कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखामा प्रत्यक्षभन्दा समानुपातिकमा धेरै मत बदर

हरिराम उप्रेती

गोरखा — मतदाता शिक्षाको कमिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको दर बढेको छ । प्रत्यक्षतर्फभन्दा समानुपातिकमा बदर मतको संख्या बढी छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा ५.७३ र प्रत्यक्षतर्फ ५.४२ प्रतिशत मत वदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए । 

गोरखामा प्रत्यक्षभन्दा समानुपातिकमा धेरै मत बदर

२ लाख २० हजार ६ सय ३७ मतदाता रहेको गोरखामा झन्डै आधा मतदाताले मतदान प्रक्रियामा भाग लिएनन् । १ लाख १५ हजार ३ सय ९७ मतदाता रहेको प्रतिनिधिसभा गोरखा–१ को प्रत्यक्षतर्फ ६० हजार २ सय ८२ मत मात्र खसेको थियो । तीमध्ये ३ हजार ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्रको तुलनामा समानुपातिकतर्फ मत बदरको संख्या बढी छ । गोरखा–१ मा सदर भएको ५६ हजार ३ सय ६२ मतमध्ये ३ हजार ५ सय ८१ मत बदर भएको छ ।

६० हजार ७ सय ४४ मतदाता रहेको गोरखा १ (१) प्रदेशसभामा ३९ हजार ४ सय ९४ मत मात्र खसेकोमा १ हजार ५० मत बदर भएको निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ । उक्त प्रदेशसभामा २९ हजार ४ सय ४४ मत मात्र सदर भएको थियो । ५४ हजार ६ सय ५३ मतदाता रहेको १ (२) प्रदेशसभामा पनि आधाभन्दा कम मत खसेको छ । खसेको २९ हजार ६ सय ४९ मतमध्ये १ हजार १ सय ६२ मत बदर भएको छ । उक्त प्रदेशको समानुपातिकतर्फ पनि ५६ हजार ५ सय ९३ सदर मतमध्ये ४ हजार ३ सय २३ मत बदर भएको छ ।

गोरखा–२ तर्फ बदर मतको संख्या बढी छ । १ लाख ५ हजार २ सय ४० मतदाता रहेको गोरखा–२ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५४ हजार ४४ मत खसेको थियो । तीमध्ये ५० हजार ९ सय १८ मत सदर भयो भने ३ हजार १ सय २६ मत बदर भयो । समानुपातिकतर्फ भने ५१ हजार २ सय १४ मत सदर र २ हजार ९ सय ५९ मत बदर भएको छ । गोरखा २ (१) प्रदेशसभामाको प्रत्यक्षतर्फ ५० हजार ३ सय ७६ मतदाता रहेकोमा २६ हजार ४ सय ९८ मत खसेकोमा १ हजार २ सय १३ मत बदर भएको छ । ५४ हजार ८ सय ६४ मतदाता रहेको २ को २ प्रदेशसभामा पनि प्रत्यक्षतर्फ २४ हजार १ सय ४३ मत खसेको थियो । तीमध्ये १ हजार ४३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । उक्त प्रदेशको समानुपातिकमा खसेको ५३ हजार ९ सय ४१ मध्ये ४ हजार १ सय १८ मत बदर भएको छ । निर्वाचन कार्यालयले यसपटकको निर्वाचनमा बदर मत न्यूनीकरण गर्दै २ देखि ३ प्रतिशत हुने अनुमान गरेको थियो ।

यस पटकको मत बदरको प्रकृति हेर्दा बदर भएको मतपत्रको ५० प्रतिशतमा दुई वा सोभन्दा बढी चिह्नमा छाप लगाएको पाइएको सूचना अधिकारी सुवेदीले बताए । केही बदर भएका मतपत्रमा कुनै पनि चिह्नमा छाप नलगाएको, दुईवटा चिह्नको बीचमा पर्ने गरी छाप लगाएको, चिह्नको घेराभन्दा बाहिर छाप लगाएको पाइएको उनले बताए ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?