदर !

स्याङ्जा र बाजुरामा कांग्रेस र एमालेले एकअर्कामाथि बुथ कब्जाको आरोप लगाउँदै आएका छन् । विवाद जिल्ला तहमा सुल्झन नसकेर निर्णयका लागि आयोगमा आइपुगेको थियो । एमाले र कांग्रेसले उजुरी दिएपछि छानबिन गर्न आयोगले दुवै जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको थियो । टोलीले मंगलबार बुझाएको प्रतिवेदनमा मृत्यु भएका र विदेशमा रहेकाका नाममा खसेको मतसंख्या उल्लेख गरे पनि कहाँ कतिले मतदान गरे भनेर विस्तृत खुलाएको छैन । ‘एकमुष्ट संख्या उल्लेख भएको प्रतिवेदन आएको छ,’ आयोग स्रोतले भन्यो ।

स्याङ्जा र बाजुराको विवादका विषयमा निर्णय गर्न आयोगले मंगलबार गरेको बैठकमा पदाधिकारीबीच नै मत बाझिएको थियो । दुवै जिल्लामा पुनः निर्वाचन गर्ने कानुनी आधार नदेखिएको र अध्ययन टोलीले समेत कुनै प्रमाण पेस नगरेको हुनाले मतगणनाको निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘निर्वाचनमा कमजोरी भए निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट लेखेर पठाउनुपर्ने हुन्छ, पुनः मतदानका लागि त्यो पहिलो आधार हो,’ उनले भने, ‘सुरक्षा निकाय, निर्वाचन अधिकृत र मतदान अधिकृतले सामान्य झडप मात्रै भएको भनेका छन् ।’

प्रमुख आयुक्त थपलियाका अनुसार राजनीतिक दलका प्रतिनिधिले पनि सफलतापूर्वक मतदान भएको मुचुल्कामा हस्ताक्षर गरेका छन् । ‘मतपेटिका राखेको ठाउँमा दलपिच्छे ताल्चा लगाइएको छ । विवाद भएको ठाउँको मतपेटिका फरक कोठामा राख्न मागसमेत भएको छैन । निर्वाचन शंकास्पद थियो भने छुट्टै कोठामा राख्न माग गर्नुपर्थ्यो । अनि के आधारमा पुनः निर्वाचन गर्ने ?’ उनले भने । निर्वाचनमा सुरुदेखि अन्त्यसम्म दलका प्रतिनिधिको सहमति देखिएको थपलियाले बताए । ‘स्याङ्जामा पितृले भोट हाल्यो भन्ने विषय छ । मरेको र विदेशमा छ भने कर्मचारीलाई थाहा नहुन सक्छ । राजनीतिक दलका प्रतिनिधिले पहिचान गरेर पठाएपछि मात्रै मत हाल्छन् । दलको प्रतिनिधिले अर्काका नाममा र मरेको व्यक्तिका नाममा समेत मत हाल्न लगाएको गुनासो गरे निर्वाचन कसुरअनुसार तत्काल कारबाही हुन सक्थ्यो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मृत्यु भइसकेका र विदेशमा रहेका व्यक्तिका नाममा मतदान गराउने घटनाको जिम्मेवारी सम्बन्धित दल र उम्मेदवारले लिनुपर्ने बताए । लोकतन्त्रको अभ्यास गर्ने दल र उम्मेदवारले मृत्यु भइसकेका र विदेशमा रहेका व्यक्तिका नाममा मतदान गराउँछन् भनेर अनुमान लगाउन नसकिने उनको भनाइ छ । ‘त्यस्तो भए त्यही दल र उम्मेदवार जिम्मेवार हुनुपर्छ,’ उनले भने । अन्तिम मतदाता नामावली सार्वजनिक गर्नुअघि केन्द्रदेखि स्थानीय तहका दलहरूसँग परामर्श गरिने हुनाले आयोगले मृत्यु भइसकेका व्यक्तिको नाम राख्यो भनेर आरोप लगाउन नमिल्ने उनले बताए ।

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान गर्न एमालेले माग राख्दै आएको थियो भने कांग्रेसले मंसिर ४ मै खसाइएको मतगणना हुनुपर्नेमा जोड दिइरहेको थियो ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?