१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जुम्लामा मतदाता शिक्षा अभावमा मत बदर

डीबी बुढा

जुम्ला — जिल्ला निर्वाचन कार्यालय जुम्लाले मंसिर १४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि हरेक पालिकामा नमुना मतदान गरेर मतदाता शिक्षा प्रदान गरेको थियो । तर कुनै पनि मतदाताले आफ्नो मत बदर नगरुन् भन्ने उद्देश्यले गरिएको मतदाता शिक्षा अप्रभावकारी बनेको छ ।

जुम्लामा मतदाता शिक्षा अभावमा मत बदर

यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको बदर मत हेर्दा 'मतदाता शिक्षा' नाम मात्रै भएको देखिन्छ । जहाँ प्रत्यक्ष तथा समानुपातिक गरेर ९ हजार ६ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयको तथ्यांकले देखाउँछ ।

प्रतिनिधिसभातर्फ २ हजार ४ सय ७८ मत बदर भएकोमा प्रदेशसभा (१) तर्फ १ हजार ८२ मत बदर भएको छ । प्रदेशसभा (२) ६ सय ९८ र प्रदेशसभा समानुपातिकतर्फ २ हजार ९ सय ३७ मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ २ हजार ४ सय ४९ मत बदर भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिनिधिसभामा ४५ हजार २ सय ८४, प्रदेश (१) मा २४ हजार ६ सय ६५ र प्रदेशसभा (२) मा २० हजार ६ सय ७ खसेको थियो । प्रदेशसभा समानुपातिकतर्फ ४५ हजार ७ सय १३ र प्रतिनिधिसभा समानुपातिकतर्फ ४५ हजार ६ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।

जिल्लाभर कुल ६८ हजार ६ सय ३८ मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ज गरेका थिए । मतदाता शिक्षा नपाउनुलाई मत बदर भएको मुख्य कारण मानिएको छ । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णय मात्रै गरेको तर कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको स्थानीय अगुवाहरू बताउँछन् ।

मतदाता शिक्षा गाउँमा नपुगेको साथै मतदान केन्द्रमा खटिने कर्मचारीले समेत राम्रोसँग बुझाउन नसकेको बुझिएको छ । मतदातालाई स्वस्तिक छाप लगाउने मात्र थाहा भएकाले समस्या भएको स्थानीय अगुवा देबहादुर थापाले जानकारी दिए ।

मतदान केन्द्रमा मतदाताले गोप्य मतदान गर्न पाउने प्राबधान छ । जसकारण मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदान गरेको चुनाव चिह्न हेर्न मिल्दैन । तर मतपत्रमा भएको चिह्नमा प्रष्ट रुपमा छाप लगाउनेबारे सिकाउन सकिन्छ ।

मतदाता शिक्षित नहुनु, दलका कार्यकर्ताले चाहिने भन्दै धेरै ठाउँमा छाप लगाउन दबाब दिनुले पनि मत बदर हुने सम्भावना हुने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्मा धेरैजसो मतदाता साक्षर नभएकाले बदर मतको संख्या बढेको प्रतिक्रिया दिन्छन् । घरदैलोमा पुगेका दलका कार्यकर्ताले पनि मतदाता शिक्षा दिनु पर्नेमा त्यसो हुन नसकेकोमा जोड दिए ।

'मतदाता शिक्षा दिन अधिकतम प्रयास भएको हो, तर जनशक्तिको अभाव र भौगोलिक रुपमा विकट जिल्ला भएकोले समस्या आएको हो,' शर्माले भने, ‘दलहरूले पनि मतदातालाई जागरुक बनाउन कोसिस नगर्नु मुख्य कारण हो ।’

एउटै चिह्नमा औंठाछाप लगाएको, कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएको, चिह्न छुने गरेर छाप लगाएको र एकै मतपत्रमा दुई ठाउँमा छाप लगाउँदा मत बदर भएको हो ।

प्रकाशित : मंसिर १२, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?