रोकिएको उदयपुर-१ को मतगणना सुरु- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएको उदयपुर-१ को मतगणना सुरु

एमालेलगायत दलका उम्मेदवारद्वारा मतगणना बहिष्कार
डिल्लीराम खतिवडा

उदयपुर — तीन दिनदेखि रोकिएको उदयपुर-१ को मतगणना ११ बजेदेखि  सुरु भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई निर्वाचन  कानुनको अधीनमा रही मतगणना अधिकारको अख्तियारी दिएपछि विवाद भएको सय मत बदर गरी गणना सुरु गरेका छन् ।


गणना सुरु गर्ने निर्णयसँगै एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलगायत उम्मेदवारले गणना बहिष्कार गरी गणनास्थलबाट बाहिर निस्किएका छन् । गणनामा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार‚ तिनका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीको सहभागिता छ ।

मतगणनाको क्रममा पछिल्लोपटक आइतबार बिहान खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मत पत्र भेटिएकाले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भैसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको थियो । त्यसै क्रममा प्रदेशसभाको क्षेत्र नम्बर २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मत गणना भैसकेको छ । गणना भैसकेको मतअनुसार कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुर- १ को मतगणनामा अन्योल कायमै

डिल्लीराम खतिवडा

उदयपुर — निर्वाचन अधिकृतको कार्यालयले पटकपटक सार्वजनिक सूचना जारी गर्दै मतगणना सुरु गर्ने भनिए पनि दुई दिनयता रोकिएको उदयपुर १ को मतगणना अहिलेसम्म नहुँदा अन्योल भएको छ ।

पछिल्लो पटक निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई कानुनअनुसार निर्णय गर्न अधिकार प्रत्यायोजन गरेपछि माइकिङ गरेर मतगणना सुरु गर्ने भनिएको थियो । सोमबार साँझ पौने ७ बजे पनि सार्वजनिक सूचना जारी गर्दै ८ बजेबाट गणना गर्ने भनिए पनि मतगणना अझै सुरु भएको छैन ।

आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई कानुनअनुसार निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको भनिएको छ । त्यसैका आधारमा मतगणना सुरु गर्ने भनिएको हो तर अहिलेसम्म गणना सुरु नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उद्धव अधिकारीले बताए ।

आयोगले निर्देशन दिँदै मतगणनाअघि भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन भनेको थियो । साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको पत्रबमोजिम मतगणना कार्यलाई दिने आयोगको निर्णय भएको भनिएको थियो ।

आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाको लागि १० मतपेटिका खोलिएको हो । त्यसै क्रममा प्रदेश २ को १०० मतपत्र भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ २२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×