२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बाजुरा र स्याङ्जाको निर्णय कहिले ?

आयुक्त पौड्यालको जोड मतगणनामा, पुनः मतदानका पक्षमा आयुक्तद्वय जबरा र तुलाधर

काठमाडौँ — स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्ने कि मतगणना सुरु गर्ने भन्नेमा निर्वाचन आयोगका पदाधिकारीबीच नै मत नमिल्दा अन्योल लम्बिँदै गएको छ । आयोगले विवादितमध्ये दोलखामा मात्रै पुनः मतदानको निर्णय गरेको छ ।

बाजुरा र स्याङ्जाको निर्णय कहिले ?

स्याङ्जा–२ र बाजुरामा एमाले र कांग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन् । एमालेले पुनः मतदानको माग गरिरहेको छ भने कांग्रेसले मतगणनामा जोड दिइरहेको छ । स्रोतका अनुसार आयोगका ५ पदाधिकारीमध्ये केहीले पुनः मतदानको जिकिर गरिरहेका छन् भने अन्यले मंसिर ४ मा खसाइएकै मत गन्नुपर्नेमा जोड दिइरहेका छन् । आयोगले टोली पठाएर छानबिन गर्ने विषयमा समेत आयोगका पदाधिकारी एकमत हुन सकेका थिएनन् ।

आयुक्त ईश्वरी पौड्यालले स्याङ्जामा मतगणना गर्नुपर्ने र छानबिन टोली नै पठाउन नहुने भन्दै आयोगको निर्णयमा फरक मत राखेका थिए । निर्वाचन अधिकृतलाई मतगणनाको निर्देशन दिनुपर्ने उनको जिकिर थियो । आयोगले बहुमतको निर्णयका आधारमा स्याङ्जा र बाजुरामा सहसचिवको नेतृत्वमा छानबिन टोली पठाएको थियो । टोलीले मंगलबार आयोगमा प्रतिवेदन बुझाएका थिए । दुवै टोलीले पुनः निर्वाचन गर्ने वा मतगणना गर्ने यकिन सुझाव दिएका छैनन् ।

मंगलबार साँझ बसेको आयोगको बैठकमा पौड्याल गणनाको पक्षमा खुलेका थिए । आयुक्तद्वय सगुनशमशेर जबरा र जानकी तुलाधर निश्चित मतदान केन्द्रमा पुनः मतदान गरेर भए पनि आयोगप्रतिको विश्वास जोगाउनुपर्ने पक्षमा उभिएका छन् । स्याङ्जामा मृतक र विदेशमा भएकाको नाममा समेत मतदान गरिएको गुनासो आएको र बाजुरामा मतदानका क्रममा मृत्युसमेत भएकाले निश्चित मतदानस्थलमा पुनः मतदान गर्नुपर्ने उनीहरूको तर्क छ ।

प्रमुख आयुक्त थपलिया र अर्का आयुक्त रामप्रसाद भण्डारी सहमतिमै निर्णय गर्नुपर्ने पक्षमा छन् । मंगलबार बैठकमा सहमति जुट्न नसकेकाले बुधबार पुनः बैठक हुने आयोगले जनाएको छ । ‘जिल्लाबाट फर्केका टोलीले दिएको प्रतिवेदन अध्ययन भइरहेको छ । बुधबार मध्याह्नसम्म दुवै जिल्लाको निर्णय भइसक्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । उनले यस विषयमा निर्णय लिनुअघि कानुनी परामर्श पनि गर्ने जानकारी दिए ।

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ । चापाकोट नगरपालिका–१ को भानु मावि आधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोटा आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ । बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको ज्यान गएको थियो ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?