रामेछापमा कांग्रेसका तामाङ निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

टीका भट्ट

रामेछाप — रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । 

आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति भइसकेका नेता हुन् । २०७० को संविधानसभा चुनावको समानुपातिकतर्फको सूचीमा पनि उनको नाम थियो । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थीए । निर्माण व्यवसायमा संलग्न उनी २०३६ सालदेखि राजनीतिमा पनि आबद्ध रहेका व्यक्ति हुन् ।

प्रतिनिधिसभा सदस्यमा पराजित एमालेका ढुंगेल २०७४ को निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रदेशसभा सदस्य बनेका उनी साढे ३ वर्ष वाग्मती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । २०५६ को प्रतिनिधिसभा २०६४ र २०७० को संविधानसभामा एमालेको तर्फबाट रामेछापमा उम्मेदवार भई पराजित बनेका उनी फेरि सोही क्षेत्रबाट संघीय संसद्मा पराजित भएका छन् ।

२०३६ सालबाट विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिमा सक्रिय भएका ढुंगेल २०५१ मा सुकुम्वासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष, २०५४ मा जिल्ला विकास समिति सभापति पनि भइसकेका व्यक्ति हुन् । उनी २०७३ मा दुग्धविकास संस्थानको कार्यकारी प्रमुख पनि भएका थिए ।

रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

विजय र्‍यालीको विवादले राजमार्ग अवरुद्ध

भरत जर्घामगर

सिरहा — विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताले निकटतम प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइको घरमा ढुंगामुढा गरेको विरोधमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग ८ घण्टापछि खुलेको छ । घटनामा संलग्नलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलेको हो । 

सिरहा–३ बाट प्रतिनिधिसभामा निर्वाचित लीलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ साहका दाइको घरमा ढुंगामुढा गरेका थिए । त्यसैको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड अवरुद्ध पारिएको थियो । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन पूर्वतर्फ कसहा र पश्चिमतर्फ चोहर्वामा रोकिएका थिए । गोलबजार नगरका पूर्वप्रमुख देवनाथ साहको गोलबजार नगरपालिका–४ स्थित घरमा ढुंगामुढा भएको हो । एक जनालाई कुटपिट पनि गरेको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।

एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरेका थिए । टाउकोमा चोट लागेका साहको गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ । साहको टाउकोमा चार वटा टाँका लगाइएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार साहलाई १ हजार १ सय ८२ मतान्तरले पछि पार्दै जित हासिल गरेका थिए । निर्वाचित श्रेष्ठले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्नलाई तत्काल पक्राउ र कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×