बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा एमाले अनुुपस्थित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा एमाले अनुुपस्थित

गणना सुरु हुन सकेन
अर्जुन शाह

धनगढी — बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।

नेकपा एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी थिए । तर एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको नेपाली कांग्रेसका जिल्ला उपसभापति पदमबहादुर बडुुवालले बताए ।

उनका अनुसार बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गर्ने निर्णय भएको छ ।

नेकपा एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता काँसी बिकले बताए ।

उनले निर्वाचनका क्रममा भएका कमजोरी र ज्यादतीहरुको समीक्षा भएर साझा समझदारी नभएसम्म गणनाका लागि बोलाइने कुनै पनि औपचारिक बैठकमा सहभागी हुुने सम्भावना नरहेको बताए ।

प्रकाशित : मंसिर १४, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुरमा गाँजासहित युवक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका-६ साँगुरीबाट बुधबार साँझ गाँजासहित एक युवक पक्राउ परेका छन् ।

प्रहरी चौकी रिस्कुबाट गएको प्रहरी टोलीले जाँच गर्दा ताप्ली गाउँपालिका-२ का २७ वर्षीय सरोज राईलाई ६० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।

बोरामा बोकेर ल्याएको गाँजासहित राईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ । पक्राउ परेका राईलाई बुधबार नै उदयपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।

प्रकाशित : मंसिर १४, २०७९ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×