कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धनुषामा दोहोरियो इतिहास, ३८ वर्षपछि पतिपत्नी विजयी

श्यामसुन्दर शशि

जनकपुर — झण्डै चार दशकपछि धनुषाको संसदीय प्रतिस्पर्धाको इतिहास दोहोरिएको छ । धनुषामा 'शेर-ए-धनुषा' को रुपमा हेमबहादुर मल्ल र शारदा मल्ल निर्वाचित भएको घटनाकै झल्को दिने गरी एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमति जुली महतो एउटै जिल्लाबाट एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

धनुषामा दोहोरियो इतिहास, ३८ वर्षपछि पतिपत्नी विजयी

२०४३ को आम निर्वाचनमा शेर-ए-धनुषा भनिएका हेमबहादुर मल्ल र शारदा मल्ल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । यसको ठीक ३६ वर्षपछि २०७९ को निर्वाचनमा रघुवीर महासेठ र जुली महतो महासेठ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

जुली मधेसको राजधानी जनकपुर नगर क्षेत्र, धनुषा–३ बाट झण्डै १० हजार मतान्तरले विजयी भएकी छन् भने रघुवीर कडा प्रतिस्पर्धाबीच १ सय २४ मतको अन्तरले विजयी भए । जुलीले ३३ हजार ३ सय ५५ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले २३ हजार ६ सय ८६ मत प्राप्त गरे । धनुषा–४ बाट एमाले उम्मेदवार महासेठले ३२ हजार २ सय ३६ तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।

यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ श्रीमान–श्रीमति प्रतिनिधिसभा पुग्ने रघुवीर र जुली पहिलो दम्पती पनि हुन् । यद्यपि प्रत्यक्ष र समानुपातिकमा भने अन्य दलमा अरु दम्पतीहरु पनि प्रतिनिधिसभा सदस्य बन्दै आएका छन् ।

नेकपा एमालेका मधेस प्रदेश इन्चार्जसमेत रहेका महासेठ दम्पतीलाई पार्टीले प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गर्दा प्रभु साहलगायत नेताहरुले तिखो आलोचना गरेका थिए । जसकारण उम्मेदवारी दर्ता गर्ने बेला नै प्रभु साहले पार्टी नै छाड्नु परेको थियो ।

महासेठसँग आन्तरिक संघर्ष चलेपछि साहले पार्टी नै छोड्न पुगे । रघुवीर र जुली भने दुवै निर्वाचित भए । जुन घटनालाई लिएर ‘हेमबहादुर प्रवृति मौलाएको’भन्दै टिप्पणी पनि हुने गरेको छ ।

धनुषा–४ मा महासेठका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले त सार्वजनिक सभाहरूमै ‘हेमबहादुर प्रवृति (श्रीमान–श्रीमतिको जित)को विरुद्ध मतदान गर्न अपिल गर्दै आएका थिए ।

तर धनुषाका मतदाताहरुले महासेठ दम्पतीलाई पत्याएर प्रतिनिधिसभा सदस्य बनाएका छन् । पार्टी निकट नेता कार्यकर्ताहरु महासेठ दम्पतीलाई क्षमतावान र असल नेता मान्छन् । ‘श्रीमान–श्रीमति दुबै क्षमतावान छन् भन्ने कुरा मतदाताहरुले प्रमाणित गरिसकेका छन्,' एमाले मधेस प्रदेश कमिटी सदस्य शिवशंकर साह ‘हिरा’ ले भने ।

२०७४ को निर्वाचनमा मधेस प्रदेशका प्रत्यक्षतर्फ ३२ प्रतिनिधिसभा सदस्यमध्ये एमालेले दुई सिट मात्र जित निकाल्न सकेको थियो । धनुषाबाट महासेठ र सिरहाबाट लीलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । माओवादी केन्द्रसँगको सशक्त वाम गठबन्धन रहेको बेला पनि मधेस प्रदेशमा दुई सिट मात्र निकाल्न सकेको नेकपा एमाले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा मधेसको सबभन्दा ठूलो दल बन्दै ९ स्थानमा जित निकालेको छ ।

मधेस भूमिबाट राजनीति गर्ने मधेसीमूलका नेताहरुमध्ये महासेठ पार्टी नेतृत्वले सर्वाधिक मन पराएका नेता हुन् । उनको प्रभाव धनुषासँगै सिँगै मधेस प्रदेशभर मानिन्छ । महासेठ २०६४ को निर्वाचनमा रामवरण यादवसँग पराजित भएका थिए । तर यादव राष्ट्रपति निर्वाचित भएपछि २०६५ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा महासेठ धनुषा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए भने जुली महतो समानुपातिकतर्फ ।

पूर्वी धनुषाको खजुरी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा महासेठले विराटनगरबाट विज्ञान विषयमा आईएस्सी उत्तीर्ण गरेपछि इन्जिनियरिङको अध्ययन गर्न कोलम्बो प्लान अन्तर्गत भारतको राँचीबाट इन्जिनियरिङको अध्ययन गरेका थिए ।

उनी केही वर्ष सिञ्चाइ विभागमा जागिरसमेत गरेका थिए । जिल्ला विकास समिति धनुषाका पूर्वसभापति रामचरित्र साहका अनुसार २०५२ सालमा जुली कुमारी महतोसँग विवाह हुनुभन्दा पहिले उनी कम्युनिस्ट पार्टीमा लागि सकेका थिए ।

‘खजुरी माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी कम्युनिस्ट पार्टीसँग सम्बद्ध थिए । छात्र राजनीतिमा लागेर उनी पटकपटक पक्राउ पनि परेका थिए,’ जिल्ला विकास समितिका सभापति तथा खजुरी निवासी रामचरित्र साहले भने ।

जुली कुमारी महतो पति रघुवीर महासेठको प्रभाव भन्दा पनि पार्टीमा आफैं पनि लगानी र व्यक्तिगत क्षमताको आधारमा उम्मेदवार बनाइएको नेकपा एमाले धनुषाका उप–सचिव श्याम पुर्वेको दाबी छ । माईती सिरहाको कर्जनहा माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनि अनेरास्ववियुसंग आवद्ध रहेकी तथा महतो परिवार कम्युनिस्ट नेता विष्णु मानन्धरको नजिक रहेको पुर्वे बताउँछन् ।

प्रकाशित : मंसिर १३, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?