१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एमालेबाट प्रत्यक्ष चुनाव जित्ने १६ नयाँ अनुहार

काठमाडौँ — नेकपा एमालेका हालसम्म प्रतिनिधिसभामा निर्वाचित सांसदमध्ये १६ जना नयाँ अनुहार छन् । संसद्मा उनीहरू पहिलोपटक प्रवेश गर्न लागेका हुन् । हालसम्म सार्वजनिक भएको परिणाम अनुसार एमालेका ४२ उम्मेदवार निर्वाचित भएका छन् । जसमध्ये १६ जना पहिलो पटक सांसद बनेका हुन् ।

एमालेबाट प्रत्यक्ष चुनाव जित्ने १६ नयाँ अनुहार

पहिलो पटक सफलता हासिल गर्ने सांसदहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम-२ बाट पराजित गर्ने महेश बस्नेतदेखि कन्चनपुर-१ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई पराजित गर्ने तारा लामासम्म छन् ।

त्यसैगरी उदयपुर-२ बाट अम्बरबहादुर रायमाझी, सोलुबाट मानवीर राई, सिराहा-१ बाट रामशंकर यादव, महोत्तरी-१ बाट लक्ष्मी कोइरी र बारा-१ बाट अच्युत मैनालीले पहिलो पटक संसद भवन छिर्ने अवसर पाएका हुन् । सो सूचीमा मकवानपुर-२ का महेश बर्तौला, ललितपुर-२ का प्रेमबहादुर महर्जन, कास्की-१ का मनबहादुर गुरुङ, कास्की-३ दामोदर पौडेल बैरागी, पाल्पा-१ का नारायण आचार्य, पाल्पा-२ का ठाकुर गैरे, रुपन्देही ५ का बासुदेव घिमिरे, प्यूठानका सूर्य थापा, बाँके-१ का सूर्य ढकालको नाम छ ।

उदयपुर २ का रायमाझीले गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । सोलुबाट विजयी मानबहादुर राईले एमालेलाई सोलुमा पहिलो जित दिलाएका हुन् । उनले कांग्रेसका बलबहादुर केसीलाई पराजित गरेका हुन् । २०४८ साल यताको कुनै पनि चुनावमा सो जिल्लामा एमालेले जित निकाल्न सकेको थिएन ।

सिराहामा रामशंकर यादवले कांग्रेसका पद्मनारायण चौधरीलाई पराजित गरेका हुन् । दुवैबीच २०५६ सालमा पनि प्रतिस्पर्धा भएको थियो । दुवै पराजित भएका थिए । यादव त्यस समयमा नेकपा मालेबाट उम्मेदवार थिए भने चौधरी कांग्रेसबाट। त्यसैगरी लक्ष्मी कोइरीले नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराएका हुन् । महोत्तरी-१ बाट पोखरेल लगातार ३ पटक विजयी भएका थिए । कोइरी मनोनयनको केही दिनअघि जसपाबाट एमालेमा प्रवेश गरेका नेता हुन् । त्यसैगरी एमालेका अच्युत मैनाली पहिलो पटक निर्वाचित भएका हुन् । कांग्रेसका उम्मेदवार खानेपानी मन्त्री रहेका उमाकान्त चौधरीले २०७४ सालको चुनावमा मैनालीलाई पराजित गरेका थिए । यसपटक चौधरीलाई मैनालीले हराए । त्यसैगरी पूर्व विद्यार्थी नेता महेश बर्तौला मकवानपुर-२ बाट निर्वाचित भए । बर्तौलाले एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका हुन् । ललितपुर-२ मा प्रेमबहादुर महर्जन हाम्रो नेपाली पार्टीका सुदन शाक्यलाई हराउँदै पहिलो पटक संसद बनेका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णलाल महर्जन चौथो स्थानमा रहे ।

कास्की-१ बाट एमालेका मनबहादुर गुरुङले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गर्दै पहिलो पटक सांसद बन्ने अवसर बनाएका हुन् । एमालेले तीनै स्थान जितेको कास्की-३ बाट दामोदर पौडेल बैरागी पनि पहिलो पटक निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका रामजीप्रसाद बराललाई ५ हजार मतान्तरले पराजित गरे ।

कास्की जस्तै लुम्बिनी प्रदेशको पाल्पाका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो । पाल्पा-१ बाट नारायण आचार्य र पाल्पा-२ बाट ठाकुर गैरे निर्वाचित भएका छन् । आचार्य र गैरे दुवै पहिलो पटक सांसद बनेका हुन् । आचार्यले कांग्रेसका ज्ञानबहादुर गाहालाई ११ हजार मतान्तरले पराजित गरेका थिए । पूर्व विद्यार्थी नेता ठाकुर गैरेले एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई करिब ४ हजार मतान्तरले पराजित गरे ।

रुपन्देही-५ बाट निर्वाचित बासुदेव घिमिरेले लगातार ३ पटक सांसद जितेका भरत शाहलाई पराजित गरेका हुन् । तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको उम्मेदवारीको विषयमा अन्तिम समयसम्म अन्यौल बनेको थियो । एमालेले घिमिरेको स्थानमा खिमलाल भट्टराईलाई टिकट दिएपछि केही दिन अन्यौलको अवस्थामा रहेको थियो । निर्वाचन आयोगले भट्टराई नभइ एमालेका घिमिरेलाई मान्यता दिएको थियो ।

एमाले केन्द्रीय सदस्य सूर्य थापा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन् । थापाले ६ हजार मतान्तरमा पौडेललाई पराजित गरेका हुन् । पौडेल गठबन्धनको तर्फबाट उम्मेदवार थिइन् ।

बाँके-१ का सूर्य ढकाल र कञ्चनपुर-१ का तारा लामाले गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका उम्मेदवारहरुलाई पराजित गरेका हुन् । ढकालले महेश्वरजंग गहतराजलाई करिब ६ हजार र लामाले बिना मगरलाई ५ हजार मतान्तरले पराजित गरेका हुन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेका ४२ जना उम्मेदवार विजयी भएका छन् भने एक जना अग्रस्थानमा रहेका छन् । सुनसरी-३ मा अग्रता कायम गरेकी भगवती चौधरीले जीत हासिल गरे उनी पहिलो पटक सांसद मात्रै बन्ने छिन् ।

प्रकाशित : मंसिर १२, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?