दोलखामा कडा सुरक्षाबीच मतदान गराउने तयारी

केदार शिवाकोटी

दोलखा — बिहीबार हुने निर्वाचनका लागि मतदाताहरूलाई कडा सुरक्षा घेरामा राखेर मतदान गराउने गरी तयारी सकिएको छ । जिल्लाको ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा भएको बताइएको छ।

दोलखामा कडा सुरक्षाबीच मतदान गराउने तयारी

सुरक्षा चुनौती रहेका प्रदेश १ (१) को बैत्यश्वर गाउँपालिका–६, ३ र २ नं वडाको ८ वटा मतदान केन्द्र र तामाकोसी गाउँपालिका–२ जफेको हेल्थपोष्ट मतदान स्थलका २ वटा केन्द्रमा सुरक्षा निकै कडा बनाइएको छ ।

मतदातामा हुने त्रास कम गर्न टोलटोलमै सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले बताए । 'निर्वाचन बिथोल्ने र मतदातामा त्रास देखाउने क्रियाकलापमा सुक्ष्म निगरानी गरेका छौं,’ उनले भने, ‘मतदाता र मतपेटिकाको सुरक्षा चुनौति विश्लेषण गरेर तयारी गरेका छौं ।’

मंसिर ४ गते भएको निर्वाचनका क्रममा बैत्यश्वर ६ मा बुथ कब्जा भएपछि मतपेटिका फुटाइएको थियो । यस्तै जेफेको हेल्थ पोष्टमा अत्यधिक मत र बैत्यश्वरको ३ मा मतपत्रको अधकट्टी हराएको थियो । बैत्यश्वरकै २ मा मतदातालाई मत हाल्न नदिएपछि कम मत खसेको तथ्यको आधारमा निर्वाचन आयोगले पुनः निर्वाचन गराउन लागेको हो ।

सुरक्षाका हिसाबले अति संवेदनशील क्षेत्रमा यसपटक जनपद प्रहरी, सशस्त्र र नेपाली सेना गरेर १४ सय सुरक्षाकर्मी परिचालन हुने पौडेलले बताए ।

‘मतदानको दिन वडाहरू सिल गरेर बाहिरका मान्छे हिँडडुलमा प्रतिबन्ध गर्छौं,’ उनले भने, ‘मुख्य चुनौती बाहिरबाट आउने समूह र मतदातालाई सुरक्षित रुपमा मत खसाउने वातावरण बनाउने हो, त्यसका लागि ३ दिन अघिबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

मतदान गर्न आउने र मतदानपछि फर्कने मतदातालाई जनपद सशस्त्र र नेपाली सेनाले सुरक्षासहित घरसम्म फर्कने व्यवस्था गरेको उनले बताए । खासगरी यी मतदानस्थमा मतदानका लागि आउने मतदातालाई ढुङ्गा हिर्काउने, गौंडामा ढुकेर आक्रमण गर्ने गरिएको छ । मतदातालाई प्रलोभन र त्रास दुवै पार्ने भएकाले सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

निर्वाचनका २ तामाकोसी र बैत्यश्वर गाउँपालिकामा पर्ने राजमार्गसहित ग्रामीण सडकमा सवारीसाधन समेत बन्द गरिएको छ । ग्रामीण सडकमा नेपाली सेनासहित जनपद र सशस्त्र प्रहरीले गस्ती गरिरहेको उनले बताए । मतदानका लागि १० जना मतदान अधिकृतसहित ८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले बताए । मतपत्रसहित मतपेटिका र अन्य सामग्री पनि मतदानस्थल पुगिसकेको छ ।

यी मतदान केन्द्रमा कुल ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । ‘निर्वाचनको सबै तयारी पूरा भएको छ,’ पौडेलले भने, 'निर्वाचनसहित मतगणनाको समेत तयारी पूरा भएकाले साँझबाट मतगणना हुनेछ ।' उनले यी मतदान केन्द्रका मतदातालाई भयरहित वातावरण बनाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?