प्रदेश १ मा कुनै दलले पाएनन् स्पष्ट बहुमत

सरकार बनाउन संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च निर्णायक
देवनारायण साह

मोरङ — प्रदेश १ मा सत्ता र विपक्षी दुवैमध्ये कुनै गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने भएका छन् । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैले ४६/४६ बराबर प्रदेश सांसद पाउने भएको छ । यस प्रदेशमा सरकार गठनका लागि संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकमा प्राप्त गर्ने एउटा प्रदेश सांसद निर्णायक बन्ने देखिएको हो । 

प्रदेश १ मा कुनै दलले पाएनन् स्पष्ट बहुमत

प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ५४ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले २५, कांग्रेसले १५, माओवादी केन्द्रले ९, नेकपा (एकीकृत समाजवादी)ले ३ र राप्रपाले २ वटा क्षेत्रमा जितेका छन् । मतगणना भइरहेको सुनसरी ४(१) र ४(२) मा कांग्रेस जितनिकट रहेको तर अन्तिम मतपरिणाम आउन बाँकी छ । यस आधारमा सत्ता गठबन्धन कांग्रेसको १७, माओवादीको ९ र एकीकृत समाजवादीको ३ गरी प्रत्यक्षतर्फ २९ र एमालेको २५ र राप्रपाको २ गरी विपक्षी गठबन्धनलाई २७ सिट प्राप्त हुने देखिएको छ ।

समानुपातिकतर्फ निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार बिहानसम्ममा प्रविष्ट भएको १८ लाख २ हजार ९०७ मतमध्ये एमालेले ६ लाख २९ हजार ९५९, कांग्रेसले ५ लाख २९ हजार ८९६ मत प्राप्त गरेको छ । राप्रपाले १ लाख ९० हजार ६०४, माओवादी केन्द्रले १ लाख ७७ हजार २६१, जनता समाजवादी पार्टीले ५८ हजार ५११, एकीकृत समाजवादीले ५४ हजार ६८७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार२०४६ मत प्राप्त गरेका छन् । उदयपुरको क्षेत्र १ र सुनसरीको क्षेत्र ३ र ४ मा समानुपातिक मतगणना भइरहेको छ । क्षेत्र ४ को समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समानुपातिकतर्फ दलहरूले प्राप्त गरिरहेको मतका आधारमा ३७ समानुपातिकतर्फको प्रदेश सांसदमा एमालेले १४, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४/४, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गर्ने देखिएको छ ।

समानुपातिकतर्फ सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गरी १७, विपक्ष गठबन्धन दल एमाले, राप्रपा, जनता समाजवादी पार्टीको गरी १९ प्रदेश सांसद पाउने देखिन्छ । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक दुवैको गरी सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैलाई ४६/४६ बराबर प्रदेश सांसद प्राप्त हुने देखिएको छ । सरकार गठनका लागि समानुपातिकमा एउटा प्रदेश सांसद पाउने संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च निर्णायक हुने भएको छ । संयुक्त लोकतान्त्रिकले जुन गठबन्धनलाई समर्थन गर्छ, त्यहीको सरकार बन्ने देखिएको हो ।

पहिलो प्रदेशसभामा पनि संयुक्त लोकतान्त्रिकले समानुपातिकमा २६ हजार १२३ मत ल्याएर एउटा प्रदेश सांसद प्राप्त गरेको थियो । ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री भएका राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेश सांसद विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री छन् ।

पहिलो प्रदेशसभामा एमालेले ५१, कांग्रेसले २१, माओवादी केन्द्रले १६, तत्कालीन संघीय समाजवादी फोरमले ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गरेको थियो ।

प्रदेश सांसदमा एमालेबाट निर्वाचित भएकामध्ये केन्द्रीय नेता अर्थात् पार्टीको स्थायी कमिटी सदस्य हिक्मत कार्की मात्रै छन् । उनी एमालेको संसदीय दलको नेता र गठबन्धनको सरकार बन्ने अवस्थामा मुख्यमन्त्रीका लागि प्रमुख दाबेदार रहेको प्रदेश सांसदहरूको भनाइ छ । कार्कीले दलको नेता आफूलाई नै बनाउने पार्टीको लाइन रहेको बताए ।

सत्ता गठबन्धन दलमा पनि मुख्यमन्त्रीका आकांक्षी दलैपिच्छे छन् । आ–आफ्ना दलको नेता बन्नका लागि उनीहरूले प्रदेश सांसदहरुलाई समाजिक सञ्जालमार्फत बधाई दिनुका साथै फोन गरेर पनि दलको नेतामा सघाउन आग्रह गर्न थालेको निर्वाचित प्रदेश सांसदहरुले बताए ।

सत्ता गठबन्धन दल कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यत्रय प्रदीपकुमार सुनुवार, अमृत अर्याल, भीम पराजुली, प्रदेश १ सभापति उद्धव थापा, प्रदेश समिति महामन्त्री भूपेन्द्र राई छन् । थापाको नाम कांग्रेसको समानुपातिक सूचीमा १ नम्बरमा सिफारिस छ । उनीहरूमध्ये सुनुवार, अर्याल र राई पार्टी सभापति शेरबहादुर देउवा निकट, पराजुली र थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र कार्की कांग्रेस नेता शेखर कोइरालानिकट हुन् ।

माओवादी केन्द्रबाट मन्त्री इन्द्रबहादुर आङ्बो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य, हर्कबहादुर लावती र एकीकृत समाजवादीबाट मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । मन्त्री आङ्बोले आफू मुख्यमन्त्री बन्नका लागि सत्ता गठबन्धन दलबीच प्रदेश बाँडफाँडमा प्रदेश १ माओवादीको भागमा पार्न अभियान चलाइरहेको एक नेताले बताए ।

प्रकाशित : मंसिर १४, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?