१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का निर्वाचित   

डिल्लीराम खतिवडा

उदयपुर — प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार सार्वजनिक अन्तिम मतपरिणाममा उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्काले चौथो पटक प्रतिनिधिसभा सदस्य जितेका हुन् ।  

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का निर्वाचित   

उदयपुर-१ मा खड्काले ०६४ यता लगातार जित्दै आएका छन् । यो पटकको जित उनको चौथो जित हो । प्रतिनिधिसभा सदस्यमा अहिलेको जितमा खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका राजन किराँतीलाई हराउँदै खड्काले पहिलो पटक जितेका थिए । त्यसपछि ०७० सालको निर्वाचनमा पनि एमालेका मणिराज पौडेललाई पछि पार्दै खड्का दोस्रो पटक विजय भएका थिए । ०६४ सालमा खड्कासँग पराजित राजन अहिले सत्ता गठबन्धनबाट उदयपुर १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

०७४ सालको निर्वाचनमा अहिलेकै प्रतिद्वन्द्वी मन्जु चौधरीलाई ५४८ मतान्तरले खड्काले जितेका थिए । त्यस बेला उनले ३३ हजार १४२ मत ल्याउँदा चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन् ।

१ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिका क्षेत्र समेटिएको यस क्षेत्रमा ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

०५६ सालको निर्वाचनदेखि कांग्रेसबाट खड्काले लगातार उम्मेदवारी दिँदै आएका छन् । सुरु ०५६ सालको निर्वाचनमा भने खड्का एमालेका सुरेशकुमार कार्कीसँग पराजित भएका थिए ।

प्रकाशित : मंसिर १३, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?