उदयपुर-१ मा कांग्रेसका नारायण खड्का निर्वाचित   - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का निर्वाचित   

डिल्लीराम खतिवडा

उदयपुर — प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार सार्वजनिक अन्तिम मतपरिणाममा उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्काले चौथो पटक प्रतिनिधिसभा सदस्य जितेका हुन् ।  

उदयपुर-१ मा खड्काले ०६४ यता लगातार जित्दै आएका छन् । यो पटकको जित उनको चौथो जित हो । प्रतिनिधिसभा सदस्यमा अहिलेको जितमा खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका राजन किराँतीलाई हराउँदै खड्काले पहिलो पटक जितेका थिए । त्यसपछि ०७० सालको निर्वाचनमा पनि एमालेका मणिराज पौडेललाई पछि पार्दै खड्का दोस्रो पटक विजय भएका थिए । ०६४ सालमा खड्कासँग पराजित राजन अहिले सत्ता गठबन्धनबाट उदयपुर १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

०७४ सालको निर्वाचनमा अहिलेकै प्रतिद्वन्द्वी मन्जु चौधरीलाई ५४८ मतान्तरले खड्काले जितेका थिए । त्यस बेला उनले ३३ हजार १४२ मत ल्याउँदा चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन् ।

१ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिका क्षेत्र समेटिएको यस क्षेत्रमा ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

०५६ सालको निर्वाचनदेखि कांग्रेसबाट खड्काले लगातार उम्मेदवारी दिँदै आएका छन् । सुरु ०५६ सालको निर्वाचनमा भने खड्का एमालेका सुरेशकुमार कार्कीसँग पराजित भएका थिए ।

प्रकाशित : मंसिर १३, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्

रोकिएको उदयपुर-१ को मतगणना सुरु

एमालेलगायत दलका उम्मेदवारद्वारा मतगणना बहिष्कार
डिल्लीराम खतिवडा

उदयपुर — तीन दिनदेखि रोकिएको उदयपुर-१ को मतगणना ११ बजेदेखि  सुरु भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई निर्वाचन  कानुनको अधीनमा रही मतगणना अधिकारको अख्तियारी दिएपछि विवाद भएको सय मत बदर गरी गणना सुरु गरेका छन् ।


गणना सुरु गर्ने निर्णयसँगै एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलगायत उम्मेदवारले गणना बहिष्कार गरी गणनास्थलबाट बाहिर निस्किएका छन् । गणनामा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार‚ तिनका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीको सहभागिता छ ।

मतगणनाको क्रममा पछिल्लोपटक आइतबार बिहान खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मत पत्र भेटिएकाले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भैसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको थियो । त्यसै क्रममा प्रदेशसभाको क्षेत्र नम्बर २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मत गणना भैसकेको छ । गणना भैसकेको मतअनुसार कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×