आधा खुम्चिएको एमाले २० नयाँ क्षेत्रमा फैलियो

काठमाडौँ — २०७४ सालको चुनावमा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र आफूबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनविरुद्ध चुनावी प्रतिस्पर्धा गर्नुपर्ने परिस्थितिको कारण नेकपा एमालेले निर्वाचनमा धेरै सिट गुमाउनसक्ने प्रारम्भिक आकलनहरू नतिजा आउँदै गर्दा गलत सिद्ध भएका छन् । 

आधा खुम्चिएको एमाले २० नयाँ क्षेत्रमा फैलियो

एमालेका प्रभावशाली पदाधिकारीहरूले हारेको र ५ वर्षअघि भन्दा आधा सिट गुमाएको भए पनि एमालेले यो निर्वाचनमा डेढ दर्जन नयाँ क्षेत्र प्राप्त गरेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल, त्यसपछि पार्टी एकीकरण र बलियो वामपन्थी पार्टीको निर्माण गरी स्थायी सरकार बनाएर देशमा समृद्धि ल्याउने आकर्षक नारा दिएर चुनावमा गएको एमालेले २०७४ मा प्रत्यक्षतर्फ करिब आधार (८० वटा) निर्वाचन क्षेत्र जितेको थियो । अहिले भने करिब आधा क्षेत्र गुमाउँदै एमाले ४४ सीटमा सीमित भएको छ । एमालेले गुमाएका यी क्षेत्रहरू हेर्दा एउटा रोचक तस्बिर देखिन्छ ।

२०७४ मा बाम गठबन्धनको मतले एमालेका उम्मेदवारले जितेकामध्ये ६ वटा क्षेत्र त्यस्ता थिए– जहाँ प्रतिष्पर्धीसँगको मतान्तर एक हजार भन्दा कम थियो । मोरङ–६, धादिङ–२, काठमाडौं–८, मनाङ, मुस्ताङ र कन्चनपुर–३ मा एमाले उम्मेद्वारले एक हजार भन्दा कम मतान्तरले जितेका थिए, यी सबै क्षेत्रमा २०७४ मा कांग्रेस प्रमुख प्रतिष्पर्धी दल थियो । अहिले यीमध्ये ५ वटा क्षेत्र कांग्रेसले एमालेबाट फत्काएको छ भने एउटा क्षेत्र (काठमाडौं–८) राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले जितेका छन् । अर्थात् अघिल्लो चुनावमा एक हजार भन्दा कम मतान्तरले एमालेले जितेका सबै क्षेत्र यसपटक गुमाएको छ ।

यो निर्वाचनमा एमालेका ४२ जनामध्ये ५ जना उम्मेद्वार १ हजार भन्दा कम मतान्तरले विजयी भएका छन् । तीमध्ये तीन वटा क्षेत्र (काठमाडौं ९, ताप्लेजुंग र पाँचथर) २०७४ मै एमालेले ठूलो मतान्तरले जितेका क्षेत्रहरू हुन् भने २०७४ मा माओवादीले जितेको एउटा (सर्लाही–३) र तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) ले जितेको एउटा (पर्सा–३) एमालेले फुत्काएको हो । ती नयाँ क्षेत्रमा एमालेका उम्मेद्वार झिनो मतान्तरले विजयी भएका छन् ।

त्यस्तै २०७४ मा एमालले एक हजार भन्दा बढी तर ५ हजार भन्दा कम मतान्तरले जितेका २० क्षेत्र थिए, तीमध्ये १९ वटामा कांग्रेस र एउटामा तत्कालीन संघीय समाजवादी फोरम प्रमुख प्रतिष्पर्धी थिए । यी २० मध्ये एमालेले यसपटक केबल २ वटा क्षेत्र (सिरहा–३ र धनुषा ४) मात्र जोगाउन सक्यो, बाँकी गुमायो । सिरहा ३ र धनुषा ४ मा मतान्तर भने खुम्चिएको छ । आफू प्रमुख प्रतिष्पर्धी रहेका १८ मध्ये कांग्रेसले १४ वटा क्षेत्र (संखुवासभा, तेह्रथुम, मोरङ–३, काठमाडौं–३, तनहुँ– २, नवलपरासी पूर्व–२, म्याग्दी, कपिलवस्तु–२, बाँके–३, नवलपरासी पश्चिम–१, मुगु, सुर्खेत–१, अछाम–२ र कैलाली–५) जित्यो । बाँकी ५ मध्ये २ क्षेत्र (स्याङ्जा–२ र बाजुरा) को नतिजा आउन बाँकी छ भने एक क्षेत्र (कैलाली–२) नागरिक उन्मुक्ति र एक क्षेत्र (डोटी) एकीकृत समाजवादीले जित्यो । स्याङ्जा–२ र बाजुरामा विवादले मत गणना नै सुरु हुन सकेको छैन । एकीकृत समाजवादीका प्रेम आलेले जितेको डोटी अघिल्लोपटक एमालेबाट आलेले नै जितेको क्षेत्र हो । यसरी अघिल्लो निर्वाचनमा ५ हजार भन्दा कम मतान्तरले एमाले विजयी भएका २० क्षेत्रमा यसपटक १८ क्षेत्र एमालेले गुमायो ।

यो निर्वाचनमा १ हजार भन्दा बढी तर ५ हजार भन्दा कम मतान्तरले एमालेले जितेका क्षेत्रहरू २३ वटा छन् । जसमध्ये १४ वटा क्षेत्र (इलाम–१, इलाम–२, झापा–२, धनकुटा, सिरहा–३, मकवानपुर–२, कास्की–१, कास्की–२, पर्वत, गुल्मी–२, पाल्पा–२, रूपन्देही–१, रूपन्देही–२, र बैतडी) अघिल्लोपटक नै आफूले जितेकामध्येबाट एमालेले जोगाएको हो । बाँकीमध्ये एमालेले माओवादीबाट ५ वटा (सोलुखुम्बु, उदयरपुर–२, महोत्तरी–१, लमजुङ र अर्घाखाँची), कांग्रेसबाट तीन वटा (मोरङ–२, सिरहा–१ र कपिलवस्तु–३) र एउटा (बारा–३) तत्कालीन संघीय समाजवादी फोरमबाट खोस्न सफल भएको हो । यीमध्ये एमालेले सोलुखुम्बुमा पहिलोपटक जितेको हो । पहिले माओवादीबाट जितेका टोपबहादुर रायमाझी एमालेमा प्रवेश गरेर अहिले पनि अर्घाखाँचीबाट जित निकाले भने लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादीका महासचिव देव गुरुङलाई हराए । वाम गठबन्धनसँग एक्लै लडेर करीब ५ हजार अन्तरले कांग्रेस उम्मेद्वार विजयी भएको कपिलवस्तु–३ लाई अहिले कांग्रेसले माओवादीकोसमेत साथ पाउँदा पनि जोगाउन सकेन, एमालेले फुत्कायो । त्यसैगरी वाम गठबन्धन हुँदा झिनो मतान्तरले कांग्रेसका विजयी भएको सुनसरी ३ बाट यसपटक एमाले हात पारेको छ ।

एमालेले २०७४ मा जितेका ८० क्षेत्रमध्ये यो निर्वाचनमा २४ वटा मात्रै जोगाउन सक्यो, ५६ वटा गुमायो । तर, अघिल्लो निर्वाचन जित्न नसकेका २० वटा नयाँ क्षेत्रमा भने आफूलाई विस्तार गर्‍यो । एमालेका नयाँ २० वटा क्षेत्रमध्ये ९ वटा माओवादीबाट, ६ वटा कांग्रेसबाट, २ वटा तत्कालीन संघीय समाजवादी फोरमबाट तथा राष्ट्रिय जनमोर्चा र तत्कालीन राजपाबाट एक/एक वटा प्राप्त गरेको हो । अघिल्लो निर्वाचनमा जितेको तर एमालेले अहिले गुमाएका ५७ वटा क्षेत्रमध्ये कांग्रेसले ३५ वटा जितेको छ । सात वटा एकीकृत समाजवादीले, ५ वटा राष्ट्रिय स्वतन्त्र पार्टीले, दुई वटा राप्रपाले (मकवानपुर–१ र रूपन्देही–३), तथा नागरिक उन्मुक्ति (कैलाली–२), राष्ट्रिय जनमोर्चा (बाग्लुङ–१) र माओवादी केन्द्रले (खोटाङ) एक÷एक वटा क्षेत्र बाँडेका छन् ।

विस्तृत रिपोर्ट

प्रकाशित : मंसिर १३, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?