७ प्रतिशतभन्दा बढी मत बदर- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

७ प्रतिशतभन्दा बढी मत बदर

मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्दा मतदातामा अन्योलका कारण प्रत्यक्ष र समानुपातिकमा मत बदर
विप्लव महर्जन, डीबी बुढा

सल्यान‚ जुम्ला — एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गतेको निर्वाचनमा ७ प्रतिशतभन्दा बढी मत बदर भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ सात र समानुपातिकमा ८ प्रतिशत मत बदर भएको छ ।


मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका कारण प्रत्यक्ष र समानुपातिकमा धेरै मत बदर भएको हो । कुल खसेको मतअनुसार प्रत्यक्षमा ११ हजार ६ सय १५ र समानुपातिकमा १२ हजार ४ सय ४६ मत बदर भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि खसेको कुल मत ७६ हजार ३ सय ५ मा ७ हजार ३ सय ५९ , प्रदेशसभाअन्तर्गत सल्यान १ मा खसेको ४१ हजार १ सय ७६ मतमा २ हजार ३ सय ४८ र २ मा ४१ हजार ९ सय ६७ मत खसेकोमा १ हजार ८ सय ९८ मत बदर भएका छन ।

समानुपातिकमा प्रतिनिधिसभाका लागि ८४ हजार ७ सय ८९ मत खसेकोमा ६ हजार २ सय १५ र प्रदेशसभामा ८२ हजार ९ सय ९८ मत खसेकोमा ६ हजार २ सय ३१ मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन सरोकारवाला सबैको जिम्मेवारी रहे पनि प्रभावकारी नभएकै कारण खसेको मत बढी बदर भएको निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले बताए । प्रत्यक्षमा थोरै चिह्न र समानुपातिकमा धेरै चिह्न भएकाले मतदाता अलमलमा परेका कारण समानुपातिकमा बढी मत बदर भएको उनको भनाइ छ । उनका अनुसार एकै मतदाताले एक चिह्नमा मात्र नभई धेरैमा छाप लगाएको पाइएको छ । निर्वाचनमा कार्यालयले स्वयंसेवक भर्ना गरेर जिल्लाका सबै पालिकामा मतदाता शिक्षा दिएको उनको भनाइ छ ।

सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता छन् । जिल्लाभरिका २ सय ५ मतदान केन्द्रबाट कुल ८४ हजार अर्थात् ५३.२७ प्रतिशतले मतदान गरेका थिए ।

मतदाता शिक्षा नपाउँदा मत बदर

जुम्ला– जिल्लामा यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको बदर मत हेर्दा मतदाता शिक्षा नाम मात्रै भएको देखिएको छ । प्रत्यक्ष तथा समानुपातिक गरेर ९ हजार ६ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ २ हजार ४ सय ७८ मत बदर भएकोमा प्रदेशसभा (क) तर्फ १ हजार ८२ मत बदर भएको छ । प्रदेशसभा (ख) ६ सय ९८ र प्रदेशसभा समानुपातिकतर्फ २ हजार ९ सय ३७ मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ २ हजार ४ सय ४९ मत बदर भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिनिधिसभामा ४५ हजार २ सय ८४, प्रदेश (क) मा २४ हजार ६ सय ६५ र प्रदेशसभा (ख) मा २० हजार ६ सय ७ खसेको थियो । प्रदेशसभा समानुपातिकतर्फ ४५ हजार ७ सय १३ र प्रतिनिधिसभा समानुपातिकतर्फ ४५ हजार ६ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । जिल्लाभर कुल ६८ हजार ६ सय ३८ मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ज गरेका थिए ।

मतदाता शिक्षा गाउॅमा नपुगेकोले समस्या भएको स्थानीय देबहादुर थापाले बताए । जिल्ला निर्वाचन अधिकारी महेश शर्मा धेरैजसो मतदाता साक्षर नभएकाले बदर मतको संख्या बढेको प्रतिक्रिया दिन्छन् । एउटै चिह्नमा औंठाछाप र कोठाभन्दा बाहिर स्वास्तिक छाप लगाएको पनि पाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

तीन वर्षपछि मेला-महोत्सवले रौनक

स्थानीय उत्पादनको प्रवर्द्धन र व्यवसाय चलायमान हुने अपेक्षा
सन्जु पौडेल

लुम्बिनी — हिउँदयाम सुरु भएसँगै तराईमा मेला/महोत्सव सञ्चालनमा तँछाडमछाड चल्थ्यो । उद्योग वाणिज्य संघलगायत विभिन्न व्यापारिक संघसंगठनले विभिन्न नाममा महोत्सव आयोजना गर्दै आएका थिए । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने नाममा सञ्चालन हुने महोत्सव पछिल्लो समय आम्दानीको माध्यम पनि बन्न थालेको व्यवसायीको धारणा थियो ।

कोरोना महामारीका कारण दुई वर्षसम्म मेला/महोत्सव सबै रोकिए । कोरोनाकालमा भएको नोक्सानीको भर्पाइ अहिलेसम्म पनि यहाँका व्यवसायी र नागरिकले गर्न सकेका छैनन् ।

उद्योगी तथा व्यवसायीले संस्थामा आबद्ध भई वार्षिक क्यालेन्डरमै राखेर आयोजना गर्ने मेला/महोत्सव सञ्चालन गर्न जिल्लाका केही संघसंस्थाले अहिले तयारी थालेका छन् । जिल्लास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २३ देखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । आर्थिक मन्दीलाई चलायमान बनाउने मुख्य उद्देश्यका साथ महोत्सव गर्न लागिएको संघका अध्यक्ष भीष्म न्यौपानेले बताए । उनले मेला भनेर सम्बोधन हुँदा रमाइलो मात्र बुझ्ने आममानिसलाई महोत्सवले केही भए पनि मन्दीमा परेका स्थानीय व्यवसायीको कारोबार चलायमान हुने भएकाले कार्यक्रम आयोजना गर्न लागेको जनाए ।

‘हामी महोत्सवबाट उद्योगी, व्यवसायी तथा उपभोक्तालाई जोड्ने पुल बन्न खोजेका हौं,’ उनले भने, ‘यसबाट नाफा कमाइएला भन्दा पनि सरकारले गर्न नसकेको आर्थिक चलायमानको बाटो खुल्ने महसुस भएको छ ।’ महोत्सवमा प्रदेशभित्रका औलो उद्योगदेखि कृषि उपभोग्य वस्तुका स्टल साथै कर्णाली प्रदेशको दाल, गेडागुडीका साथै मुस्ताङको स्याउसमेत उपलब्ध गराइने उनले बताए ।

न्यौपानेका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले यस्ता खालका कार्यक्रम गर्न खुला जग्गा नराखेका कारण जमिन दातासँग सहयोग मागी भौतिक संरचना बनाएरै महोत्सव गर्नुपर्ने बाध्यता रहेको बताए । यसका लागि आफूहरूले ४० लाख बढी खर्च गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी दक्षिणमा भारत, पूर्व र पश्चिममा देहात क्षेत्र भएको सेन्टरमा छौं,’ उनले भने, ‘बुटवलमा जस्तो अन्य जिल्लाका पर्यटक सजिलै आउलान् भन्ने आश पनि गर्न सकिंदैन र यहाँका स्थानीयको उपस्थिति र सीमापारिको बजारमा पाइने हरेक सामान यहाँ पनि पाइन्छ भन्ने सूचना आमजनतामा पुर्‍याउन समेत यो महोत्सवको महत्त्व देखेका छौं ।’ ३ सय ६५ दिन आफ्नो उद्योग वा पसलबाट व्यापार गरिरहेका व्यवसायीले महोत्सवमा डेमोका रूपमा आफ्ना उत्पादन राखे पनि अन्य दिन उक्त पसल खोजेरै ग्राहक आउने, बजारीकरण र प्रचारसमेतलाई यसले सहयोग गर्ने बाटो देखेको उनी बताउँछन् ।

रूपन्देही उद्योग संघले आगामी पुस ७ देखि बुटवलमा १५ औं संस्करणको प्रदर्शनी गर्ने भएको छ । स्वदेशी उद्योग र त्यसमा उत्पादन भएका वस्तुको प्रवर्द्धन नै आफूहरूको उद्देश्य रहेको संघका अध्यक्ष माधव पौडेलले बताए । उनका अनुसार संघले आयोजना गर्ने प्रदर्शनीमा स्वदेशी उत्पादन मात्र राखिने भएकाले कोरोनाको असर उद्योग तथा व्यवसायीमा पर्दा २ वर्षसम्म मेला सञ्चालन हुन सकेन ।

पहिले पहिले हरेक वर्ष प्रदर्शनी गर्ने संघले केही वर्षयता स्थानीय अन्य संस्थासँग आलोपालो गरी प्रदर्शनी गर्ने गरेको उनले बताए । ‘हामी आमनागरिक र उनीहरूलाई आवश्यक वस्तुको सहजै उपलब्धतालाई सोझो रूपमा जोड्न चाहन्छौं,’ उनले भने, ‘त्यसको एक माध्यम प्रदर्शनी पनि हो ।’ मानिसको चहलपहल र राखिएका स्टलमा भेटिने वस्तुको अवलोकनले पनि मानिसलाई नेपाली उत्पादनबारे थप जानकारी प्रदान गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।

अर्थविद् नुरजंग केसीले उद्योगका वस्तुको बजारीकरणको माध्यम मेला बनेको जनाए । ‘उत्पादनको प्रचार प्रसार गर्न पनि मेला सहयोगी बन्छ,’ उनले भने, ‘यस्ता महोत्सवका सकारात्मक पक्ष भनेकै केही न केही आर्थिक चलायमान हुनु हो ।’ तिलोत्तमामा पनि मंसिरमा सुरु हुने गरी महोत्सव सञ्चालनको तयारी चलेको छ । त्यस्तै सैनामैना र देवदह नगरपालिकामा पनि केही समयपछि मेला आयोजना हुने भएका छन् ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×