जो झिनो मतान्तरले जिते

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हारजितमा कतै ६ मत त कतै डेढ सय मतको अन्तर

धनुषा, बारा‚ राजविराज — धनुषामा प्रतिनिधिसभा र प्रदेशसभामा रोमाञ्चक प्रतिस्पर्धा भएको छ । झिनो मतान्तरले हारजित भएपछि निर्वाचन रोमाञ्चक बनेको हो । धनुषा–१ (१) मा नेपाली कांग्रेसका सञ्जयकुमार महतो ६ मतको अन्तरले विजयी भएका छन् ।

जो झिनो मतान्तरले जिते

प्रदेशसभामा निर्वाचित महतोले १० हजार ९ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जसपाका सुकेश्वर यादवले १० हजार ९ सय ४९ मत प्राप्त गरे । मतगणनाको सुरुदेखि नै एकअर्कालाई पच्छ्याएका थिए । अन्तिम समयसम्म दुवैबीच मत अन्तर कम हुँदा को हार्ने, को जित्ने अन्योल थियो । सप्तरी–३ (२) मा जनमत पार्टीका शम्भुकुमार साह जसपाका बिन्देश्वरप्रसाद साहलाई ४८ मतान्तरले हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सप्तरीबाट ०७४ मा प्रदेश सांसदमा निर्वाचित साहलाई जनमतका शम्भुले झिनो मतान्तरले जितेपछि पराजित पक्ष स्तब्ध छ । बारा–३ (२) मा एमालेका मोहम्मद समीरले जसपाका पारसप्रसाद साहलाई ६८ मतले पराजित गरे । समीरले ८ हजार ३ सय २३ मत प्राप्त गरे भने साहले ८ हजार २ सय ५५ मत ल्याए ।

धनुषा–२ मा कांग्रेसबाट निर्वाचित रामकृष्ण यादवसँग एमालेका उमाशंकर अरगरियाको प्रतिस्पर्धा पनि रोचक भयो । प्रतिनिधिसभामा निर्वाचित यादवले २० हजार १ सय १२ मत प्राप्त गरे भने अरगरियाले १९ हजार ९ सय ५५ मत पाए । १५७ मतान्तरले यादव विजयी भएका छन् । मतगणनाको सुरुदेखि अरगरियाले अग्रता लिएका थिए । रामकृष्णले मतान्तर घटाएर अग्रता लिँदै झिनो मतान्तरले जित हासिल गरेका हुन् । महोत्तरी–३ (१) मा लोसपाका अभिराम शर्माले जसपाका दिपेन्द्र झालाई १७४ मतान्तरले पराजित गरेका छन् । मधेस प्रदेश सरकार मुख्यन्यायाधिवक्ता झाले मतगणनाको सुरुदेखि अग्रता लिएका थिए । तर, यसै क्षेत्रबाट ०७४ मा निर्वाचित शर्माले अन्तिम समयमा झालाई पराजित गरे ।

सिरहा–१ (१) मा एमालेका राजेन्द्रप्रसाद चौधरीले कांग्रेसका सुनिलकुमार महतोलाई १ सय ७१ मतान्तरले पराजित गरेका छन् । चौधरीले ११ हजार ७ सय २१ मत प्राप्त गरे भने महतोले ११ हजार ५ सय ५० मत पाए । सिरहा४ (२) मा लोसपाका रामबाबु यादवले जसपाका सुरेशकुमार मण्डललाई ३ सय ६५ मत अन्तरले पराजित गरेका छन् । ०७४ निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएर मधेस प्रदेश सरकारमा राज्यमन्त्री भएका मण्डललाई लोसपाका यादवले थोरै मतान्तरले पराजित गरेको हो ।

तेजुलालको ह्याट्रिक जित

कांग्रेस नेता तेजुलाल चौधरीले प्रतिनिधिसभामा ‘ह्याट्रिक’ जित निकालेका छन् । उनी सप्तरी–४ बाट तेस्रो पटक चुनिएका हुन् । निर्वाचन आयोगका अनुसार चौधरीले २३ हजार ४ सय ९१ मत पाए । उनका प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७ हजार ९ सय ७७ मत प्राप्त गरे । यो जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । चार वटा प्रतिनिधिसभा क्षेत्र रहेको सप्तरीका अन्य क्षेत्र नम्बर १ मा जसपाका नवलकिशोर साह, २ मा जनमतका सीके राउत, ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी भए । ८ प्रदेशसभा क्षेत्रमध्ये जनमत पार्टीले ४, कांग्रेस, एमाले, नेकपा एस र स्वतन्त्रले एक/एक स्थान जिते ।

बारा–२ मा यादव निर्वाचित

बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका नेता रामसहाय यादव निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार शिवचन्द्र कुसवाहा र आफ्नै पार्टीका बागी उम्मेदवार केन्द्रीय सदस्य रामकिशोर यादवलाई पछि पार्दै उनी चुनिएका हुन् । रामसहायले १३ हजार ८ सय २२ मत ल्याए । उनका प्रतिस्पर्धी कुसवाहाले १३ हजार ४ सय ६८ मत पाए । रामकिशोरले ११ हजार ४३ मत ल्याए । शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा लागेका उनी २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए । त्यसपछि २०७४ मा बारा–२ बाट उम्मेदवार भएका उनले कांग्रेसका राधेचन्द यादवलाई पराजित गरेका थिए ।

सिरहा २ मा यादव विजयी

सिरहा– सिरहा–२ को प्रतिनिधिसभा सदस्यमा जसपाका राजकिशोर यादव विजयी भएका छन् । उनले सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसकी चित्रलेखा यादवलाई १ हजार १ सय ५० मतान्तरले पराजित गरे । यादवले २४ हजार १ सय ७८ मत पाए । चित्रलेखाले २३ हजार २८ मत पाइन् । सिरहा–२ (१) को प्रदेशसभा सदस्यमा जनमत पार्टीका सञ्जयकुमार यादव विजयी भए । यादवले मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जसपाका विजयकुमार यादवलाई ६ सय ४४ मतान्तरले पराजित गरेका हुन् । विजयी यादवले १२ हजार १ सय ७१ मत प्राप्त गरे भने विजयकुमारले ११ हजार ५ सय २७ मत पाए । सिरहा–२ (२) को प्रदेशसभा सदस्यमा एमालेका शत्रुधनप्रसाद सिंह विजयी भएका छन् । सिंहले एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तवलाई २ हजार ७ सय ७२ मतान्तरले पराजित गरे ।

यादव तेस्रो पटक विजयी

सर्लाही– सर्लाही–२ को प्रतिनिधिसभा सदस्यमा महिन्द्रराय यादव विजयी भएका छन् । माओवादीको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादव लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै यस क्षेत्रबाट लगातार तेस्रो पटक विजयी भएका हुन् ।

सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै लोसपाका उम्मेदवार महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन् । यादवले २३ हजार ५ सय २९ मत ल्याउँदा महतोले २१ हजार ५ सय १८ मत ल्याए । यहाँ जसपा–एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८ सय १९ मत पाए ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?