१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

निरन्तर खुम्चँदै माओवादी केन्द्र

५ वर्षपछि भएको आवधिक निर्वाचनमा आधा क्षेत्र गुमाएको माओवादी केन्द्र नयाँ क्षेत्रहरुमा पनि पूर्णतया असफल भयो

काठमाडौँ — पहिलो संविधानसभामा प्रत्यक्षतर्फका २४० क्षेत्रमध्ये आधामा जित निकाल्दै एकाएक पहिलो पार्टीको रुपमा उदाएको माओवादी त्यसयता निरन्तर ओरालो यात्रामा छ । यो निर्वाचनमा पनि माओवादीको ओरालो यात्रा रोकिएन । २०७४ को संसदीय निर्वाचनको तुलनामा माओवादीले आधा सिटमात्रै जित निकाल्यो । 

निरन्तर खुम्चँदै माओवादी केन्द्र

सशस्त्र युद्धरत माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । प्रत्यक्षतर्फ २४० वटामध्ये आधा अर्थात् १२० वटामा जित निकालेको माओवादीले त्यसको ६ वर्षपछि भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उक्त जितको एक चौथाई पनि जोगाउन सकेन । २०७० को निर्वाचनमा २६ सिटमा (करिब ११ प्रतिशतमा) खुम्चियो । त्यसपछि माओवादीले संसदीय निर्वाचनमा पार्टीको अस्तित्व बचाउने उपायको रूपमा गठबन्धनको संस्कृतिलाई अंगाल्ने नीति लिएको देखिन्छ ।

२०७४ मा एमालेसँगको गठबन्धनबाट १६५ सिटमध्ये ३६ वटामा (करिब २२ प्रतिशत) जित निकाल्दै चार वर्ष अघिको निर्वाचनभन्दा दोब्बरको अनुपातमा आफूलाई उभ्यायो । हुम्लाबाट स्वतन्त्र उम्मेदवारको रूपमा जिते पनि छक्कबहादुर लामा पछि माओवादी प्रवेश गरेपछि माओवादीको प्रत्यक्षतर्फको जित संख्या ३७ पुगेको थियो । चुनावपछि भएको एमालेसँगको एकीकरण नटिकेपछि माओवादीले यसपटक कांग्रेस र एकीकृत समाजवादी पार्टीसँग गठबन्धनमा आबद्ध भएर निर्वाचनमा गएको थियो । जहाँ उसले ५ वर्षको भन्दा आधा मात्र अर्थात् १७ सिटमा जित निकालेको छ ।

माओवादीले जितेका यी १७ क्षेत्र हेर्दा कांग्रेस र एमालेले जितेका क्षेत्रको भन्दा फरक तस्बिर देखिन्छ । प्रत्यक्षमा पहिलेभन्दा आधा खुम्चिएको एमालेले १९ वटा क्षेत्र अर्थात् आफ्नो जितको करिब ४० प्रतिशत क्षेत्र नयाँ ठाउँमा फैलिएको देखिन्छ भने कांग्रेस त करिब दुई तिहाई नै नयाँ क्षेत्रमा पुगेको छ । तर, माओवादीले जितेका १७ वटामध्ये १४ वटा पुरानै क्षेत्रहरू हुन् । ती क्षेत्रहरू भोजपुर, मोरङ–४, सिन्धुली–२, नुवाकोट–१, काभ्रे–१, सिन्धुपाल्चोक–१, बागलुङ–२, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, दाङ–२, हुम्ला, कालीकोट र जाजरकोट हुन् । यसपटक माओवादीले तीन वटा नयाँ क्षेत्र (गोरखा–२, सर्लाही–२ र खोटाङ) जितेको छ । जसमा गोरखा–२ कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुराम भट्टराईले जितेको क्षेत्र हो भने सर्लाही–२ पनि तत्कालीन राजपाका उम्मेदवार बनेर महेन्द्र राय यादवले जितेको क्षेत्र हो । अहिले भट्टराई र यादव दुवै आवद्ध नेपाल समाजवादी पार्टीले माओवादीसँग एकीकरण गर्ने प्रक्रिया सुरु गरेको छ ।

भट्टराईले छाडेपछि गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उठेर जितेका हुन् भने यादवको क्षेत्रमा माओवादी केन्द्रकै चुनाव चिह्नबाट स्वयं यादव उम्मेदवार भएर जितेका हुन् । त्यसैले माओवादीले यो निर्वाचनमा आफूलाई विस्तार गरेको नयाँ ठाउँ भनेको केबल खोटाङ हो, जहाँ कांग्रेसको समर्थनमा माओवादी केन्द्रका रामकुमार राईले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई करिब २६०० मतले हराए ।

माओवादीले अघिल्लो निर्वाचनमा ३६ वटा क्षेत्र जित्दा एक हजारभन्दा कम मतान्तरले जितेको केबल एउटा क्षेत्र (कपिलवस्तु–१) थियो । त्यहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका चक्रपाणि खनालले कांग्रेसका दीपकुमार उपाध्यायलाई हराएका थिए । अहिले कांग्रेसको समर्थनमा खडा भएका खनाललाई एमालेका बलराम अधिकारीले १५ हजार भन्दा बढी मतान्तरले हराएका छन् ।

माओवादीले २०७४ मा १ हजार भन्दा बढी तर ५ हजारभन्दा कम मतान्तरले जितेका ११ वटा क्षेत्र थिए । तीमध्ये अहिले एमालेले तीन वटा (सोलुखुम्बु, महोत्तरी–१ र बाँके–१), कांग्रेसले दुई वटा (झापा–१ र गोरखा–१), जसपाले एउटा (सिरहा–२), नागरिक उन्मुक्ति पार्टीले एउटा (कैलाली–३) र राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा (ललितपुर–३) जिते । मोरङ–५ मा स्वतन्त्र उम्मेदवार विजयी भए भने माओवादीले केबल दुई वटा क्षेत्र (काभ्रे–१ र कालीकोट) जोगाउन सक्यो ।

माओवादी केन्द्रले २०७४ मा जितेकामध्ये अहिले २३ वटा क्षेत्र गुमाएको छ । तीमध्ये एमालेले ९ वटा, कांग्रेसले ४ वटा, राप्रपाले २ वटा, स्वतन्त्र उम्मेदवारले ३ वटा, जसपाले २ वटा तथा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक/एक वटा फुत्काए ।

विस्तृत रिपोर्ट

प्रकाशित : मंसिर १३, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?