२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

इलाममा नेम्वाङको कठिन जित, खनाललाई झड्का

इलाम–२ मा एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले कडा चुनौती दिए । खनाललाई भने उनकै पूर्वपार्टीका जिल्ला अध्यक्ष महेश बस्नेतले रोके ।
विप्लव भट्टराई

इलाम — राष्ट्रिय राजनीतिमा इलामबाट झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ दुईजना नेताले प्रभाव जमाउँदै आएका थिए । एमालेमा रहेर वर्षौं राजनीतिक गरिरहेका खनाल र नेम्वाङ यसपटक दुई फरक पार्टीबाट चुनावी प्रतिस्पर्धानमा उत्रिए । एमालेका अध्यक्ष समेत भएका र प्रधानमन्त्री समेत बनिसकेका खनाल यसपटक नेकपा एकीकृत समाजवादीकोतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिदा पराजय ब्योहोरे । सभामुख समेत भइसकेका र हाल एमालेका उपाध्यक्ष रहेका नेम्वाङले भने मुस्किलले जिते ।

इलाममा नेम्वाङको कठिन जित, खनाललाई झड्का

इलाम–२ मा एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले कडा चुनौती दिए । खनाललाई भने उनकै पूर्वपार्टीका जिल्ला अध्यक्ष महेश बस्नेतले रोके ।

नेम्वाङले कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई १ सय १४ मतको झिनो अन्तरले पराजित गर्दा सत्ता गठबन्धनकै दलले गणना प्रक्रियामा चित्त बुझाएन् । ‘सेटिङ’ गरेरै आफूलाई हराएको आरोप लगाउँदै खड्काले कानुनी उपचारमा लाग्ने बताएका छन् ।

६९ हजार ८५ मत खसेको यो निर्वाचन क्षेत्रमा नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिस्पर्धी खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए । संसदीय चुनावी यात्रामा इलाम- २ बाट लगातार पाँचौं जित निकाल्ने क्रममा नेम्वाङले पहिलोपटक निकै संघर्ष गर्नुपरेको हो ।

०५६ देखि एमालेबाट लगातार उम्मेदवार बन्दै आएका नेम्वाङले सबै निर्वाचन जित्दै आएका छन् । ०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्वाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गरेका नेम्वाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसकै थापालाई दोस्रो पटक पराजित गर्दै संसद्मा उपस्थिति जनाएका थिए ।

पार्टी अध्यक्ष केपी ओलीनिकट रेहर पार्टीमा शालिन र शान्त नेताको छवि बनाएका नेम्वाङलाई मतदाताले यो पटक दिएको अभिमत भने गुनासोमिश्रित रहेको छ । लामो समयसम्म प्रतिनिधित्व गरेर पनि आफ्नो क्षेत्रलाई पछौटे हुनबाट नजोगाएको आरोप खेप्दै चुनावी मैदानमा आएका नेम्वाङलाई गठबन्धनको बल र कांग्रेसका युवा प्रतिस्पर्धीको चर्को दबाब खेप्नुपऱ्यो । नेम्वाङलाई आफ्नै नेतृत्वमा बनेको संविधान मिचेर प्रतिगमनमा साथ दिएको भन्ने आरोप फर्स्याउन पनि प्रशस्तै समय खर्चनु पऱ्यो । पार्टी फुटको झड्का त उनले प्रश्न नै झेल्नु परेको थियो । यहाँका जनताले चाहे पुन: चुनाव लड्न आउने संकेत गरेका नेम्वाङको अबको राजनीतिक भूमिका जिल्लावासीका लागि चासोको विषय बन्नेछ ।

इलाम घर भएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियूमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय उनी जेलसमेत परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाका सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । उनी जनआन्दोलन ०६२/०६३ सँगै पुन:स्थापित संसद्का सभामुख बने । दुवै संविधानसभाको अध्यक्षको भूमिका निर्वाह गर्ने अवसर पाए ।

यसअघि नेकपा एमालेबाटै चुनाव जितेर प्रधानमन्त्रीसमेत बनेका खनाललाई भने यो चुनावले नमिठो धक्का दियो । पार्टी फुटाएको अपजस पाएका खनालका लागि न गठबन्धनको ठूलो भर देखियो न चुनाव जित्न अफ्नै संगठन पर्याप्त रह्यो । सातौं पटकको संसदीय चुनावी यात्रामा छैटौं जितको खोजीमा रहेका खनालको मेहनत पूर्वपार्टीका बस्नेतसामु पर्याप्त देखिएन । आफ्नै कार्यकर्तासँग पराजय भोग्दै गर्दा खनाल पनि चुनावी प्रक्रियामा असन्तुष्टि जनाउँदै पुन: निर्वाचन माग गर्नेसम्मको स्थितिमा पुगे ।

स्थानीय तहमा माईजोगमाई गाउँपालिकामा नेकपा एसका उम्मेदवार हारेको विषयमा कांग्रेसविरुद्ध दिएको अभिव्यक्तिले पनि खनाललाई यो अवस्थामा पुर्‍याएको कांग्रेसका स्थानीय नेताको भनाइ छ । सूर्योदय नगरपालिकाको कार्यपालिका र जिससमा एमालेसँगको साँठगाँठ कांग्रेस कार्यकर्तालाई मन परेको थिएन ।

लामो समयसम्म शक्तिमा रहे पनि इलाम–१ मा पूर्वाधार विकासका ठोस योजना नल्याएको आरोप खनाललाई निरन्तर लाग्यो । जिर्मलेदेखि सन्दकपुरसम्मको सीमा सडक, नयाँबजारदेखि बाघखोरसम्मको चक्रपथ पूरा नहुनु, शिक्षा र स्वास्थ्यमा ठोस काम नभएको, चियालगायतका कृषि उपजमा देखिएका समस्या समाधान नभएको जस्ता आरोप चिर्न पनि खनाललाई हम्मेहम्मे पर्‍यो । लामो समयसम्म सत्ता र शक्तिको नजिक रहेका खनालको अवको राजनीतिक भूमिका कस्तो हुने भन्ने विषय चासोको विषय छ ।

एमालेमा रहँदा आफ्नै कार्यकर्ता रहेका बस्नेतसँग खनाल २ हजार ६ सय ६४ मतान्तरले पराजित भएका हुन् । ५९ हजार १ सय ३६ मत खसेकोमा बस्नेतले २५ हजार ७ सय ५३ मत प्राप्त गर्दा खनालले २३ हजार ८९ मत मात्र प्राप्त गरे ।

खनालले २०४८ पछिका ६ मध्ये पाँचवटा चुनाव सोही क्षेत्रबाट एमालेबाट जित्दै आएका थिए । पार्टी विभाजनपछि खनाल एकीकृत समाजवादीमा लागेका थिए । खनालले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए । खनाल २०५६ सालको आम निर्वाचनमा कांग्रेसका बेनुप प्रसाईसँग पराजित भएका थिए ।

२०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष बनेका बस्नेत इलाम नगरपालिकाको २ पटक मेयर बने । पार्टी फुटपछि खनालको स्थानमा अवसर पाएका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामै जित हासिल गरे ।

१७ भदौ २०१७ मा इलामको साविक शान्तिपुर (हाल रोङ गाउँपालिका) मा जन्मिएका बस्नेत २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका थिए ।

इतिहासमा स्नातकोत्तर बस्नेत २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे । २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी एमालेबाट इलाम नगरपालिकाको मेयरमा निर्वाचित भए । त्यस्तै राज्य पुनर्संरचनापछि २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट समेत इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १२, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?