रुपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत  बदर- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत  बदर

माधव ढुंगाना

भैरहवा — गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फ रुपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत बदर भएको छ ।

बदर मत अत्यधिक हुनुले निर्वाचनका लागि सिकाइने मतदाता शिक्षा कार्यक्रमको प्रभावकारीतामाथि प्रश्न उठेको छ । जिल्लामा ६ लाख ३८ हजार ९ सय ९२ मतदाता रहेकामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्रमा खसेको ४ लाख ३१ हजार ९ सय ७४ मतमध्ये २४ हजार ५ सय २१ मत बदर भएको छ । यो कुल खसेको मतको ५.६८ प्रतिशत हो ।

समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको ४ लाख ३४ हजार ५ सय ६४ मतमा २३ हजार ७ सय ४३ मत बदर पाइएको छ । यो कुल खसेको मतको ५.४६ प्रतिशत हो । प्रदेशसभा प्रत्यक्षतर्फ खसेको ४ लाख ३१ हजार १७ मतमा २१ हजार ५ सय २४ मत बदर पाइएको छ । जुन ४.९९ प्रतिशत हो । प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३० हजार ८ सय ५७ मत खसेकामा ३३ हजार १ सय ४९ मत बदर पाइएको छ । यो ७.६९ प्रतिशत हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी क्षेत्र नम्बर ४ र सबैभन्दा कम क्षेत्र नम्बर २ मा मत बदर भएको छ । यस्तै, प्रदेशसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर ४ (२) मा सबैभन्दा बढी र २ (१) मा कम मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा धेरै क्षेत्र नम्बर १ र थोरै क्षेत्र नम्बर २ मा मत बदर छ । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा धेरै र क्षेत्र नं. ४ मा कम मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांक छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले यति धेरै मत बदर हुनुले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्नुपर्ने बताए । रुपन्देहीको १६ वटा स्थानीय पालिकाबाट एक/एक जना मतदाता अनुगमन अधिकृतलाई मात्र निर्वाचन आयोगको तर्फबाट तालिम दिएको र ती अधिकृतहरू मार्फत् सम्बन्धित पालिकाबाटै प्रत्येक वडा/वडामा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएकाले निर्वाचन कार्यालयको भूमिका खासै नभएको उनले बताए । ‘मतदाता शिक्षा कार्यक्रम कमजोर देखियो,’ उनले भने, ‘कामको चापाचापले मतदाता शिक्षा कार्यक्रमको अनुगमन पनि निर्वाचन आयोग र कार्यालयबाट प्रभावकारी रुपमा गर्न सकिएन ।’

प्रकाशित : मंसिर १४, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीमा भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव

देवनारायण साह

मोरङ — सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।

विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा वादविवाद भएको तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताए ।

उनले दुहबीमा अहिले कुनै तनाव नभएको र स्थिति नियन्त्रणमा आइसकेको बताए । ‘विजय जुलुसको क्रममा आफ्नो घर अगाडि आएर चर्को साउण्डमा डीजे बजाउनुका साथै हुलहुज्जत गरेको कांग्रेस पक्षको आरोप छ,’ प्रजिअ यादवले भने, ‘तर एमाले पक्षले हामी सभ्य तरिकाले आफ्नो मर्यादामा रहेर विजय जुलुस मनाउने क्रममा ढुँगामुढा गरेका हुन् भनेका छन् ।’

स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिनुका साथै अब पुनः कुनै अप्रिय घटना हुन नदिन जिल्ला तहको नेतासँग समन्वय गरिरहेको प्रजिअ यादवले बताए ।

सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

प्रकाशित : मंसिर १४, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×